भर्खरै :

बजेट जनमुखी नभएकोले नेमकिपाको सैद्धान्तिक विरोध

हेटौँडा, १५ असार । बाग्मती प्रदेश सरकारको आ.व. २०७९।८० को बजेटमाथिको छलफल सोमबार सुरु भयो । पाँचौँ तथा अन्तिम बजेट ठूलो आकारमा ल्याइएको छ । प्रदेशहरूमध्ये सबभन्दा ठूलो बजेट बहत्तर अर्ब बराबरको छ ।
मङ्गलबार बसेको बैठकमा भाग लिँदै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नेमकिपाका एक अथक कार्यकर्ता, नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय कोषाध्यक्ष तथा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय सदस्य शोभा प्रधानको असामयिक निधन भएकोमा श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।
उहाँले शोभा प्रधान नेपाली कामदार महिला आन्दोलनकी एक स्मरणीय नेतृ भएको चर्चा गर्नुभयो ।
नेपालको औषधि व्यवस्था विभागले क्यान्सर, मुटु रोग, मृगौला रोगलगायत दीर्घरोगका बिरामीका लागि अति आवश्यकीय औषधिको प्रबन्ध मिलाउन असफल भएकैले धेरैको अकाल मृत्यु भइरहेको चर्चा गर्नुभयो ।
प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय सबैले बेलैमा ध्यान पु¥याउन जरुरी भइसकेको उहाँले प्रस्ट पार्नुभयो ।
प्रदेश सभा सदस्य गोसाईंले देश श्रीलङ्काले भोगेझैँ आर्थिक टाटपल्टाइतिर उन्मुख भएको र युक्रेनको दुर्भाग्य व्यहोर्न बाध्य हुने सङ्केत देखापरेको विश्लेषकहरूको भनाइ प्रस्तुत गर्दै देशको स्वतन्त्रता, अखण्डता कायम राख्न आत्मनिर्भरता आवश्यक भएको चर्चा गर्नुभयो ।
बजेट जनमुखी तथा प्रगतिशील नभएको हुनाले नेमकिपाको सैद्धान्तिक विरोध रहेको प्रस्ट पार्दै सांसद गोसाईले काठमाडौँको फोहोरमैला र शासक दलहरूको फोहोरी राजनीतिले गर्दा हैजाजस्तो सरुवा रोग फेलिन थालेको धारणा राख्नुभयो ।
उहाँले नेमकिपाले प्रदेशसभामा पनि प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्दै देश र जनताको सेवा गरिरहेको प्रस्ट पार्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशसभा सदस्य सृजना सैँजूले जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्नसमेत जसरी विगतको बजेट असफल भयो त्यसरी नै नयाँ बजेटमा पनि नयाँ आशा एवं सम्भावनायुक्त किरण नभेटिएको बताउनुभयो ।
उहाँले भक्तपुरको जलाधार क्षेत्रमा खेलमैदान निर्माणमा बजेट विनियोजन गर्नु अमानवीय र हरेक हिसाबले गलत रहेको बताउनुभयो ।
गोष्ठी, तालिम, भ्रमणमा बजेट विनियोजन गरी मितव्ययिता नारामा मात्र सीमित गरिनु निन्दनीय रहेको विचार पनि उहाँले व्यक्त गर्नुभयो ।
उहाँले देउवा सरकारले युक्रेनको पक्ष अथवा साम्राज्यवादी युद्धको पक्ष लिएर असंलग्नताको नीति त्यागेको कारण मुद्रास्फीति तथा आर्थिक सङ्कट बढ्न थालेको चर्चा गनुभयो ।
उहाँले नवउदारवादी अर्थनीतिको असफलता चौतर्फी अनुभव गरिन थालेको स्पष्ट पार्नुभयो ।
बाग्मती प्रदेश सरकारको बजेट साना–तिना स्वार्थमा अल्झिएको र उत्पादनमुखी नभएको अधकांश प्रदेश सांसदहरूले धारणा राख्नुभयो । बजेटमाथि बुधबार पनि छलफल चालु रह्यो ।

Leave a Reply

Your email address will not be published.