भर्खरै :

क्यान्सर उपचारमा तरङ्ग ल्याएको औषधि : डोस्टारलिमाब

झन्डै ३ हप्ताअघि अर्थात् सन् २०२२ जून ८ को ‘न्युयोर्क टाइम्स’ पत्रिकामा प्रकाशित एउटा समाचारले विश्वकै ध्यान आकर्षित ग¥यो । त्यसमाथि क्यान्सर पीडित बिरामी र आफ्नै आफन्तजन क्यान्सर रोगबाट पीडित भइरहेकाहरूको लागि त उक्त समाचारले मनलाई उद्वेलित बनाएको हुनुपर्दछ । त्यस्ता पीडितका आफन्तजनमध्ये म आफै पनि एक थिएँ । मेरी आफ्नै माइजू (शोभा प्रधान) क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । यो औषधिको उपलब्धताले माइजूको पनि उपचार शतप्रतिशत सफल हुने आशा थियो । तर, दुर्भाग्यवश क्यान्सर पूर्ण निको हुने भनिएको औषधिको सर्वव्यापी उपलब्ध हुनुअघि नै उहाँको देहावसान हुन गयो ।
धेरैजसो क्यान्सर रोगबाट पीडितहरूमा सधैँ चिन्ताको विषय ‘यो असाध्य रोग हो र निको भयो भने पनि फेरि बल्झिने रोग हो’ भन्ने नै हो । हुन पनि धेरै क्यान्सर रोगीहरूको लागि यही कारणले नै ज्यान गुमाउनुपर्ने भएको छ । विश्वभर मृत्युको प्रमुख कारण भएको क्यान्सर प्रमुख सार्वजनिक स्वास्थ्य समस्या भएको छ । तर, हालैमात्र क्यान्सरलाई पूर्णरूपमा निको पार्न सक्ने भनिएको औषधि ‘डोस्टारलिमाब’ (Dostarlimab) को सफल परीक्षणबाट निस्केको परिणामले क्यान्सर पीडित रोगीहरूको साथै समस्त मानव जातिलाई नै खुसी पारेको छ । यो औषधिको नेपाली रूपैयाँ करिब १४ लाख पर्ने अनुमान गरिएको छ ।
औषधिको वास्तविकता
मलाशय (रेक्टल) क्यान्सरका १८ जना बिरामीहरूमामात्र सर्वप्रथम यो औषधिको सानो क्लिनिकल ट्रायल गरिएको थियो । सामान्यतया कुनै पनि औषधिले पूर्णता पाउन दसौँ हजार मानिसमा परीक्षण गर्नुपर्छ । न्युयोर्क टाइम्सका अनुसार पहिले नै केमोथेरापी, विकिरण र शल्यक्रियाजस्ता उपचारहरू गरेका बिरामीहरूलाई क्लिनिकल ट्रायलमा संलग्न गराइएको थियो । ट्रायलमा रहेका सबै बिरामीहरू क्यान्सरको समान चरणमा थिए । क्यान्सर मलाशयमा मात्र सीमित थियो, अन्य अङ्गहरूमा फैलिएको थिएन । न्युयोर्क टाइम्सका अनुसार म्यानहटनस्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरले गरेको सीमित क्लिनिकल परीक्षणमा १८ जना बिरामीले डोस्टारलिमाब नामको औषधि हरेक महिनाको तीन हप्ता गरी ६ महिनासम्म सेवन गरेका थिए । परिणामतः ती सबै बिरामीमा क्यान्सरको ट्युमर हराएको देखायो । अनुसन्धानकर्ताहरूले जनाएअनुसार कुनै पनि बिरामीहरूले डोस्टारलिमाबको प्रयोगपछि केमोथेरापी वा शल्यक्रिया गराइएका थिएनन् र फलोअपको क्रममा क्यान्सरको प्रगति वा पुनरावृत्तिको बारेमा जानकारी गरिएको थिएन । औषधिको अध्ययन गर्ने क्यान्सर अनुसन्धानकर्ताहरूले परिणाम धेरै नै आशाजनक रहेको तर अझै ठूलो मात्रामा परीक्षण आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।
१८ जना बिरामीहरूले अनुसन्धानको अर्को चरणको रूपमा शल्यक्रियाहरू पार गर्नुपर्ने अपेक्षा गरिएको थियो । तर, थप उपचार आवश्यक नभएको थाहा पाएपछि उनीहरू छक्क परे । आफूहरू क्यान्सरमुक्त भएको थाहा पाएको क्षणको वर्णन गर्दा धेरैको आँखामा खुसीका आँसु थिए । हरेक बिरामीमा ट्युमर हटेको एउटा चमत्कार नै हो भन्दै विज्ञहरू परीक्षणको नतिजाबाट खुसी भएका थिए । अनुसन्धानमा संलग्न चिकित्सकहरूले यस अनुसन्धानलाई ‘संसारमा पहिलोपटक’ भन्दै खुसी व्यक्त गरे । सबै सहभागीहरूले औषधि परीक्षणबाट सामान्यबाहेक गम्भीर साइड इफेक्टहरू अनुभव गर्नु नपरेको विशेषज्ञहरूले बताएका छन् । “यो इतिहासमा पहिलोपटक चमत्कार भएको जस्तो लागेको छ”, अनुसन्धानमा संलग्न चिकित्सकले भनेका छन् । उक्त अनुसन्धानशालाका चिकित्सक लुइसका अनुसार क्यान्सर रोगको उपचार पद्धतिको इतिहासमा यस्तो सफलता पहिलोपटक प्राप्त भएको हो । विशेषज्ञहरूका अनुसार प्रयोगशालामा बनाइएको डोस्टारलिमाब औषधिले मानव शरीरमा एन्टिबडीहरूका लागि सरोगेटको रूपमा काम गर्दछ ।
डीएनएको प्रतिलिपि बन्ने प्रक्रियामा हुने गल्तीलाई सुधार्ने जैविक प्रक्रियालाई ‘मिसम्याच रिपेयर’ (Mismatch repair, MMR) भनिन्छ । एमएमआरको कमी भएको कोषिकाहरूमा कैयौँ डीएनए उत्परिवर्तन (Mutation) हुँदा क्यान्सर हुने सम्भावना बढ्दछ । प्रायः मलाशय (Colorectal) क्यान्सर, आन्द्राको क्यान्सर तथा पाठेघर सम्बन्धित क्यान्सरमा एमएमआरको कमी पाइएको छ । त्यसको साथै स्तन, प्रोस्टेट, मुत्राशय र थाइराइड क्यान्सरको कारक पनि एमएमआरको कमी पाइएको छ ।
डोस्टारलिमाब क्यान्सरको उपचारको लागि औषधिको रूपमा प्रयोगशालामा बनाइएको एन्टिबडी हो । डोस्टारलिमाब अप्रिल २०२१ मा संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घमा ‘मिसम्याच रिपेयर डेफिसिएन्ट’ (dMMR) बाट हुने ‘पाठेघरको भित्ताको क्यान्सर’ उपचारको चिकित्सा प्रयोगको लागि अनुमोदन गरिएको थियो । हाल, डोस्टारलिमाब स्तन क्यान्सरसहित २० अन्य क्यान्सरको क्लिनिकल परीक्षणहरूमा पनि प्रयोग भइरहेको छ ।
डोस्टारलिमाबले क्यान्सर कोषिकाहरूको पहिचान गर्नमा हाम्रो शरीरको रोग प्रतिरोधात्मक प्रणालीलाई सहयोग गर्दछ । त्यसैले डोस्टारलिमाबको प्रयोग इम्युनो थेरापीअन्तर्गत पर्दछ जसमा शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई बढाएर क्यान्सरजन्य ट्युमरको कोषिका बढ्नु तथा फैलिनुबाट रोक्दछ । यो एक इम्युनोथेरापी औषधि भएकोले मलाशय क्यान्सरमा मात्र नभई अरू प्रकारका क्यान्सरको उपचारको लागि पनि उपयुक्त हुने विश्वास गरिएको छ । यो ट्युमरकै लागि भनेर बनेको होइन तर यो औषधि प्राविधिकरूपमा क्यान्सरको दायराको उपचार गर्न प्रयोग गर्न सकिन्छ ।
यो औषधिको सामान्य साइड इफेक्टहरूमा थकान÷अस्थेनिया, वाकवाकी, पखाला र कब्जियत समावेश छ । युरोपेली सङ्घमा गरिएको रिपोर्टअनुसार अतिरिक्त सामान्य साइड इफेक्टहरूमा बान्ता, जोर्नी दुखाइ, दाग र ज्वरो रहेका छन् । डोस्टारलिमाब ‘मिसम्याच रिपेयर डेफिसिएन्ट’ (dMMR) क्यान्सर भएका वयस्कहरूको उपचारको लागि प्रयोग हुने देखिएको थियो । डोस्टारलिमाब औषधिकै वर्गमा निभोलुमाब (nivolumab), पेम्ब्रोलिजुमाब (pembrolizumab) जस्ता अरू औषधिहरू पनि प्रयोगमा छन् । तर, अहिले डोस्टारलिमाबको चर्चा अलि बढी भइरहेको छ ।
क्यान्सरप्रति मानिसहरूको न्यून चेतना र कम परीक्षण दरले क्यान्सरका रोगीको सङ्ख्या बढाएको छ जुन विशेषगरी अन्तिम चरणमा पत्ता लाग्ने गरेको छ । नेपालमा क्यान्सरको प्रकोप बढ्दै गएकोले रोकथाम, प्रारम्भिक पहिचान र उपचारका कार्यक्रमहरूलाई लक्षित गरी बृहत् नीतिहरू सञ्चालन गरिनुपर्छ । औषधिकै कारण अनाहकमा ज्यान गुमाउन परिरहेको अवस्थामा सबै प्रकारका क्यान्सर रोगको उपचारको लागि डोस्टारलिमाब औषधिजस्ता अरू औषधि पनि सजिलै सर्वसाधारणको पहुँचमा पु¥याउन सरकारले पहल गरोस् । माइजू र आफन्तले भोग्नु परेको पीडा फेरि अरू कसैले भोग्न नपरोस् । आदरणीय माइजूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।
(लेखक रसायनशास्त्रमा विद्यावारिधि हुनुहुन्छ)

Leave a Reply

Your email address will not be published.