भर्खरै :

कमाउन नपुगेर आँसुको धारा !

नेता, मन्त्री, सांसद, जनप्रतिनिधि र कार्यकर्ताहरू समाजका अगुवा हुन् । उनीहरू आफ्ना कार्यकर्ता, समर्थक तथा सर्वसाधारण जनतालाई मार्गनिर्देश गर्छन् । उनीहरू जाँगरिला, निडर, निःस्वार्थी र देशको जिम्मेवारी बोकेर अगाडि बढेका हुन्छन् । उनीहरू सुखमा मात्तिने र दुःखमा आत्तिदैनन् । पद उनीहरूको लागि ठूलो हुँदैन । पदमा भए पनि नभए पनि पार्टीको निर्णय र आदेश पालना गर्छन् र दलको सिद्धान्त र विचारलाई प्रयोगमा ल्याउन लागिपर्छन् । एकै व्यक्ति कुर्सीमा टाँसिएर बस्नुपर्छ भन्ने पनि छैन । पार्टीको आदेश या निर्णय पालना गर्ने सबै कार्यकर्ताको जिम्मेवारी हो । देश र जनताप्रति समर्पित नेता तथा कार्यकर्ता पदको लोभ गर्दैनन् । पद छोड्नु प¥यो भनेर रुनु त के हरेस पनि खाँदैनन् । मन्त्री छोड्नु प¥यो भनेर रुँदा दलका नेता तथा कार्यकर्ताहरूले के भन्दा हुन् ? जनताले के सम्झँदा हुन् ।
मन्त्री हुन पाउँदा हाँसो, छोड्नु पर्दा आँसु ¤ पद छोड्नु पर्दा भावुक हुनु, उज्यालो अनुहार नचम्किनु अर्काे कुरा । तर, पत्रकार सम्मेलनमा रोएर मन्त्री रामकुमारी झाँक्रीले के सन्देश दिन खोजेका हुन् ? नेता, मन्त्री, सांसदजस्ता व्यक्ति रोएर आफ्नो पदको गरिमा, इज्जत, प्रतिष्ठामा चोट पु¥याउने ? यही हो, नेता, मन्त्री र सांसदको चाला ¤ मन्त्री नै रुन्छन् भने कार्यकर्ता या समर्थकहरू के गर्लान् ? मन्त्री पद छोड्दा रुनु के नेताको गुण हो ? पदप्रति कति मोह ! पद छोड्नै नमिल्ने ! कि अझै कमाउन नपुगेर आँसुको धारा बगाएको हो ? मन्त्री भएर काम गर्न नसक्दाको आँसु पो हो कि ! के आँसु बगाएर आफूप्रति सद्भाव लिन खोजिएको हो ? मन्त्री पद अरू विपक्षले हटाएको पनि होइन । पार्टीको आदेश या निर्णय सम्बन्धित सबैले मान्नुपर्छ । त्यसो भनेर छिनछिनमा मन्त्री फेर्ने काइदा पनि ठीक होइन । मन्त्री बनेर काम गर्न नपाउँदै बिचमा छोडाउनु ठीक होइन । त्यसले काम गर्न मन्त्री बनाएको होइन, मन्त्रीको सूचीमा नाम दर्ता गर्नमात्र बनाएको जस्तो हुन्छ ।
पुराना मन्त्रीको ठाउँमा बनेका नयाँ मन्त्रीहरूले पनि काम गर्ने समय नै पुग्दैन । ४/५ महिना त अनुभव गर्दागर्दै, मन्त्रालयको जिम्मेवारी बुझ्दाबुझ्दै चालै नपाई समय बित्छ । यो त सांसद बनेपछि मन्त्री हुनकै निम्ति बनेको जस्तो हुन्छ । देश र जनताको सेवा गर्न होइन सेवा सुविधा पाउन पो मन्त्री उनीहरू बनेका रहेछन् । समाजवादको निम्ति लड्ने, कम्युनिस्ट पार्टीको निम्ति लड्ने दलका नेताहरूको बुद्धि यही हो ? के रोएर मन्त्री पद जोगिएको छ ? जोशिलो भाषण गर्ने नेताहरूलाई रुन सुहाउँदैन । नेताहरूमा खोइ दम ! के नयाँ मन्त्रीहरूको काम नयाँ मन्त्री बन्ने रहरमात्रै हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *