भर्खरै :

नेताहरूमा राजनीतिक संस्कार खोइ ?

‘जति जोगी आए पनि कानै चिरेका’ भन्ने नेपाली उखान सत्तासीन दलका नेताहरूमा लागु हुन्छ । नेपालको संविधानअनुसार देशलाई समाजवादउन्मुख अर्थव्यवस्थातिर अगाडि बढाउनुपर्ने हो । तर, सत्तासीन दलका नेताहरू यसतर्फ उन्मुख देखिँदैन । मुलुकलाई समृद्धिको मार्गमा लैजाने जिम्मेवारी पाएका ती दलका नेताहरू चुनावी राजनीतिमा हामफालेर भागबन्डामा अल्झिएका छन् । परिवर्तनका पाइलालाई अघि बढाउन अग्रसर हुनुपर्ने तिनीहरू पछाडि फर्किरहेका छन् । ती दलका नेताहरूमा राजनीतिक संस्कार नै देखिँदैन । तिनीहरू एकले अर्कोलाई राजनीतिक संस्कार र सीमा नाघेर जथानाम गाली गर्न पछि पर्दैैन न् । नेताहरूले अभिव्यक्त गर्ने तुच्छ या गालीगलौजका शब्दलाई सुधार्ने त कता हो कता अरूलाई खसाल्न पाएपछि उनीहरू राजनीति गर्दाको स्वाद चाख्दै गौरवको अनुभूति गर्छन् । जिम्मेवार नेताहरूको यस्तै गाली–गलौज, अराजनीतिक र उच्छृङ्खल गतिविधि र अभिव्यक्तिले जनताको आशाको केन्द्र हुनुपर्ने राजनीति फोहरी भइरहेको हो ।
संविधानलाई मान्ने हो भने यतिबेला सबै राजनीतिक दलहरू समाजवादको यात्रामा अघि बढिरहनुपर्ने हो । तर, त्यो भइरहेको छैन । समाजवादको निम्ति लड्नुपर्ने दलका नेताहरू नै पुँजीवादी बाटोमा छन् । ती दलका नेताहरू अरूको पार्टी फोड्ने, नेता तथा कार्यकर्ता तान्ने काममा लागेका छन् र कुनै दलको नेता तथा कार्यकर्ता आफ्नो दलमा आइहाले आफ्नो दल जति अरू कुनै दलको सच्चाइ या सही नभएको भनी गर्व गर्छन् । एकले अर्काको खुट्टा तान्ने, पार्टी प्रवेश गराउने र भागबन्डा भन्दै कुर्सीको राजनीति गर्ने नेताहरूको कार्यशैलीले गर्दा देशको राजनीति बिग्रिरहेको हो । सिद्धान्त, विचार र दर्शनको आधारमा गरिने राजनीति पद र पैसामा चलेपछि सही राजनीति कसरी अघि बढ्छ ? राजनीति कसरी असल नेतृत्वको हातमा पर्छ ? राजनीतिक दलका नेताहरू सत्ता उन्मादमा फसेका छन् । देशमा राजनीतिक अस्थिरता निम्तिनु, नेताहरूमा अडान नहुनु, सिद्धान्त र विचारलाई बन्धकमा राखेर भागबन्डामा लाग्नु, सत्ता टिकाउनकै निम्ति विदेशी शक्ति राष्ट्रहरूको उठबसमा नेपाल सरकार लागिरहेको यथार्थ हो । यसरी राजनीति गरेर देश कसरी उँभो लाग्छ ।
पारदर्शिता, सुशासन, नैतिकता, आचरणलाई पाखा लगाएर सरकारले कसरी आफ्नो उत्तरदायित्व बहन गर्छ ? सरकारले कसरी जिम्मेवारी बहन गर्छ ? राजनीतिक दलले गर्नुपर्ने काम निर्वाह नगरी पैसा र पदको राजनीतिमा भुलेर देशमा कसरी राजनीतिक संस्कार बस्छ ? यहाँ त सत्तासीन र ठूला दलका नेता र मन्त्रीहरू सिङ्गो देश, जनता र दलको जिम्मेवार नेता बन्नुपर्नेमा गुट उपगुटको नेता बनेका छन् । पार्टीभित्र एउटा नेतालाई पछार्न अर्को नेतालाई उठाउने या एउटा मन्त्री धपाउन अर्को नेतालाई मन्त्री बनाउन चाप्लुसी गर्ने काम कसरी सद्दे राजनीति हुन्छ ? के यसरी देश चल्छ ? देश विकास नहुनुको मूल कारण पनि सत्तासीन र ठूला दलका नेताहरू जिम्मेवार नहुनु नै हो, देश र समाजप्रति समर्पित नहुनु नै हो । हल्लाको राजनीति गरेर जनमत तान्ने या खिच्ने काममा नेताहरू नै भुल्छन् भने कार्यकर्ताको कुरा के ! यसकारण, हरेक राजनीतिक दलले सभ्य राजनीति गर्नुपर्छ । राजनीतिक संस्कारअनुसार काम गर्नुपर्छ । अनिमात्र देशमा राजनीतिक स्थिरता कायम हुन्छ र देशको विकासमा काम गर्न सजिलो हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *