भर्खरै :

पैसामुखी सञ्चारकर्मीले देशको मतलब नराख्ने

सत्तासीन र ठूला राजनीतिक दलका नेताहरूको ध्यान भागबन्डा र आरोप–प्रत्यारोपमा केन्द्रित देखिन्छ । लामो समयदेखिको यो राजनीतिक अभ्यास अहिले पनि यथावत छ । कति पत्रकार या सञ्चारकमीहरू पनि एउटा दलका नेताले अर्को दलका नेतालाई गरेको आरोप–प्रत्यारोपलाई नै प्राथमिकता दिन्छन् र समाचार छाप्छन् । जसरी सत्तासीन र ठूला दलका नेताहरूको ध्यान आ–आफ्नो दलको सिद्धान्त, दर्शन र विचारमा गएको छैन त्यसरी नै कति पत्रकारहरूको कुन कुन दल सिद्धान्त र विचारको आधारमा चलेको छ भन्ने विषयमा ध्यान पुगेको देखिँदैन । नेताहरूको आरोप–प्रत्यारोपलाई केन्द्र बनाएर समाचार छाप्ने सञ्चारकर्मी या पत्रिका सञ्चालकहरूको ध्यान अन्तै मोडेको देखिन्छ ।
कति सञ्चारकर्मी र पत्रिका सञ्चालकहरू आफूलाई स्वतन्त्र दाबी गर्छन् । तर, आफूले स्वतन्त्र भनेजस्तो स्वतन्त्र हुँदैन । सञ्चारकर्मी या पत्रिका सञ्चालकहरूले प्रत्यक्ष या अप्रत्यक्षरूपमा राजनीति गरिरहेकै हुन्छन्, राजनीतिमा हात हालेकै हुन्छन् । कुन सञ्चारकर्मी राजनीतिबाट अलग्गिएका हुन्छन् ? कुन पत्रिका राजनीतिबाट अलग्ग देखिएको छ । पत्रिकामा कुनै दल विशेषको पत्रिका भनी नलेखिएको होला, मुखपत्र नभनिएको होला । तर, त्यो पत्रिकाले कुनै न कुनै दलको भूमिका खेलिरहेकै हुन्छ, दलको विचार व्यक्त गरिरहेको हुन्छ ।
अरू त के ‘गोरखापत्र’ दैनिकले पनि बढी सत्तारूढ दलकै समाचार प्रकाशित गरिरहेको हुन्छ । के अन्य ठूला ठूला पत्रिकाहरू कुनै दल या दलका नेताहरूबाट प्रभावित छैनन् ? दलबाट प्रभावित भएरै कति स्वतन्त्र भनिएका सञ्चारकर्मी र पत्रिका सञ्चालकहरू दलका समाचार छाप्छन् तर विदेशी थिचोमिचो, अतिक्रमण, दबाब, असमान सन्धि र सम्झौताविरोधी लेख, समाचार लेख्दैनन् । कुनै दलबाट प्रभावित भएकै आधारमा सञ्चारकर्मीहरू नेमकिपाका समाचारहरू छाप्दैनन् । पछिल्लो चरणमा मात्रै नेमकिपा र नेमकिपाबाट निर्वाचित जनप्रतिनिधिहरूले खेलेको भूमिकाबारे केही पत्रपत्रिकाले छापे । नेमकिपाको महाधिवेशन, सम्मेलन, ठूलठूला जुलुस प्रदर्शन र सभा भए पनि राजधानीका ती ठूलाठूला पत्रिकामा छापेको हुँदैन । के त्यो थाहा नपाएर नछापिएको होला ? त्यो मन नपरेरै नछापिएको हो । अरू दलका नेताहरू ससुराली गए पनि, कुनै होटेलमा आराम गर्न गए पनि छाप्न मिल्ने अनि नेमकिपाका देश र जनताको पक्षमा भएको ठूलठूला प्रदर्शन, सभा र सम्मेलनको समाचार छाप्न नमिल्ने ? के त्यो सङ्कीर्ण विचार होइन ? सञ्चारकर्मीहरू राजनीतिक दलबाट प्रभावित भए, पार्टीको कार्यकर्ताजस्ता भए भनी स्वयम् सञ्चारकर्मीहरू किन दुखेसो पोख्छन् ?
सञ्चारकर्मीहरू पनि कुनै न कुनै दलबाट प्रभावित भएकै हुन्छन् । उनीहरू राजनीतिबाट अलग हुनसक्दैनन् । पत्रकारको पनि राजनीतिक आस्था र विचार हुन्छ । सिद्धान्त र विचारको ख्याल नगरी देश र जनताको मतलब नराख्ने महिनाको पचासौँ हजार कमाउने पैसामुखी सञ्चारकर्मीहरू त्यसरी नै आफूलाई स्वतन्त्र ठान्छन् र स्वतन्त्रको नाउँमा अकुत सम्पत्ति कुम्ल्याउँछन् । उनीहरूलाई पैसा भएपछि देश रहे पनि नरहे पनि मतलब हुँदैन । देशको स्वाधीनता र सार्वभौम रक्षाको विषयमा लेख्ला भनेरै सञ्चारकर्मीलाई धेरै पैसा दिइरहेको हुन्छ । त्यस्ता सञ्चारकर्मीहरू जनता प्रिय बन्नै सक्दैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *