भर्खरै :

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर

नेपाल सरकार र नेपाल आयल निगमले नेपाली जनताको विश्वासमाथि कुठाराघात गर्दै आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि ग¥यो । मूल्यवृद्धिपछि पेट्रोल प्रतिलिटरको १९९ रुपैयाँ पुगेको छ भने डिजेल प्रतिलिटरको १९२ रुपैयाँ पुगेको छ । मूल्यवृद्धिको देशव्यापी र चर्को विरोध भइरहेको छ । नेपाल आयल निगमलाई प्रशोधित पेट्रोलियम पदार्थ आपूर्ति गर्ने इन्डियन आयल कर्पोरेसनले मूल्यसूचीमा प्रतिलिटर ६ रुपैयाँ बढाएर पठाएको बहानामा पेट्रोलमा एकैचोटि २१ रुपैयाँले वृद्धि गरेको हो । कर समायोजन गरेर वा पूर्वाधार करबापत उठाइएको रकम बराबरको मूल्य समायोजन गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने प्रतिबद्धताविपरीत चर्को मूल्यवृद्धि गरिएको छ, यो सरकारको नेपाली जनताप्रतिको कुठाराघात हो ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य बढेकै कारण मूल्यवृद्धि भएको सरकार र निगमको दाबीमा पूर्ण सत्यता छैन । नेपाल सरकारले एक लिटर पेट्रोलमा ६३ रुपैयाँ र डिजेलमा ४८ रुपैयाँसम्म कर उठाएर मूल्य बढाएको हो । सरकारलाई यति धेरै कर उठाएर मूल्य नबढाउन दिइएको दबाबको बीच अर्थ र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीले संसदमा नै कर समायोजन गरेरै भए पनि मूल्य घटाउने प्रतिबद्धता गरेका थिए । मन्त्रिपरिषद्बाट समेत निर्णय भएको जानकारी संसदमार्फत गराइएको थियो । जेठ १५ का दिन सार्वजनिक गरिएको आगामी आर्थिक वर्षको बजेटमा पूर्वघोषणा गरेर पनि बजेटमा पेट्रोलियम पदार्थको कर समायोजन गरिएन तर त्यसको केही दिनमा नै पूर्वधार कर शीर्षकमा उठाइएको कर बराबरको रकम घटाउने र सोहीअनुसार मूल्य घटाउन अर्थ मन्त्रालयले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सिफारिस गरेको थियो । सिफारिसको आधारमा आयल निगमले १९ जेठमा मूल्य १० रुपैयाँले घटाएको थियो । प्रत्येक १५–१५ दिनमा मूल्य समायोजन गर्ने पूर्व निर्णयविपरीत एक एक हप्तामा मूल्यवृद्धि गरेर सरकारले नेपाली जनतामाथि स्वेच्छाचारी निर्णय लादेको छ । जनभावनाको कुनै कदर नगरी, मूल्य समायोजनको कुनै कदम नचाली एक एक हप्तापछि नै अचाक्ली मूल्यवृद्धि गरेर गठबन्धनको देउवा सरकारले आफ्नो जनविरोधी चरित्र उदाङ्गो पारिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *