भर्खरै :

भक्तपुर नगरपालिकाको आव २०७९/०८० को नीति तथा कार्यक्रम

(बुधबार उद्घाटन भएको भक्तपुर नगरपालिकाको १२ औँ नगरसभामा नगरप्रमुख सुनिल प्रजापतिद्वारा प्रस्तुत आ.व. २०७९/८०) नीति तथा कार्यक्रम)
देशमा प्रजातन्त्र पुनःस्थापनाको लागि विभिन्न चरणमा भएका आन्दोलनहरूमा सहादत प्राप्त गर्नुभएका महान् सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ र वीर योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछौँ ।
नेपालको संविधानअनुसार २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचनमा भक्तपुरका जनताले नेपाल मजदुर किसान पार्टीका सम्पूर्ण उम्मेदवारहरूलाई अत्यधिक मत दिएर विजयी गराउनुभएकोमा तमाम मतदाता दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ । साथै शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्ने जिल्ला निर्वाचन कार्यालय, सुरक्षा निकाय, स्वयम्सेवकको रूपमा खट्नुभएका सम्पूर्ण साथीहरूप्रति आभार व्यक्त गर्दछौँ ।
भक्तपुर नगरपालिका पटक—पटक नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधिहरू निर्वाचित भएर यहाँको विकासको निम्ति योगदान गर्नुभएको संस्था हो । शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइ, विकास निर्माणजस्ता महत्वपूर्ण विषयहरूमा यसअघि नै केही आधारहरू तयार भइसकेका थिए । भक्तपुर आजको अवस्थासम्म आइपुग्न प्रत्यक्ष र अप्रत्यक्ष धेरैको योगदान रहेको छ ।
देशको राजनैतिक घटनाक्रमसँगै २०५४ सालमा निर्वाचित जनप्रतिनिधिहरूको म्याद २०५९ सालमा सकिएको थियो । त्यसपछि न जनप्रतिनिधिहरूको म्याद थप भयो न निर्वाचन नै हुनसक्यो । १५ वर्षसम्म देशभरका स्थानीय निकाय जनप्रतिनिधिविहीन भए । स्थानीय निकायहरूमा जनप्रतिनिधि रिक्त हुँदा देशले अपूरणीय क्षति व्यहोर्नुप¥यो । सर्वसाधारण जनताले धेरै दुःख पाए ।
नेपालको संविधान २०७२ जारी भएपछि पहिलोपटक २०७४ सालमा स्थानीय तहको निर्वाचन भयो । भक्तपुर नगरपालिकामा सम्पूर्ण जनप्रतिनिधिहरू नेमकिपाबाट विजयी हुनुभयो । नयाँ संविधानको कार्यान्वयन, सङ्घीयताको नयाँ अभ्यास र २०७२ सालको भूकम्पबाट क्षत—विक्षत भएको सहरको पुनःनिर्माणजस्ता चुनौतीहरू जनप्रतिनिधिसामु थिए । भक्तपुरवासी जनताको साथ र सहयोगले जनप्रतिनिधिहरूले योजनाबद्ध काम गर्नुभयो । आज भक्तपुर एउटा उदाहरणीय नगरको रूपमा देशमा चर्चाको विषय बन्यो । भक्तपुर सफा, सुन्दर नगरको रूपमा विकास हुनुमा भक्तपुरवासी जनताको महत्वपूर्ण योगदान छ ।
हामी निर्वाचित जनप्रतिनिधिहरूले २०७९ जेठ ६ गते सपथग्रहण ग¥यौँ । नयाँ कार्यकालको सुरूआतसँगै निर्वाचन घोषणापत्रलाई कार्यान्वयन गर्नेमा जोड दियौँ । खानेपानीलाई प्राथमिकतामा राखेर समस्या समाधानको निम्ति पहल ग¥यौँ । मेलम्चीको पानी जेठ १२ गतेदेखि भक्तपुरमा वितरण सुरु भयो तर केही दिनमै काठमाडौँ उपत्यका खानेपानी लि.ले मेलम्चीको पानी बन्द गरेको कारण फेरि समस्या भएको छ । नगरकोटको पानीको मुहानसँगै वन मासेर रूबी इन्टरनेसनल खेलमैदान निर्माण गरेको कारण जनताले वर्षाको समयमा पनि राम्रोसँग पानी पिउन पाएनन् । यसमा प्रदेश सरकार र स्थानीय प्रशासनको ध्यान जान आवश्यक छ । लाखौँ जनताले उपभोग गरिरहेको खानेपानीको मुहान सुक्नेगरी जथाभावी गैरजिम्मेवार काम गर्नेहरूलाई तत्काल कारबाही गरी खानेपानी सुचारू गर्न सम्बन्धित सबैको ध्यानाकर्षण गर्दछौँ । यद्यपि, जनतालाई विभिन्न स्रोतबाट घर—घरमा पानी उपलब्ध गराउन हामी प्रयासरत छौँ ।
वि.सं. २०१९/०२० सालमा निर्वाचित अग्रज जनप्रतिनिधिहरूले जनस्वास्थ्य केन्द्रको रूपमा स्थापना गरी स्थानीय जनताको स्वास्थ्य उपचार सेवालाई नगरपालिकाले प्राथमिकताका साथ अगाडि बढाइरहेकोमा २०७३ सालबाट उक्त केन्द्रमा २५ शय्याको स्वीकृतिसहित सञ्चालन गर्दै आएको सबैमा विदित्तै छ ।
निर्वाचनको बेला जनतालाई दिएको वचनअनुसार ख्वप अस्पताललाई १०० शय्याको स्वीकृति प्राप्त भएको छ । त्यसको निम्ति सहयोग गर्ने सम्पूर्ण महानुभावहरूप्रति पनि आभार व्यक्त गर्दछौँ । ख्वप अस्पताललाई जनताको अस्पतालको रूपमा विकास गरी सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हाम्रो उद्देश्य हो ।
आफ्नै १०० शय्याको अस्पताल नभएको कारण देखाई गत वर्ष शिक्षा मन्त्रालयले भक्तपुर नपाबाट सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानअन्तर्गतको स्टाफ नर्स कक्षाको भर्ना बन्द गरायो । जनताका सन्तानहरूले एक वर्ष नर्सिङ पढ्न पाएनन् । यस्तो तीतो यथार्थ पनि हाम्रोसामु छ ।
ख्वप अस्पतालमा दिनानुदिन बिरामीको चाप बढ्दो छ । आ.व. २०७७।०७८ मा उक्त अस्पतालले ४० जिल्लाका १ लाख १२ हजार २२ जनालाई स्वास्थ्य उपचार प्रदान गरेको थियो भने चालू आ.व. २०७८।७९ मा बितेको ११ महिनामा ४२ जिल्लाका १ लाख ५७ हजारभन्दा बढी बिरामीलाई सेवा प्रदान गरिसकेको छ । हाल दैनिक ६५० जनाभन्दा बढी बिरामीहरूको स्वास्थ्य परीक्षण हुने गरेको तथ्याङ्क छ । तर, दुःखका साथ भन्नुपर्छ, नेपाल सरकारले स्वास्थ्य बीमाबापत दिनुपर्ने रकम समयमा भुक्तानी नगर्दा अस्पताल सञ्चालनमा समस्या देखिएको छ । हालसम्म बीमाबापत नेपाल सरकारसँग रू. ५ करोड ८० लाखभन्दा बढी भुक्तानी लिन बाँकी रहेको जानकारी गराउन चाहन्छौँ ।
हामी जनप्रतिनिधिहरू विगतको कार्यकालमा जस्तै निर्वाचनकोे बेला जनतालाई दिएको वचन अधिकत्तम पूरा गर्न प्रतिबद्ध भएर लाग्नेछौँ । नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले लेख्नुभएको ‘सय वर्षपछिको भक्तपुर’ पुस्तकमा उल्लेखित दूरदृष्टि (भिजन) अनुसार हामीले काम गर्ने र त्यसका लागि आवश्यक आधारहरू तयार गर्न निरन्तर लाग्नेछौँ । मौलिक शैलीका घर निर्माणलाई अनुदान, सांस्कृतिक सम्पदाहरूको संरक्षण, विभिन्न विदेशी भाषाका प्रशिक्षण, सरसफाइजस्ता कार्यहरूलाई निरन्तरता दिँदै भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र, पर्यटकीय गन्तव्यस्थल र सांस्कृतिक नगरको रूपमा विकास गर्न निरन्तर लागिरहने विश्वास दिलाउन चाहन्छौँ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित देको मिवा इतापाके आवास योजनालाई प्राथमिकतामा राखी जनभावनाबमोजिम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
चालु वर्षमा सञ्चालित योजनाहरू पूरा गर्दै जनतासँग छलफल गरी नयाँ नयाँ योजनाहरू अगाडि बढाउने विश्वास दिलाउँदै यहाँहरूसमक्ष आ.व. २०७९।८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दछौँ ।
क) शिक्षा :
– भक्तपुर नगरपालिकाले ७ वटा शैक्षिक संस्था सञ्चालन गरी विभिन्न जिल्लाका जनताका छोराछोरीलाई उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गर्दै आएको छ । हाल ७२ जिल्लाका करिब ७ हजार विद्यार्थीहरू भनपाद्वारा सञ्चालित शैक्षिक संस्थाहरूमा अध्ययनरत छन् । ख्वप विश्वविद्यालय सञ्चालन गर्ने भक्तपुरवासी जनताको चाहनाअनुसार नगरपालिकाले ख्वप विश्वविद्यालय विधेयक पारित गर्न निरन्तर पहल गर्दै आएको छ । यस आर्थिक वर्षमा विश्वविद्यालय सञ्चालन गर्न विज्ञहरूको टोली गठन गरी आवश्यक तयारी गरिनेछ । वर्तमान शिक्षामन्त्रीले नगरपालिकाबाट सर्वसाधारण जनताको १५ लाख रूपैयाँमा एमबीबीएसको अध्यापन गराउन लिखित पत्र नपठाएको भनी विधेयक पारित गर्न विलम्ब गरेकोले विश्वविद्यालय विधेयक पारित गर्न विशेष पहल गरिनेछ ।
– विद्यालयहरूको शैक्षिक स्तर उठाउन र गुणस्तरीय शिक्षा प्रदान गर्न समय—समयमा विषयगत शिक्षक तालिमहरू सञ्चालन गरिनेछ । सामुदायिक विद्यालयहरूमा आवश्यक भौतिक पूर्वाधारहरूको निर्माणमा जोड दिइनेछ ।
– सामुदायिक विद्यालयहरूमा विज्ञान प्रयोगशाला र गणित प्रयोगशालाको निर्माण गरिनेछ । विद्यार्थीहरूलाई अध्ययन सँगसँगै विभिन्न अतिरिक्त क्रियाकलापहरूमा सक्रिय बनाउन चित्रकला, नृत्य तथा सङ्गीत प्रशिक्षणको व्यवस्था मिलाइनेछ । त्यसको लागि आवश्यक अतिरिक्त क्रियाकलापका शिक्षकको व्यवस्था गरिनेछ ।
– भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शिशुस्याहार केन्द्रहरूलाई थप व्यवस्थित र स्तरीय सेवा प्रदान गर्दै वडा—वडामा विस्तार गर्दै लगिनेछ । शिशुस्याहार केन्द्र सञ्चालन गरिरहेका विद्यालयहरूलाई प्रोत्साहित गर्न अनुदानको नीति लिइनेछ ।
नगरभित्रका विद्यालयहरूमा इतिहास, भूगोल, राजनीतिशास्त्र, संस्कृति र नेपालभाषालगायतका विषयहरूमा कक्षा ८, ९ र १० मा अध्यापन सुरू गराइनेछ । ती विषय लिएर उच्च शिक्षा हासिल गर्ने नगरवासी विद्यार्थीहरूको लागि दिँदै आएको छात्रवृत्तिलाई निरन्तरता दिइनेछ ।
– भक्तपुरलाई ज्ञान—विज्ञानको केन्द्रको रूपमा विकास गर्न नगरपालिकाद्वारा सञ्चालित कलेजहरूमा नयाँ विषयहरू थप गर्दै लगिनेछ । विद्यार्थीहरूका माग र चाहनालाई ध्यानमा राखेर आवश्यकताअनुसार नयाँ कलेजहरू स्थापना गर्न पहल गरिनेछ ।
– नपाद्वारा सञ्चालित शैक्षिक संस्थाहरूमा गरिब तथा जेहेनदार विद्यार्थीहरूलाई दिँदै आएको छात्रवृत्तिमा समयअनुकूल वृद्धि गर्दै लगिनेछ र नगरपालिकाले प्राविधिक शिक्षालयहरू स्थापनामा जोड दिनेछ ।
– कुनै पनि नगरवासी विद्यार्थी आर्थिक कारणले उच्च शिक्षा हासिल गर्नबाट वञ्चित नहोस् भन्ने उद्देश्यले प्रदान गर्दै आएको शैक्षिक ऋणलाई निरन्तरता दिँदै समयानुकूल ऋण रकमको सीमा वृद्धि गरिनेछ ।
– विद्यालयहरूको शैक्षिक गुणस्तर विकासको लागि शिक्षा क्षेत्रका विज्ञहरूबाट नियमित अनुगमनको व्यवस्था गरी विद्यालयहरूमा आवश्यक सुधारहरू गरिनेछ ।
– स्थानीय पाठ्यक्रमलाई अभैm प्रभावकारी बनाउन आवश्यक सन्दर्भसामग्रीहरूको व्यवस्था गर्दै स्थानीय पाठ्यक्रम अध्यापन गर्ने शिक्षकहरूका लागि विशेष तालिमको व्यवस्था गरिनेछ ।
– कक्षा ५ र ८ को नगरस्तरीय परीक्षाको व्यवस्थासँगै शैक्षिक क्यालेन्डरअनुसार विद्यालय सञ्चालन गरिनेछ । साथै एस.ई.ई. पूर्वपरीक्षा लिने व्यवस्था मिलाइने छ । तोकिएको मापदण्डका आधारमा उत्कृष्ट ठहर भएका विद्यालय र विद्यार्थीहरूलाई पुरस्कृत गरिनेछ ।
– पठन संस्कृतिको विकासको लागि वडा—वडामा स्थापित पुस्तकालयहरूका लागि आवश्यक सहयोग गरी नियमित सञ्चालनको व्यवस्था मिलाइनेछ । जनज्योति पुस्तकालयलाई इ–लाइब्रेरीको रूपमा विकास गरिनेछ ।
– नगरपालिकाबाट सञ्चालित कलेजहरूको आयोजनामा राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलनहरूको आयोजना गरिनेछ । ती कलेजहरूमार्फत विभिन्न विषयमा अध्ययन अनुसन्धानका साथै समय—समयमा शैक्षिक प्रदर्शनीहरूको आयोजना गरिनेछ ।
– विद्यालयहरूमा स्काउटको तालिम दिइनेछ ।
– गृहिणी महिलाहरू एवम् प्रौढ नगरवासीहरूका लागि निरन्तर शिक्षा सञ्चालन गरिनेछ । साथै विद्यालय र कलेज जीवन छुटेका नगरवासीहरूका लागि बिहान र साँझ कक्षा सञ्चालनको व्यवस्था गरिनेछ ।
ख) स्वास्थ्य :
– ख्वप अस्पताललाई सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्न यही वर्षदेखि सिटी स्क्यान सेवा सञ्चालनमा ल्याइनेछ र आवश्यकताअनुसार विशेषज्ञ सेवा थप्दै लगिने छ । ख्वप अस्पतालमा प्रसूति सेवा सञ्चालन गरिनेछ ।
– वडा—वडामा चिकित्सकसहितको स्वास्थ्यउपचार केन्द्रहरूको विस्तार गरी सर्वसुलभ स्वास्थ्य उपचार सेवाको व्यवस्था मिलाइनेछ ।
– घरदैलो नर्सिङ सेवालाई थप प्रभावकारी बनाउँदै लगिनेछ । घरदैलोमा खटिने नर्स र स्वास्थ्य स्वयम्सेविकाहरूमार्फत नगरवासीहरूको स्वास्थ्य विवरण (प्रोफाइल) तयार गरिनेछ ।
– स्वास्थ्य विशेषज्ञहरूसहितको स्वास्थ्य टोलीबाट समय—समयमा नागरिकहरूको स्वास्थ्य परीक्षण शिविरको व्यवस्था मिलाइनेछ ।
– वडा—वडामा परिचालित स्वास्थ्य स्वयम्सेविकाहरूलाई प्रोत्साहित गर्दै सामाजिक कार्यकर्ताको रूपमा विकास गर्ने नीति लिइनेछ ।
– गम्भीर रोग लागेका बिरामीहरूलाई दिइँदै आएको आर्थिक सहयोग रकमलाई निरन्तरता दिइनेछ । मृगौला, क्यान्सर र मेरूदण्ड पक्षघात भएका बिरामीहरूलाई नेपाल सरकारले तोकेबमोजिम मासिक भत्ताको व्यवस्था गरिनेछ ।
– नागरिकहरूलाई स्वास्थ्य बीमामा सहभागी हुन प्रोत्साहित गरिनेछ ।
– विद्यार्थीहरूको स्वास्थ्यलाई ध्यानमा राखी ख्वप अस्पतालका चिकित्सकहरूमार्फत समय—समयमा शैक्षिक संस्थाहरूमा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।
– ख्वप अस्पतालबाट निःशुल्करूपमा प्रदान गर्दै आएको अक्सिजन वितरणलाई निरन्तरता दिइनेछ ।
– आयुर्वेदिक उपचार सेवालाई वडा—वडामा विस्तार गर्दै लगिनेछ ।
रगत आवश्यक पर्ने बिरामी नगरवासीहरूको लागि निःशुल्क रगतको व्यवस्था गरिनेछ ।
ग) सम्पदा संरक्षण :
– भक्तपुर नगरपालिका वडा नं १ स्थित निर्माणाधीन भाज्या पुखु, वडा नं ४ को इखालाछी मठ, हाडा छेँ र लक्ष्मीनरसिंह मन्दिर तथा वडा नं. २ को इन्द्रायणी द्योछेँको पुनःनिर्माण यस आर्थिक वर्षमा सम्पन्न गरिनेछ ।
– २०७२ सालको भूकम्पले पूर्ण क्षति भएको लायकूस्थित थंथु दरबार (पहिले नगरपालिका रहेको भवन) को मौलिक शैलीमै पुनःनिर्माण कार्यलाई अगाडि बढाइनेछ ।
– भक्तपुरको जनजीवन झल्किने सांस्कृतिक म्युजियम (सङ्ग्रहालय) निर्माणको कार्यलाई अगाडि बढाइनेछ ।
– विद्यार्थीहरूलाई अध्ययनको साथसाथै सांस्कृतिक गतिविधिहरूमा पनि सहभागी गराई संस्कृतिको संरक्षण गर्न परम्परागत बाजा एवम् नृत्यहरूको तालिमको व्यवस्था गरिनेछ । त्यसको लागि सांस्कृतिक गुरूहरूलाई आवश्यकताअनुसार प्रशिक्षकको रूपमा खटाइनेछ  ।
– भक्तपुरको प्राचीन सम्पदा र संस्कृतिलगायत विभिन्न विषयहरूमा नगरपालिकाको स्वीकृति लिई खोज, अध्ययन तथा अनुसन्धान गर्नेहरूका लागि आर्थिक अनुदानको व्यवस्था गरिनेछ ।
– पुरानो नगर क्षेत्रभित्र परम्परागत शैलीमा घर निर्माण गर्ने घरधनीहरूलाई इँटा, काठ र झिङ्गटीमा दिइँदै आएको अनुदानलाई निरन्तरता दिइनेछ ।
– जीवनको महत्वपूर्ण समय संस्कृति संरक्षणमा बिताउनुभएका गुरूहरूको उच्च मूल्याङ्कन गर्दै विभिन्न विधाका सांस्कृतिक गुरूहरूलाई नगदसहित सम्मान गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
– परम्परागत बाजा, नृत्य प्रशिक्षण दिने सङ्घ—संस्थालाई आर्थिक अनुदानको व्यवस्था गरिनेछ ।
– परम्परागत संस्कृति लोप हुनबाट जोगाई राख्न नयाँ पुस्तालाई उत्साहित गर्न परम्परागत सांस्कृतिक विधाहरूको नगरस्तरीय प्रतियोगिता गरिनेछ ।
– भक्तपुरमा आन्तरिक र बाह्य पर्यटकहरूको प्रवद्र्धनको लागि सन्ध्याकालीन सांस्कृतिक प्रदर्शनीको व्यवस्था मिलाइनेछ ।
– दाफा, भजन र गुठीहरूको अभिलेख व्यवस्थित गर्न नगरपालिकामा दर्ता गर्ने प्रक्रिया अगाडि बढाइनेछ ।
घ) खेलकुद :
– भक्तपुर नगरपालिकाले नियमितरूपमा दिँदै आएको खेलकुद प्रशिक्षणलाई थप प्रभावकारी बनाउँदै खेलकुदलाई नागरिक जीवनको अभिन्न अङ्गको रूपमा विकास गर्ने नीति लिइनेछ । टोल—टोलमा रहेका व्यायामशालाहरूलाई स्तरोन्नति गर्दै व्यवस्थित गरिनेछ ।
– खेलकुदको माध्यमबाट देशभरका नगरपालिकाहरूबीच सम्बन्ध विस्तार गर्न अन्तरनगर खेलकुद प्रतियोगिताको आयोजना गरिनेछ । खेलाडीहरूलाई उत्साहित गर्न नगरस्तरीय र विद्यालयस्तरीय खेल प्रतियोगिताहरू गरिनेछ ।
– राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुदमा पदक जित्ने र अन्तर्राष्ट्रिय जगतमा नेपालको नाम चिनाउन सहयोग गर्ने भक्तपुरका खेलाडी र प्रशिक्षकहरूको सम्मान कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
– सहिद स्मृति खेलमैदानलाई स्तरोन्नति गरी स्तरीय कभर्ड हलको रूपमा निर्माण कार्य अघि बढाइनेछ ।
महेश्वरी खेलमैदानलाई स्तरोन्नति गरी राष्ट्रियस्तरको खेलकुद प्रतियोगता गर्न मिल्ने रङ्गशालाको रूपमा विकास गर्न पहल गरिनेछ ।
– भनपा वडा नं. १० मा निर्माणाधीन टेबुलटेनिस कभर्ड हल निर्माण सम्पन्न गरी प्रयोगमा ल्याइनेछ । उपयुक्त ठाउँहरूमा नयाँ खेलकुद कभर्ड हलहरू निर्माणको लागि आवश्यक व्यवस्था गरिनेछ ।
– वडा—वडामा गठित खेलकुद समितिहरूलाई सक्रिय बनाइनेछ र आवश्यक खेलकुद सामग्री र अनुदानको व्यवस्था गरिनेछ ।
– खेलकुदमा विद्यार्थीहरूलाई बढीभन्दा बढी सहभागी गराउन विद्यालयहरूमा पूर्णकालीन खेलकुद प्रशिक्षकहरूको व्यवस्था मिलाइनेछ ।
ङ) वातावरण र सरसफाइ :
– स्थानीय समुदायको सहभागितामा वातावरण सुधार, हरियाली व्यवस्थापनलगायतका कार्य प्रभावकारीरूपमा सञ्चालन गरिनेछ ।
– कुहिने र नकुहिने फोहोर घर—घरबाटै निश्चित समय र बार तोकेर सङ्कलन गरी ती फोहरबाट कम्पोष्ट मल बनाई किसानहरूलाई सस्तोमा बिक्री गर्ने व्यवस्था मिलाइनेछ । किसानहरूलाई कम्पोष्ट मल बनाउने तालिम दिई घर—घरबाट निस्कने फोहरलाई कम गर्ने व्यवस्था मिलाइनेछ ।
– सांस्कृतिक नगरको स्वरूपलाई असर पर्ने गरी जथाभावी छरपस्ट राखिएका तारहरू हटाई भूमिगत गर्ने प्रक्रियालाई जोड दिइनेछ । त्यसको लागि सम्बन्धित निकायसँग समन्वय गरी कार्य अगाडि बढाइनेछ ।
– भक्तपुर नगरको सौन्दर्यता अभिवृद्धि गर्न पुरानो सहरको मूल सडकको दायाँबायाँ हरियाली प्रवद्र्धनको नीति लिइनेछ । त्यसको लागि घरधनी र पसलधनीहरूसँग समन्वय गरिनेछ ।
– प्लाष्टिकको प्रयोगमा न्युनीकरणका साथै त्यसको वैकल्पिक उपाय अवलम्बन गर्न नगरभित्रका सहकारी र विभिन्न सङ्घ—संस्थासँग समन्वय गरी कार्य अगाडि बढाइनेछ ।
– हनुमानघाट र सल्लाघारीमा निर्माणाधीन फोहर पानी प्रशोधन केन्द्रलाई शीघ्र सम्पन्न गरी सञ्चालनमा ल्याउन जोड दिइनेछ ।
– नयाँ आवासीय क्षेत्रमा घर बनाउने घरधनीहरूलाई नक्सापाससँगै रूख रोप्न प्रोत्साहित गरिनेछ ।
– हनुमन्ते खोला र कासाङ खोला तथा विभिन्न घाटहरूको सुधार गरिनेछ ।
च) खानेपानी :
– पानीको उचित व्यवस्थापनको लागि स्थानीय स्रोतहरू ढुङ्गेधारा, पोखरी, कुवा, इनारलगायतको मर्मत तथा संरक्षणको नीति लिइनेछ ।
– भक्तपुरको खानेपानीको मुहान क्षेत्र नगरकोटलाई जलाधार क्षेत्र घोषणा गराउन प्रयास गरिनेछ । खानेपानीको स्रोत विस्तारको लागि आवश्यक पहल गरिनेछ ।
– मेलम्चीको पानी नगरवासीहरूको घर—घरमा वितरण गर्ने व्यवस्था मिलाइनेछ ।
– पानीको अभाव कम गर्न आकासे पानी सङ्कलन विधिलाई प्रोत्साहित गरिनेछ ।
छ) कृषि :
– कम जमिनमा अधिक कृषि उत्पादन गर्न किसानहरूलाई नयाँ—नयाँ प्रविधिसम्बन्धी तालिमको व्यवस्था गरिनेछ ।
– किसानहरूबाट उत्पादित कृषिजन्य वस्तुहरूको सुरक्षाको लागि चिस्यान केन्द्र स्थापना गरिनेछ ।
– नगरको उपयुक्त ठाउँमा तरकारी बजारको व्यवस्था गरिनेछ ।
– कृषि उत्पादन वृद्धिको लागि माटो परीक्षणको बन्दोबस्त गरिनेछ ।
– किसानहरूलाई मौसमअनुसारको अन्न र तरकारीको बिउ वितरणको व्यवस्था गरिनेछ ।
– कौसी खेती प्रविधिलाई प्रोत्साहन गरिनेछ ।
– छाडा तथा भुस्याहा कुकुर एवम् दोपाया चौपाया जनावरहरूको नियन्त्रण गरिनेछ । घरमा कुकुर पाल्ने घरधनीहरूले भ्याक्सिन लिएको प्रमाणसाथ नगरपालिकामा दर्ता गर्ने व्यवस्था गरिनेछ ।
ज) युवा :
– युवाहरूलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिमहरू सञ्चालनसँगै युवा उद्यमशील ऋणको व्यवस्था गरिनेछ ।
– युवाहरूलाई रेफ्रिजेरेटर, वासिङ मेसिन, मोटरसाइकल, मोबाइल, विद्युतीय उपकरण मर्मतलगायतका सीपमूलक तालिमहरू क्रमशः दिइनेछ । त्यसैगरी वाइरिङ, प्लम्बिङ, डकर्मी, सिकर्मी, लोहँकर्मीलगायतका तालिमहरू दिइनेछ ।
– विदेशी पर्यटकहरूको प्रवद्र्धन गर्न युवाहरूलाई अङ्ग्रेजी, चिनियाँ, जापानीलगायत विभिन्न विदेशी भाषाका तालिमहरू दिइनेछ ।
झ) सहकारी :
– ‘एक सहकारी एक क्षेत्र सरसफाइ’ लागू गरी नगरको सरसफाइ कार्यमा सहकारी सदस्यहरूको सहभागिताको नीति लिइनेछ ।
– सहकारीहरूमा रहेको पुँजी परिचालन गरी सहकारीहरूलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहित गरिनेछ । साथै सहकारी संस्थाहरूलाई व्यवस्थित गर्न तालिम र अनुगमनलाई निरन्तरता दिइनेछ ।
– नगरपालिका र सहकारी संस्थाहरूबीच समन्वय गरी सांस्कृतिक गतिविधि, सीपमूलक तालिमहरूको सञ्चालन तथा रोजगार सृजना गरी युवाहरूलाई आत्मनिर्भर बनाउने कार्यमा सहकार्य गरिनेछ । सहकारीको पुँजीलाई जनताको हितमा सेवा तथा उत्पादनमूलक कार्यमा साझेदारी गर्न प्रोत्साहित गरिनेछ ।
– सहकारी संस्थाहरूको सामुदायिक विकास कोषमा रहेको पुँजीबाट सामाजिक उत्तरदायित्व बहन गर्न प्रोत्साहित गरिनेछ ।
– सहकारी संस्थाको ऋण लगानीको निश्चित प्रतिशत रकम गरिब तथा जेहेनदार विद्यार्थीहरूका लागि शैक्षिक ऋण र युवा उद्यमशील ऋणमा लगानी गर्न आवश्यक व्यवस्था मिलाइनेछ ।
ञ) पर्यटन :
– गाईजात्रा प्रदर्शन मार्गलाई पर्यटक मार्गको रूपमा विकास गर्दै समय—समयमा सन्ध्याकालीन पदयात्रा कार्यक्रमको आयोजना गरिनेछ ।
– भक्तपुर आउने आन्तरिक र बाह्य पर्यटकहरूका लागि फेमिली स्टे र होम स्टे सञ्चालन गर्न नगरवासीहरूलाई प्रोत्साहित गरिनेछ ।
– पर्यटकीय क्षेत्रहरूमा नक्सासहित सङ्केत बोर्डहरूको व्यवस्था गरिनेछ । सम्पदाहरूको सङ्क्षिप्त जानकारीसहितको बोर्डहरूको व्यवस्था गरिनेछ ।
– जुजु धौ, टका टपुली (भादगाउँले टोपी), हाकु पटासी, ताइच्युन च्युराजस्ता स्थानीय परम्परागत उत्पादन तथा सीपलाई आयआर्जनको स्रोतको रूपमा विकास गरी रोजगारीको प्रवद्र्धन गरिनेछ ।
– वडा समितिले आवश्यकताअनुसार टोल–टोलमा समाज सेवा समिति गठन गर्नेछ ।
ट) विविध :
– ट्राफिक व्यवस्थापन र नगरका बजार व्यवस्थापनमा सुधार ल्याई भक्तपुरलाई व्यवस्थित नगरको रूपमा विकास गर्न नगर प्रहरीको व्यवस्था गरिनेछ ।
– नगरपालिकाद्वारा सम्पन्न गरिएको लिबाली आवास योजना, तुमचो दुगुरे आवास योजना र कमलविनायक आवास योजनाभित्र कालोपत्रे हुन बाँकी सडकहरू क्रमशः कालोपत्रे गर्दै लगिनेछ ।
– देको–मिवा इटापाके आवास योजनाभित्रका जग्गा क्रमशः फिर्ता गरी आवश्यक भौतिक सुधारका कार्यहरू गर्दै लगिनेछ । न्यूनत्तम दुई आना दुई पैसा (०–२–२–०) को नीतिअनुसारको आयोजना भएकोले सोहीअनुसार सञ्चालन गर्न अनुरोध गरिनेछ ।
– विश्व सम्पदा सूचीमा सूचिकृत दरबार क्षेत्र, टौमढी क्षेत्र र दत्तात्रय क्षेत्रहरूमा रात्रीकालीन विशेष बत्तीको व्यवस्था गरिनेछ र नगरका महत्वपूर्ण क्षेत्रहरूमा सी.सी. क्यामेराको व्यवस्था गरिनेछ ।
– भनपा वडा नं. ७ हनुमानघाटस्थित निर्माणाधीन सुधारिएको शवदाह गृह सञ्चालनमा ल्याइनेछ ।
– भनपा वडा नं. ६ मा निर्माणाधीन आदर निकेतन भवन र वडा नं १० को स्वास्थ्य केन्द्र निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ ।
– नगरभित्र छरिएर रहेका सार्वजनिक जग्गाको अभिलेख तयार गरी त्यसको संरक्षण गरिनेछ ।
– नगरपालिकाका गतिविधिहरू जनताबीच छिटो—छरितो पु¥याउन र जनतालाई हरेक गतिविधिबारे सुसूचित गर्न ख्वप टेलिभिजन सञ्चालनमा ल्याइनेछ ।
– अनलाइनबाट कर तिर्ने र अनलाइन नक्सापासको प्रक्रिया अगाडि बढाइनेछ ।
– जनप्रतिनिधि र कर्मचारीहरूको क्षमता विकासको लागि आवश्यक तालिमको प्रबन्ध गरिनेछ ।
– नगरभित्रका व्यवसायीहरूलाई करको दायराभित्र ल्याइनेछ ।
– नगरपालिकाबाट समय—समयमा गर्दै आएको बजार अनुगमनलाई थप प्रभावकारी बनाइनेछ ।
– नगरपालिकाले बनाएका कानुनहरूमा समयानुकूल जनताको हितमा संशोधन गरिनेछ ।
– युवाहरूलाई विपद् व्यवस्थापनको तालिम दिइनेछ ।
– घरेलु तथा कुटिर उद्योगलाई प्रोत्साहित गरिनेछ ।
– भक्तपुर नपा वडा नं. २ स्थित पेपर क्राफ्टलाई पुनः सञ्चालनमा ल्याइनेछ ।
– घना बस्तीबीच रहेको भक्तपुर औद्योगिक क्षेत्रलाई स्थानान्तरणको लागि पहल गरिनेछ ।
– नगरपालिकाद्वारा प्रवाह गर्ने सेवाहरूलाई सरल, छिटो, छरितो बनाइनेछ । सेवा प्रवाहमा पारदर्शिता, सुशासन कायम गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *