भर्खरै :

रग्बी खेल मैदान बनाइँदा जनस्वास्थ्यमा असर

भक्तपुर, १६ असार । भक्तपुरको पूर्वतर्फका आधा जनताले उपभोग गर्ने खानेपानीको मुल स्रोत चाँगुनारायण नगरपालिकाको नगरकोट र बागेश्वरीको जङ्गल र महादेव खोला हो । सो क्षेत्रलाई जलाधार क्षेत्र घोषणा गरी पानीको स्रोत सुरक्षित गर्न जनताले माग गर्दै आएका हुन् ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको व्यवस्थापन र वितरण भइरहेको सो खानेपानी हिलो र धमिलो छ । केही वर्षयता भङ्गेरी डाँडामा रग्बी रङ्गशाला निर्माणको निहुँमा डोजर चलाउँदा माटो बगेर महादेव खोलाको पानी फोहर भएको हो । खानेपानी जस्तो आम नागरिकको स्वास्थ्यसँग जोडिएको विषयमा बेवास्ता गर्नु अपराध हो । यो संवेदनशील विषयमा बेवास्ता गरी सङ्घ र प्रदेश सरकारको बजेटमा निर्माण कार्य भइरहनु खेदको विषय हो ।
भक्तपुरका जनताले रग्बी खेल मैदान जङ्गल मासेर र पानीको मुहान सुक्ने गरी निर्माण गर्न नहुने आवाज उठाएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड भक्तपुर शाखाले केयुकेएलको मुख्य कार्यालयमा समस्या समाधान गर्न अनुरोध गरेको हो । मुख्य कार्यालयले आवश्यक समन्वय गर्ने विश्वास जनताले गरेका छन् । सो अनुरोध पत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय, भक्तपुर, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकालाई पनि दिइएको छ । नेपाल सरकारको बजेट आम जनताको स्वास्थ्य प्रतिकूल हुने गरी खर्च गर्नु उचित होइन ।

Leave a Reply

Your email address will not be published.