भर्खरै :

बो सिंहको मूर्तिहरूको क्षमापूजा,पार्वतीको मूर्ति फिर्ता ल्याउन पहल

भक्तपुर, १६ असार । भक्तपुर नपा वडा नं. ७ गोल्मढीको गःहिटीको दायाँ र बायाँमा राखिएको नयाँ बो सिंह स्थानान्तरणसँगै बिहीबार भक्तपुर नपा वडा नं. ७ र स्थानीय जनताको अग्रसरतामा क्षमापूजाको आयोजना गरिएको छ । उक्त अवसरमा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले बो सिंहहरूमा औपचारिक पुनःस्थापना गर्नुभयो ।
वि.सं. १९९० सालको महाभूकम्पपछि भक्तपुर दरबार क्षेत्रस्थित शिलु महादेव मन्दिरमा रहेको २ वटा बो सिंहहरू गोल्मढीको गःहिटीमा राखिएको प्रस्ट भएपछि स्थानीय जनता र नगरपालिकाको समन्वयमा केही समयअघि त्यहाँ रहेका पुराना बो सिंहहरू सिलु महादेव मन्दिरमा फिर्ता गरिएको थियो ।
स्थानीय जनताको मागअनुसार नयाँ बो सिंहहरू निर्माण गरी गःहिटीमा पुनःस्थापना गरिएको हो ।
सोही क्रममा भक्तपुर नगरपालिकाले चार दशकअघि हराएको भनपा वडा नं. ७ गोल्मढीस्थित वीरभद्रेश्वर मन्दिरमा स्थापित हातमा नालसहितको कमलको फूल लिएको पार्वतीको मूर्ति पहिलेकै स्थानमा पुनःस्थापना गर्नको लागि भक्तपुर नपाले बिहीबार पुरातत्व विभाग, स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डामा आवश्यक पहलको लागि पत्राचार गरेको छ ।
२०७९ वैशाख २३ गते अमेरिकाको कनेक्टिकटस्थित यल युनिभर्सिटीले नेपाली महावाणिज्य दूतावाससँग मूर्ति फिर्ता गर्ने समझदारी भएसँगै उक्त मूर्ति नेपाल ल्याएर हाल छाउनीस्थित कला सङ्ग्रहालयमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *