भर्खरै :

तिलका लड्डुसँगै जोडिएका यादहरू

कुरा कहाँबाट सुरू गरुँ ¤ थाहा छैन । सम्झनाका बिन्दुहरू लाम लागेका छन् । कुन बिन्दुमा अडेर कुरा खोलूँ, हल्लिएको मनसँगै लरबराएको हातले सम्झनाका शाब्दिक बिन्दुहरू जोड्न गा¥हो मानिरहेछ ।
सेतो कमेरो पोतेको भित्तासँगै जोडिएको काठको भ¥याङमा बिस्तारै उक्लिँदै गर्दा एकदिन नारायणमान तबाले सोध्नुभएको थियो, “आज म तिमीलाई कसैसित भेटाउँदैछु है, तिमीले मेरी श्रीमतीलाई चिनेकी छ्यौ ?”
त्यो दिन म पहिलो पटक उहाँहरू बस्नुहुने सुकुल्ढोकाको घर गएकी थिएँ । तबा आफैँले मलाई साथमा लिएर जानुभएको थियो । सायद म त्यसबेला कक्षा ५ तिर पढ्थेँ होला । मैले बालसुलभ भाषामा हतारिँदै उत्तर दिएकी थिएँ, “चिन्छु, किन नचिन्नु नि ?”
उहाँको थप प्रश्न, “कसरी नि ?”
मेरो सजिलो उत्तर, “हाम्रो स्कुलकी मिस के त ।”
मेरो जवाफ सुनेर तबा मुसुक्क हाँस्नुभएको थियो, खै किन हो । त्यो मुस्कान आज पनि मनमा टाँसिएको छ ।
सानो भान्छा, सिमेन्टको हो सायद किचेन ¥याक । त्यहीँनेर मिस के पो गर्दै हुनुहुन्थ्यो ।
“लौ, हाम्रो कविज्यूकी छोरी आएकी छे ।”
तबाले औपचारिकरूपमा मिससित मलाई चिनाइदिनु भयो । म आधा टाउको उठाएर मुसुक्क हाँसेँ ।
लामो बार्दली जस्तो खुला ठाउँ थियो । म त्यतै अल्मलिएँ । एकै क्षणमा तबा घर बस्ने कपडा लगाएर आउनु भयो । पढ्ने कुरा नि थियो हातमा । बसेर पढ्न थाल्नु भयो कि के हो मन्द मन्द सम्झना मात्र छ । त्यस्तैमा बट्टाभरि तिलका लड्डु र चिया लिएर मिस आउनु भयो र तबाको नजिकै राखिदिनु भयो । अरू कुरा याद नभए पनि मलाई त्यो तिलको लड्डु भरिएको बट्टा अझै याद छ । बडा–बडा तिलका लड्डुहरू !
नारायणमान तबालाई गुलियो मनपर्छ क्यारे ! त्यसैले, मिस घरमै त्यस्तो लड्डु बनाएर दिनुहुन्थ्यो सायद । मलाई पनि खान्छ्यौ भनि सोध्नुभएको थियो तर खै किन हो मैले खाइनँ । लाजले हो या अनायासै नाईँ भन्न पुगेर हो । घर पुगेर मैले आमालाई भनेकी थिएँ, “मामी ! तबालाई त घरमै क्या बडा बडा तिलको लड्डु बनाइदिनु हुँदो रहेछ । त्यो जन्मदिनमा बनाउने जस्तो होइन के बडा बडा तर सारो नि नहुने, हामी पनि बनाउने कि ! जब कि हामी त्यसबेला गोफगीको लड्डु खान्थ्यौँ, किनेर ।
शोभा मिससितको मेरो पहिलो औपचारिक भेट त्यही थियो । पछि कहिले हो त्यसरी नै त्यही भान्छामा हाम्रो भेट भयो । सन्दर्भ थाहा भएन तर संवाद याद रह्यो ।
—“सुवेगले जहिल्यै चक्कुले तरकारी काट्नु घाउ भइहाले नि देब्रे हातमा मात्र हुन्छ भन्छ तर मलाई भने चुलेसी नै सजिलो लाग्छ ।”
कम बोल्ने तर सबै कुरा सुनिरहने बच्चा म, मलाई त्यो कुरा नि राम्रो लागेछ । घर पुगेर आमालाई सल्लाह दिइहालेँ, “मामी, चक्कुले काटौँ न तरकारी घाउ लागे नि देब्रे हातमा मात्र लाग्छ ।”
पछि हाम्रो भेट कक्षा कोठामा भयो । म कक्षा ८ मा पढ्दै थिएँ । उहाँ हामीलाई नेपाली विषय पढाउनुहुन्थ्यो । हँसिलो मुहारमा तीखो आवाज कोठाभरि फैलिन्थ्यो । हप्काइ हाल्न परेमा “यो मान्छे !” भन्दै स्नेही शब्दमा सम्झाउनुहुन्थ्यो । उहाँको त्यो लबज कानमा अझै स्पष्ट सुनिए झैँ लाग्छ । शब्दमा उतार्न असमर्थ छु । एक दिन म झोला खस्¥याक खुस्सुक गर्दै केही खोज्दै थिएँ । उहाँ पढाउँदै हुनुहुन्थ्यो । म आफ्नै धुनमा थिएँ । नजिक आउनु भयो र झोलातिर सङ्केत गर्दै सोध्नु भयो, “के गर्दै छ्यौ ।” त्यसबेला मेरो झोलामा ‘अठोट’ नामको कविता सङ्ग्रह थियो । उहाँले देखिहाल्नु भयो ।
—“तिमी यस्तो किताब नि पढ्छ्यौ ?”
— अँ
—“बाबाको किताब बोकेर स्कुलमा ।”
— मैले नि पढ्न ल्याको नि त ।
त्यसबेला उहाँ पनि मुसुक्क हाँस्नुभएको थियो । बस् कुरा सकियो तर त्यो मुस्कान बाल मस्तिष्कमा ताजै रह्यो ।
केही वर्षसँगै शिक्षण कार्यमा सहकर्मी पनि बनेँ । वागीश्वरी मा. वि. को लामो अफिस कोठामा सँगै मेचमा बसेर गफिँदाका हाँसो, गम्भीरता, चिन्ता, सबै सबै क्षणहरू सम्झनाका बिन्दुहरू बने ।
मिस ! तपाईँका आदर्श र सङ्घर्षका उदाहरणहरू हरकोही सङ्घर्षशील नारीका निम्ति खुराकका रूपमा रहने भए । त्यसमध्ये पनि तपाईँभित्रको दरिलो आत्मबलको कथा साहसिक ऊर्जा प्रतीत हुने भए ।
जन्म र मृत्युको अनौठो प्राकृतिक संयोजन र त्यसभित्रका चलाएमान पात्र हामी । तपाईँ प्रकृतिमै विलीन हुनु भयो । यद्यपि, आफ्नो पहिचान र आकृति धेरैको मन मस्तिष्कमा कोर्न सफल हुनुभयो । प्रत्यक्ष र अप्रत्यक्षरूपमा तपाईँबाट सिकेका कुराहरू हरेक विद्यार्थीले अपनाउने छन् । म त्यस्तै विद्यार्थी मध्य एक हुँ ।
अन्तिम बिदाइको लात् प्रसारण मोबाइलमा हेर्दै थिएँ । सायद ‘जनसञ्चार’ ले लात् दिँदै थियो । मनमा अनौठो भारले थिचेको थियो । सँगै छोरी निहारिका टिभीमा पेपा पिग हेर्दै थिई । मलामीको अघि अघि दामोदर सरलाई देखेँ । कता कता मन निमोठियो । सलसल आँसु बगि छाड्यो । त्यसैमा निहारिकाले सोधिहालिन्, “What happen mamu ? Why are you crying ?”
“Nothing”, निहारिका ।
बस् । मित्रता र साथको एउटा चित्र । हैट ! भनिन्छ नि मित्रप्रतिको स्नेह र अन्तिम गन्तव्यसम्मको साथ । रिटायडमेन्ट अघिसम्म विद्यालयका सहकर्मीहरूसितको उहाँको व्यवहार, कुरा गराइ अनि दामोदर सरसँग मोबाइलका आधुनिक फन्कसनहरूका बारेमा जिज्ञासु कुराकानी आदि आदि दृश्यहरू फ्याट् फ्याट आँखासामु ओर्लिएर आए । बाहिरबाट देख्दा ती यादहरू आँसु बने ।
मिस, तपाईँका सङ्घर्षका कथाहरू अनुकरणीय पाठ बने ।
सम्झनाका क्षणहरू धेरै छन् बाबै ! नमेटिने मायाका आभाहरू धेरै छन् । तपाईँभित्रको शोभा हरेक विद्यार्थीमा शोभायमान बनेका छन् अनि बनिरहने छन् । बिदाइ त किन भन्नु । रोगसितको लडाइँमा भौतिक शरीर हार्नु भयो । तर, तपाईँका चेतना र ज्ञान सबैतिर फैलिएका छन् । सङ्घर्षशील जीवनको पर्याय मानेँ तपाईँलाई । नमेटिने सम्झनाका बिन्दुहरूमा शोभा मिस !

Leave a Reply

Your email address will not be published.