भर्खरै :

शोभा प्रधानको जीवन छोटो भए पनि अर्थपूर्ण र सार्थक

भक्तपुर, १४ असार । नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय कोषाध्यक्ष शोभा प्रधान (बिजुक्छेँ) प्रति श्रद्धाञ्जली व्यक्त गर्न नेक्रामसङ्घ सूर्यविनायक नगर समितिले मङ्गलबार चित्तपोलमा एक कार्यक्रमको आयोजना ग¥यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले शोभा प्रधानको जीवन छोटो भए पनि अर्थपूर्ण एवम् सार्थक भएको भन्दै देश र जनतामा समर्पित नेता तथा कार्यकर्ता जनताको मनमा सदा जिउँदो हुने धारणा राख्नुभयो ।
उहाँले समाजको सेवामा लाग्ने मानिसको मानसिक स्वास्थ्य पनि राम्रो हुने भन्दै राजनीतिक कार्यकर्तामा कठिनाइको सामना गर्नसक्ने धैर्य हुने तर्क गर्नुभयो । नेतृ शोभा प्रधानको जीवन सङ्घर्षबाट सिक्नुपर्ने उहाँको विचार थियो ।
नेक्रामसङ्घका केन्द्रीय उपाध्यक्ष कमलमैयाँ सुवालले शोभा प्रधानले नेमकिपाका अध्यक्षको जीवनलाई सहज बनाउनमात्र नभई गरिब वर्गका महिलाको स्वास्थ्य चेतना अभिवृद्धिमा सकारात्मक भूमिका निर्वाह गर्नुभएको धारणा राख्नुभयो ।
नेमकिपा, सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वातिले राजनीतिक कार्यकर्ताले आफ्नो स्वास्थ्यको विषयमा पनि ध्यान दिनुपर्ने चर्चा गर्नुभयो ।
आयोजक समितिका अध्यक्ष चनमती बखुञ्छेको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपा सूर्यविनायक नगर समितिका सचिव महेन्द्र बखुञ्छे, नेक्रामसङ्घ भक्तपुर जिल्ला समितिका सदस्य गंगा वैद्य, महिला नगर समिति सचिव मनशोभा त्वाती, नेक्रामसङ्घ, सूनपा वडा नं १० एकाइ समिति अध्यक्ष गंगा खुसिंले पनि आफ्नो विचार राख्नुभएको थियो ।
नेक्रामसङ्घका केन्द्रीय कोषाध्यक्ष शोभा प्रधानको निधन क्यान्सरको उपचारको क्रममा असार ८ गते भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *