भर्खरै :

‘फुटाऊ र शासन गर’ भाजपा शैली हो

उत्पात मच्चाउने नियत थियो । उत्पात मच्चाउनु र मतभेद फैलाउनु यो सरकारको उद्देश्य र रणनीति दुवै हो । सामान्य जीवनमा उत्पात मच्चाउने र जनताबीच मतभेद ल्याउने ।
यस सरकारका सबै ‘नीतिहरू’ ले अराजकता र वैमनस्य पैदा गरेका छन् । यसपालि पनि अग्निपथ योजनामार्फत् नेताहरूले यो काममा सफलता हात पारेका छन् । सामान्य जीवन नामको कुनै चीज छ भने देशका विभिन्न भेगमा त्यसमा उत्पात मच्चिएको छ । भारतका लाखौँ युवाहरूको दिमाग आन्दोलित हुँदै छ र उनीहरूले आफ्नो आक्रोश पोख्दै छन् । तर समाजको एउटा तप्का यसमा जोडिन सकेको छैन । उनीहरू जति आक्रोशित देखिन्छन्, त्यति उनीहरू अरूबाट अलग्गिँदै छन् । अतः समाजमा अन्योल छ । र सरकारले चाहेको पनि यही थियो ।
सुरक्षा निकायमा अल्पकालीन भर्ती लिने निर्णय गरे यी निकायहरूमा भर्ती हुन खोजिरहेका युवाहरू निराश हुनेछन् भन्ने सरकारलाई थाहा थियो भन्ने मेरो शङ्का छ । केही वर्षयता यी नोकरीको लागि तयारी गरिरहेका युवाहरू भर्तीको घोषणा नियमित नोकरीको लागि नभई अल्पकालीन जागिरको लागि हो भन्ने थाहा पाएपछि सडक तताउन बाध्य हुनेछन् भन्ने सरकारलाई थाहा थियो । यो सरकारले पहिलो काम गर्छ र पछि सोच्छ भन्नु उसको कार्यशैली नबुझ्नु हो ।
अग्निपथ योजनाबाट प्रभाव हुने सम्भावित जनतासँग संवाद गर्न सरकार विफल भएकोमा पश्चाताप गर्ने एउटा तप्का छ । युवासँग स्पष्ट संवाद गरेर तिनलाई आफ्नो बाटोमा डो¥याउनुपर्ने उनीहरूको अनुरोध छ । उनीहरूको नियत चोखो छ । कृषि कानुन क्रान्तिकारी थियो तर सरकारले आवश्यक ‘पृष्ठभूमि तयार’ गर्न नसकेकोले लागू गर्न सकेन भन्ने उनीहरूको गुनासो छ ।
गएका आठ वर्षमा संवादको यो समस्या बारम्बार भट्याइएको छ । यसले गर्दा नै नेताको भिजनमा जनता मिसिन असम्भव भएको उनीहरूको बुझाइ छ । यो तर्कको खोटबारे यी बुद्धिजीवीले कहिल्यै सोचेका छन् कि ? जब कि उनीहरूले नै आफ्ना नेताको उत्कृष्ट संवादकलाबारे बखान गर्ने गरेका छन् । जुन केही हदसम्म सही हो । उनी धूर्त संवादकर्ता हुन् भनेर बारम्बार भनिँदै आएको छ । उनले मान्छेको मनमस्तिष्क छुन्छन् र मतदातामाथि हावी हुन्छन् भनिँदै आएको छ ।
अरू नेताभन्दा उनलाई एकदम फरक पार्ने सबैभन्दा ठूलो गुण कुनै छ भने त्यो उनको संवादकला हो – विज्ञहरूको दाबी छ । त्यसो भए उनले आफ्ना नीतिहरूमा जनतालाई मनाउन आफ्ना यी सीपहरू प्रयोग गर्न किन चासो दिँदैनन् ? ‘देश र जनताको जीवन कायापलट गर्ने’ भनिएका आफ्ना कदमहरूमा जनतालाई किन राजी बनाउँदैनन् ? भूमि अधिग्रहण विधेयकदेखि अग्निपथसम्म जनता जहिल्यै सरकारका कदमहरूको विरोधमा किन उठे ? यी नीतिहरू जनताकै भलाइका लागि हुन् भन्ने सरकारको दाबीमाथि तिनले किन विश्वास गरेनन् ?
सरकारले उनको भूमि अधिग्रहण विधेयक अस्वीकार गरे तर सरकारले आफ्नो अड्डी छोडेन । राज्य सभाको मतले उक्त विधेयकलाई कानुन बन्न नदिने देखेपछि सो विधेयक फिर्ता लिनुप¥यो । संवादकलाका उस्ताद प्रम नरेन्द्र मोदीले विधेयक फिर्ता लिँदै भने ः
“तर किसानहरूलाई कसरी बहकाइँदै छ र त्रासको धुँवा फैलाइँदै छ भन्ने मैले देखेँ । मेरा प्यारा किसानहरू, तपाईँहरू बहकिनु हुन्न र डराउन त हुँदै हुन्न । म तपाईँहरूलाई बहकाउने र तर्साउने मौका कसैलाई दिन चाहन्न । मेरो लागि देशका प्रत्येक स्वरहरू महत्वपूर्ण छन् तर किसानको स्वर मेरो लागि सबैभन्दा महत्वपूर्ण हो । हामीले एउटा विधेयक निकालेका थियौँ । भोलि अगस्ट ३१ मा यो अध्यादेशको म्याद सकिन्छ । मैले यो विधेयक खारेज गर्ने निर्णय गरेको छु ।”
अर्को शब्दमा उनले आफू र आफ्नो सरकारले प्रस्तावित विधेयकका फाइदाहरूबारे किसानहरूसँग संवाद गर्न नसकेको स्वीकार गरे । किसानहरूलाई बहकाएका भनिएकाहरूले किसानहरूसँग उनले भन्दा गतिलो संवाद गरेको प्रमाणित भयो ।
तीनवटा किसान विधेयक सबैमा प्रमले किसानहरूलाई केही स्वार्थ समूहले ‘बहकाइएको र गलत सूचना दिइएको’ स्वीकार गर्नुप¥यो । त्यहाँ पनि उनको संवादकला विफल भयो ।

जनताबीच फाटो ल्याउने कानुनहरू
‘नागरिक संशोधन विधेयक’ (सीएए) मुसलमानहरूलाई भारतीय नागरिकको परिभाषाबाट गलहत्याउन लक्षित छैन भनी उनीहरूलाई मनाउन नेता विफल भए । त्यस्तै राष्ट्रिय नागरिक पञ्जीकरणको प्रक्रिया पनि मुसलमानलाई गलहत्याउने छैन भनेर नेताले बुझाउन सकेनन् । तर उनका वास्तविक मतदाताहरूले ती कानुनहरूको आशय बुझे । ‘तीन तलाक’ चाहने मुसलमान पुरूषलाई अपराधी बनाउने कानुन महिलाहरूलाई ‘मुक्त’ गर्न ल्याइएको हो भनेर उनले भन्दा मुसलमान महिलाहरूले पत्याएनन् । उनीहरूले त्यस कानुनले आफ्ना लोग्नेहरूलाई अपमान गर्ने ठाने ।
मिडियाले यो गुत्थी फुकाउनुपर्छ । प्रम मोदी विलक्षण संवादकर्ता नै हुन् भने किन आफ्ना नीतिहरूले जनताकै हित हुने सन्देश उनले किन दिन सकेनन् ? चुनावमा आफ्नो त्यही सीप प्रयोग गरेर उनले भोट सोहोर्न सक्छन् भने राज्य सञ्चालनमा उनले आफूले चाहेको कुरा पाउन किन सक्दैनन् ? उनले उत्पात मच्चाउन र मतभेद चर्काउन चाहे र प्रत्येकचोटि सफल भए ।
सरकारले लिएका नीतिहरूले प्रत्यक्षरूपमा प्रभावित नहुने जनताको तप्काले तिनको समर्थन गर्नु रोचक र विरोधाभाषपूर्ण छ । तिनीहरूले सरकारकै बोली बोल्छन् र मुर्मुरिएका जनताप्रति दया देखाउँछन् । ती जनताले सरकारको ‘सदासय’ बुझ्न सकेनन् भन्ने उनीहरूको गुनासो छ । यति मात्र होइन उनीहरूले विमति राख्ने मानिसहरूको चरित्र हत्या गर्छन् र संभव भए तिनीहरूमाथि आक्रमण गर्छन् ।
सरकारको अमनचैन बिथोलिएको छ । एउटा तप्का अर्कोसँग जोडिन सकेको छैन । जनतामा एउटा यस्तो तप्का जन्मेको छ जसले सरकारको प्रचारक बन्नु र असन्तुष्टहरूलाई काबुमा राख्नुलाई आफ्नो कर्तव्य ठान्छ । भारतको इतिहासमा सम्भवतः पहिलोचोटि यस्तो हुँदै छ । पहिलोचोटि हामीले ‘मोदीजी लौरो बजार, हामी तिम्रो साथमा छौँ’ जस्ता नारा सुन्दै छौँ । समाजको एउटा तप्काले अर्को तप्काविरूद्ध सरकारले हिंसाको प्रयोग गरोस् भन्ने चाहन्छ । ऊ आफै पनि त्यसमा सहभागी हुन तयार छ ।
नोटबन्दीले लाखौँको धनजन नष्ट भयो । तर, मर्नेहरूप्रति जनताको एउटा ठूलो तप्काले कुनै सहानुभूति राखेन । त्यस नीतिका कारण मानिसहरूले आपसमा शङ्का गरे र शत्रुता राखे । मानिसहरूले आफ्नै स्वजनको पीडामा मजा लिन थाले । बैङ्कहरूका अगाडि लामो लाइन लगाउनेहरूले गुनासो गर्दा तिनलाई टोक्दै भनियो, “जवानहरू सिमानामा १० घन्टा उभिन सक्छन् भने एटिएमको लाइनमा १ घन्टा पनि उभिन सक्दैनौ ?”
त्यसैगरी मालसामान र सेवा कर (जीएसटी) साना व्यवसायीहरूको लागि दुस्वप्न सावित भयो । नोटबन्दी र जीएसटीपछि तिनीहरू अझै पनि बाँच्न र आफ्नो खुट्टामा उभिन कसरत गर्दै छन् । तर, समाजको अर्को तप्कामा तिनका समस्याहरूबारे जागरूकताको अभाव छ । तिनीहरूप्रति सहानुभूति राख्नु त परको कुरा भयो ।
भारतीय संविधानबाट धारा ३७० हटाएको सन्दर्भमा जम्मु र कश्मिरलाई टुक्राउँदा र त्यसको प्रतिष्ठा घटाउँदा त्यस उपत्यकाका जनताले अपमानित भएको महसुस गरे । तर भारतको बाँकी हिस्साले त्यस उपत्यकाका जनतामाथि अन्तिम विजय पाएको ठान्यो । जनताको एउटा तप्काको अपमान अर्को तप्काको गौरव बन्यो ।
त्यस्तै ‘सिएए’ ले भारतलाई दुई फ्याक पा¥यो । एउटा तप्काले महसुस गरेको एकलासे भावना अर्कोले बुझ्नै सकेन । प्रस्तावित ‘एनआरसी’ एउटा समुदायमा त्रास फैलायो, जब कि अर्को समुदायले त्यो त्रासको आधार स्वीकार गर्नै चाहेन । आसामका जनताको लागि ‘एनआरसी’ आतङ्क सावित भएपछि पनि आसामकै मुखर तप्काले त्यो प्रक्रिया दोहो¥याउन चाह्यो । जब कि त्यो कदमले आसाममै लाखौँको ज्यान लिएको थियो ।
किसानहरूले कृषि कानुनहरूको विरोध गरे । तर बहुसङ्ख्यक गैरकृषकहरूलाई आफ्ना कुत्सित अल्पकालीन फाइदाका लागि किसानहरूले देशको भलो हुने सुधारहरूमा बाधा हाल्न चाहे भन्ने विश्वास गराइयो । यो मुखर तप्काले ती कानुनहरू फिर्ता लिनुका पछाडि किसानहरूको हठलाई दोष दिए ।
अग्निपथ योजनामा पनि त्यही कुरा दोहो¥याइँदै छ । निराश युवाहरूले आफ्नो व्यथा सुन्ने कोही नपाएपछि आन्दोलनको सहारा लिए । यत्तिका वर्षसम्म यो सरकारले यही गर्दै आएको छ – जीवनका सबै तहमा निरन्तर उत्पात मच्चाउने र जनताबीच फाटो ल्याउने । ‘अरू’ प्रति आशङ्का, शत्रुता र तिरस्कार गर्ने समाज नै भारतीय समाज हो भन्ने पारिएको छ । ‘अरू’ मान्छेपिच्छे फरक हुन्छ ।
यो उत्पात निकै लाभदायी छ । यसले जनताको मन निरन्तर अन्योल र असुरक्षामा राख्छ । हुँडलिएको मनले प्रायः सुसङ्गतिपूर्वक सोच्दैन । त्यसैले साझा भारतीय मन अन्योलग्रस्त मन हो । सबै भारतीयहरू उभिन सक्ने साझा धरातल छैन । जनताको एउटा ठूलो तप्काले आफूलाई सत्तानजिक ठान्छ र सत्ताको कुनै पनि आलोचनालाई आफ्नो अपमान मान्छ । यो उत्पात, अन्योल र अराजकता सत्ताको लागि बरदान भएको कुरा खुलाउनु नपर्ला । सत्ताले नै यो अवस्था जन्माउँछ र आफूलाई उद्धारक बनाई अघि सर्छ । यसले जनतामाझ उसको पकड अझ कसिलो बन्छ ।
पछिल्लोचोटि अग्निपथ योजनाले समाजको यो विभाजन अझ फराकिलो बनाएको छ र समाजलाई अझ अन्योलग्रस्त तुल्याएको छ । जनतासँग इमानदारीपूर्वक कुराकानी गर्नु, आफूलाई थाहा भएका कुरा बताउनु र खुला मनले बोल्नु बुद्धिजीवीहरूको दायित्व हो । उनीहरूले जनताले स्वविवेकले गरिरहेका कार्यहरूलाई आवाज दिनुपर्छ । किसान, मजदुर, मुसलमान, आदिवासी र युवाहरू ! तत्काल एउटा साझा बुझाई बनाउनुपर्छ । त्यो नै साझा भारत बनाउने थालनी हुनेछ ।
अनुवाद : सुरेश

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published.