भर्खरै :

कम्युनिस्टहरूको उद्देश्य समाजवाद स्थापना गर्नु हो

कम्युनिस्टहरूको उद्देश्य समाजवाद स्थापना गर्नु हो, बहुदलीय जनवाद होइन । वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न देशका सबै कम्युनिस्टहरू जुट्नुपर्ने हो । सिद्धान्त र विचारबाट सुसूचित हुनुपर्ने हो । यो गठबन्धनको सरकार न समाजवादी व्यवस्था स्थापना गर्न भएको हो, न त समाजवादउन्मुख व्यवस्था बनाउन नै भएको हो । वामपन्थी दलका शीर्ष नेताहरू ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ बारे अन्तरक्रिया गर्छन् । तर, ती नेताहरू नेपालमा समाजवाद कसरी ल्याउने, यसका चुनौतीहरू के–के हुन्छन् भन्ने कुरा सोच्दैनन् न कार्यक्रम नै तय गर्छन् । समाजवादबारे अन्तरक्रियामा भाग लिने नेताहरू नै समाजवादको चिन्तन र आचरण नभएको स्वीर्काछन् । तिनीहरू कार्यक्रममा एकछिन समाजवादको चर्चा परिचर्चा गरे पनि आचरण र व्यवहारमा पुुँजीवादी र सामन्ती शैली अपनाउँछन् । एकले अर्कोमाथि हिलो छ्याप्छन् । अन्तरक्रियामा त समाजवाद ल्याउन हामीसँग के–के चुनौती छन्, त्यसलाई पार गर्ने कसरी र सम्भावनाका उपाय के–के छन् भन्नेबारे अवधारणा ल्याउनुपर्ने हो ।
समाजवादबारे अन्तरक्रिया गर्ने वामपन्थी दलका नेताहरू नेपालमा समाजवादी व्यवस्था ल्याउन चाहँदैनन् । आफूलाई कम्युनिस्ट हुँ भन्ने देखाउन या विश्वास जगाउन उनीहरू कहिलेकाहीँ यसरी नै अन्तरक्रिया गर्छन्, त्यसपछि कुरै उठाउँदैनन् । पार्टीको सम्मेलन, अधिवेशन र ठूल्ठूला सभामा कम्युनिस्टको सिद्धान्त र विचार नउठाउने, छलफल नगर्ने ती नेताहरू समाजवाद ल्याउन अघि सर्दैनन् । बरु, उनीहरू देशमा समाजवाद आउला भनेर चिन्तित हुन्छन् । एउटै विचार बोकेको शक्तिबीच दलहरू मिल्नुपर्छ मिलेर अगाडि बढ्नुपर्छ भन्ने ती दलका नेताहरू नै विचार नमिलेका दलहरूसँग गठबन्धन गर्छन् र कम्युनिस्ट पार्टी र आन्दोलनलाई कमजोर बनाउन सहयोग गर्छन् । समाजवादी आचरण नै नभएका दलहरूले समाजवादको कुरा उठाएर देशमा कसरी समाजवाद स्थापना हुन्छ ? समाजवादी व्यवस्था स्थापना गर्न के पूर्वाधारहरू तयार गर्नुपर्दैन ?
देशका सबै वामपन्थी शक्तिहरू जहिलेसम्म कम्युनिस्ट सिद्धान्त र आचरणअनुसार अघि बढ्दैनन् तहिलेसम्म देशमा समाजवादी व्यवस्था सम्भव छैन । निर्वाचनमा बढी सीट जितेर, ठूलो दल बनेर देशमा समाजवाद आउने होइन । गएको निर्वाचनमा नेकपा ठूलो दल बनेकै हो, झन्डै दुईतिहाइ मत प्राप्त भएकै हो । के समाजवाद स्थापना भयो ? कम्युनिस्टको सिद्धान्त र विचारअनुसार कुनै पनि काम भएन । संवैधानिक व्यवस्था भएअनुसार समाजवादउन्मुख ढङ्गको काम पनि भएन । सरकारको नेतृत्व गरेर पनि समाजवादी आचरणअनुसार एउटा सिक्का भाँचिएन । यसले स्पष्ट गर्छ, दल ठूलो हुँदैमा देशमा समाजवाद आउने होइन, आएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *