भर्खरै :

घोषणापत्र देखाउने दाँत नबनोस्

स्थानीय तहलाई स्थानीय सरकार भनिए पनि स्थानीय तहले अझै पूर्ण अधिकार पाएको छैन । स्थानीय तहमा केन्द्रले नै प्रमुख प्रशासकीय अधिकृत खटाउने गर्छ । सरुवा बढुवा सरकारले नै गर्छ । स्थानीय तहमा स्थानीय जनताले स्थानीय जनप्रतिनिधि निर्वाचित गराउने हुँदा जनप्रतिनिधि र जनताबिच चिने जानेको हुन्छ । स्थानीय तह स्थानीय जनताको भरोसाको केन्द्र पनि हो । स्थानीय तहले आफ्नै गाउँ–ठाउँ र टोलको विकास गरेको हुन्छ, स्थानीय जनताको सेवा गरेको हुन्छ । त्यसरी नै नगरपालिकामा स्थानीय व्यक्ति नै प्रमुख प्रशासकीय अधिकृत राख्ने अधिकार नपा या गाउँपालिकामा हुनु जाती हुन्छ । प्रमुख प्रशासकीय अधिकृत स्थानीय भएमा काम गर्न सजिलो हुन्छ । आफ्नो ठाउँको विकास गर्न उत्तिकै सहयोग र साथ हुन्छ । अपरिचित व्यक्तिले स्थानीय तह र स्थानीय जनताको समस्या थाहा हुँदैन, थाहा भए पनि त्यति चासो राख्दैन । आफ्नो गाउँ, आफ्नो नगर नभएको हुँदा विकास भए पनि नभए पनि मतलब राख्दैन । त्यसमाथि सरकारले पठाएका हाकिमहरू २ वर्ष पनि टिक्दैनन् या अन्त सरुवा गरेको हुन्छ ।
स्थानीय तहको नेतृत्व गर्ने, स्थानीय तहको विकास गर्ने, जनतामाझ पुगेर दुःख सुख बुझ्ने, आइपरेको सङ्कट समाधान गर्ने, जनताको सांस्कृतिक स्तर उठाउने, नागरिक भावना विकास गर्ने, आपराधिक क्रियाकलापहरू नियन्त्रण गर्ने काममा जनप्रतिनिधिहरूको ठूलो महत्व हुन्छ । स्थानीय जनताको गुनासो सुन्ने, सुनाउने र समस्या समाधान गर्ने थलो नै स्थानीय तह हो । स्थानीय तहले निर्वाचनताका जनतामाझ गरेको प्रतिबद्धता पूरा गर्नुपर्छ, घोषणापत्रअनुसार काम गर्नुपर्छ । घोषणापत्रलाई देखाउने दाँत बनाउनुहुँदैन । स्थानीय तहको नीति तथा कार्यक्रम र बजेट स्थानीय तहको विकास र स्थानीय जनताको सेवामा केन्द्रित हुनुपर्छ । जनप्रतिनिधिहरूले स्थानीय विकासलाई कमाउने भाँडो बनाउनुहुँदैन । स्थानीय तह भ्रष्टाचारमुक्त हुनुपर्छ । कुनै काममा ढिलासुस्ती हुनुहुँदैन । बजेट यथार्थपरक र वस्तुनिष्ठ हुनुपर्छ । स्थानीय तह जनताको सुख दुःख बुझ्ने र समाधान गर्ने निकाय भएको हुँदा जनप्रतिनिधिहरू क्रियाशील हुनुपर्छ, जनताको घर आँगनमा पुग्नुपर्छ । जनप्रतिनिधिहरूले खोलो तरेर लौरो बिर्सने काम गर्नुहुँदैन । दल र जनतालाई भुल्नु हुँदैन । उम्मेदवारलाई जिताउने मतदाताहरूको योगदानको कदर हुनुपर्छ ।
कुनै पनि जनप्रतिनिधिहरू कसैको लोभ र दबाबमा फस्नु हुँदैन, झुक्नु हुँदैन । आफ्नो बोली, वचन र व्यवहार शिष्ट हुनुपर्छ । स्थानीय तह या जनप्रतिनिधिले राम्रो काम गरेपछि जनताको विश्वास बढ्छ, जनतासँग अघि बढ्न सजिलो हुन्छ । यसकारण, हरेक जनप्रतिनिधिहरू जवाफदेही हुनुपर्छ, कर्तव्यपरायण हुनुपर्छ, आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । कामको सिलसिलामा आइपर्ने समस्या, चुनौती देखेर निरास होइन जोश र जाँगरका साथ अघि बढ्नुपर्छ । आफ्नो इज्जत, प्रतिष्ठा र छविमा आँच पु¥याउने या दाग लाग्ने काम कुनै पनि जनप्रतिनिधिहरूले नगरून् । विगतका वर्षमा जनप्रतिनिधिहरूले भ्रष्टाचार गरेको कुरा प्रकाशमा आएको थियो । अहिले पनि ‘मेयरसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा’ जस्ता समाचारहरू प्रकाशित भएका छन् । अब त्यस्तो अरू कुनै भ्रष्टाचारसम्बन्धी समाचार सुन्न नपरोस् । सबैले आ–आफ्नो क्षेत्रमा इमानदारीपूर्वक काम गरून् । जनताको विश्वास जितेर सधैँ जनताको सुख दुःखमा साथ भइरहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *