भर्खरै :

सङ्क्रमण बढ्यो, भेरियन्टको नयाँ प्रजातिबारे अध्ययन हुँदै

काठमाडौँ, १८ असार । पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी स्वास्थ्यका मापदण्ड पालना नगर्नुजस्ता कारणले सङ्क्रमण बढेको पाइएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भारतमा सङ्क्रमण बढेसँगै नेपालमा पनि सङ्क्रमण बढेको बताउनुभयो । उहाँका अनुसार ०.५ प्रतिशतसम्म झरेको सङ्क्रमणको दर अहिले ६ प्रतिशत पुगेको छ । “भारतमा जुन हिसाबले सङ्क्रमण बढेको थियो । सोहीअनुसार नेपालमा अहिले सङ्क्रमण धेरै नै बढेको हुनुपर्ने हो, तर नेपालमा भारतमा बढेको जस्तो भने बढेको छैन ।” उहाँँले भन्नुभयो ।
नेपालमा कोरोना भाइरसको सङ्क्रमण सबैभन्दा कम चार जनामा देखिएको थियो । सङ्क्रमण बढ्दा सक्रिय सङ्क्रमित पनि बढिरहेका छन् । अहिले २९७ जना सक्रिय सङ्क्रमित रहेका छन् । असार १ गते तीन हजार ९०५ जनामा परीक्षण गराउँदा २५ जनामा सङ्क्रमण भएकामा हिजो असार १७ गते दुई हजार ८१४ जनामा परीक्षण गर्दा दोब्बरमा सङ्क्रमण देखिएको छ । असार १७ गते ५० जनामा सङ्क्रमण देखिएको छ ।
असार १६ गते ५५ जना, असार १५ गते ६२ जना, असार असार १४ गते ४४ जना, असार १३ गते ४१ जना, असार १२ गते २९ जना र असार ११ गते २७ जना सङ्क्रमित रहेका छन् । अहिले २९१ जना होम आइसोलेसन, छ जना संस्थागत आइसोलेसन र तीन जना सघन उपचार कक्ष (आईसीयू)मा रहेका छन् ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भारतमा सङ्क्रमण बढेका कारणले नेपालमा पनि बढेको जानकारी दिनुभयो । भारतबाट नेपालमा आउने मानिसमा सङ्क्रमण देखिएको उहाँँको भनाइ छ । “सङ्क्रमण बढे पनि तर ग्राफमा ठूलो नदेखिएको हो, हामीले जनस्वास्थ्यमा मापदण्ड पालना गर्नुपर्दछ ।” उहाँले भन्नुभयो ।
उहाँले अहिले देखिएको सङ्क्रमणमा ओमिक्रोन भेरियन्ट (BA 4 वा BA 5U) प्रजातिको हो वा होइन भन्नेबारेमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अणु वांशिक (जीन सिक्वेन्सिङ) अध्ययन भइरहेको बताउनुभयो । “अहिले देखिएका सङ्क्रमणमा ओमिक्रोन भेरियन्ट नयाँ हो वा होइन भनेर हामीले जीन सिक्वेन्सिङ गरिरहेका छौँ, एक दुई दिनमा रिपोर्ट आएपछि थाहा हुन्छ ।” उहाँले भन्नुभयो ।
नेपालमा अहिलेसम्म ओमिक्रोनकोBA 2 प्रजातिको भेरियन्ट रहेको छ । उहाँका अनुसार अहिलेका बिरामीमा पहिलेका सङ्क्रमितलाई जस्तै सामान्य लक्षण रहेको छ ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *