भर्खरै :

माक्र्सवाद देखाउन होइन लागु गर्न हो

कम्युनिस्टहरू माक्र्सवाद–लेनिनवादलाई आफ्नो मार्गनिर्देशक ठान्छन् । माक्र्सवाद–लेनिनवादलाई नेपालको माटो सुहाउँदो लागु गर्नु उनीहरूको जिम्मेवारी हो । माक्र्सवाद–लेनिनवाद अध्ययन गर्नुको अर्थ कुनै भनाइ या दर्शन कण्ठ गर्नु होइन, त्यसबाट सिक्नु हो र व्यवहारमा लागु गर्नु हो, सिद्धान्तलाई व्यवहारसित मिलाएर अघि बढ्नु हो । कति नेताहरू माक्र्सवाद–लेनिनवादसम्बन्धी ग्रन्थ अध्ययन गर्छन् र आफूलाई माक्र्सवाद र लेनिनवादको ज्ञाता ठान्छन् । तर, तिनीहरू त्यस वादलाई व्यवहारमा ल्याउँदैनन् । अझ त्यही वादको विरोधमा लाग्छन्, सिद्धान्त र विचार छोडेर अवसरवादी हुन्छन् र पद पैसामा भुल्छन् या बिक्छन् । तिनीहरू ज्ञानको प्रदर्शन गरी बुद्धिजीवी भएको ठान्छन् तर क्रान्तिकारी भावना र विचारलाई लागु गर्दैनन् । यो एक प्रकारको व्यक्तिवाद हो । व्यक्तिवादमा अल्झिएका बुद्धिजीवी या नेताहरू जनतामाझ भिज्दैनन्, बरू सम्मान र पद खोज्छन् । हरेक कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरू देश र जनताको सेवामा जीवन अर्पण गर्छन् र पार्टी विस्तारमा लाग्छन्, पार्टीको सिद्धान्त र विचार जनतामाझ पु¥याउने काम गर्छन् ।
हामीमा क्रान्तिकारी या आमूल परिवर्तन गर्ने भावना हुनुपर्छ । क्रान्तिकारी चरित्र, गुण र विचार हामीमा हुनुपर्छ । समाजवादी व्यवस्था स्थापना गर्न र मानव जातिको मुक्तिको निम्ति क्रान्तिकारी भावना नभई हुँदैन । अहिले देशका कति दलहरू सिद्धान्ततः क्रान्तिकारी देखिन्छन् । क्रान्तिकारीहरूले नै माक्र्सवाद–लेनिनवादलाई आफ्नो मार्गनिर्देशक मान्छन् । तर, व्यवहारमा त्यो देखिएको छैन । आफूलाई कम्युनिस्ट भनिने ठूला दलका नेताहरू नेकाको पछि दगुरिरहेका छन् । उनीहरू सरकारमा गएर देश र जनताको सेवा गर्न होइन सरकार कसरी जोगाउने र अबको निर्वाचनमा फेरि गठबन्धन गरेर बढीभन्दा बढी सीट जित्ने प्रयासमा छन् ।
कम्युनिस्ट पार्टीले मजदुर र सम्पूर्ण श्रमजीवी जनताको प्रतिनिधित्व गर्छ, गर्नुपर्छ । त्यस पार्टीले शोषक, सामन्त र पुँजीपति वर्गले गरिरहेको थिचोमिचो, शोषणबाट मुक्त गर्न सङ्घर्ष गर्छ । पार्टीका हरेक सदस्यहरू देश, जनता र पार्टीप्रति बफादार हुन्छन्, जिम्मेवार हुन्छन् । यसको लागि सही नेतृत्व, सही नीति र सही दिशा आवश्यक हुन्छ । व्यापक जनतालाई समाजवादको बाटोमा लैजाने प्रयास पार्टीले गरिरहेको हुन्छ । हो, यो काम त्यत्ति सजिलो छैन । तर, काम गा¥हो भनेर आफ्नो मार्ग निर्देशक बाटो छोड्नु हुँदैन । पार्टी कुनै दर्शन या सिद्धान्तमा चलेको हुन्छ । आफूखुसी पार्टी चलाएर दिशानिर्देश गर्न सकिँदैन । कुर्सी पाउने भएपछि दलको सिद्धान्त र विचारको मतलब नराख्ने नेताहरू अवसरवादी हुन्छन्, उनीहरूको दृष्टिकोण सही हुँदैन ।
समाजवादको बाटोमा अघि बढ्न कठिन सङ्घर्ष गर्नुपर्छ । आफ्नो बाटोमा जान हामीमाझ अन्य शत्रुहरू लागेका हुन्छन्, बाटोमा बाधा अड्चन दिइरहेका हुन्छन् । हाम्रो सङ्घर्ष, आन्दोलन दबाउन, आन्दोलन भड्काउन अनेक षड्यन्त्र गरिरहेको हुन्छ । त्यसबीचमा अनेक लोभलालच देखाएर भड्काइएको हुन्छ । त्यस कार्यक्रममा पुँजीवादी, विस्तारवादी, साम्राज्यवादी तथा प्रतिक्रियावादीहरू लागेका हुन्छन् । उनीहरूले क्रान्तिको बाटो छोडाउने र विचलित बनाउने प्रयास गरिरहेका हुन्छन् । यी सबै समस्या, चुनौती र बाधा अड्चन पार गर्दै श्रमजीवी वर्गको इमानदारीपूर्वक सेवा गर्नुपर्छ । यो नै प्रत्येक कम्युनिस्ट पार्टीको अभिभारा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *