अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, १९ असार । नेपाल क्रान्तिकारी किसान सङ्घ साविक वडा नं. ५ को आयोजनामा भ्रष्टाचारविरोधी आन्दोलनको स्मरण गर्न आइतबार किसान भेला भयो ।
भेलामा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरू पद र पैसाको लागि कार्य गर्दैनन् भन्नुभयो । नेपाल क्रान्तिकारी किसान सङ्घले विगतमा पनि समयसापेक्ष विभिन्न आन्दोलनहरू गरेको चर्चा गर्दै उहाँले मोहीयानी हक कायम गर्ने आन्दोलन, सुस्ता अतिक्रमणविरूद्धको आन्दोलन, भ्रष्टाचारविरोधी आन्दोलनहरूका कारण जनतामा राजनैतिक सचेतता बढेको हो भन्नुभयो ।
देशमा विदेशी हस्तक्षेप बढ्नुमा देशका शासकहरू नै जिम्मेवार भएको चर्चा गर्दै उहाँले नेपालको इतिहासको विभिन्न कालखण्डमा नेपाली शासकहरूले आत्मसमर्र्पण गर्दै गएकाले देशमा विदेशी हस्तक्षेप बढेको बताउनुभयो ।
देशभक्तिको भावना नभएका नागरिकहरूले देशको माया नगर्ने र विदेशी शासकहरूको सेवा गर्ने भएकोले त्यस्ता दलाल र भ्रष्ट व्यक्तिहरूको पहिचान गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।
नेक्राकिसङ्घका केन्द्रीय सचिव हरिराम सुवालले भ्रष्टाचारविरोधी आन्दोलन अहिलेको समयमा पनि धेरै सान्दर्भिक भएको चर्चा गर्दै युवा र विद्यार्थीहरूले भ्रष्टाचारविरोधी आन्दोलनबाट राम्रो शिक्षा पाउने बताउनुुभयो ।
समाज र देशका विभिन्न क्षेत्र तथा संस्थाहरूमा नेतृत्व गर्ने युवाहरूले समाज र देशको स्वार्थलाई प्राथमिकतामा राखेर कार्य गर्नुपर्ने धारणा राख्दै उहाँले नेमकिपाका कार्यकर्ताहरू निर्वाचित भएका निकायहरूमा भ्रष्टाचार नभएको बताउनुभयो ।
शिक्षक गणेशराम थुसाले राजनैतिक कार्यकर्ताहरू पद र पैसाको लोभमा नपरी देश र जनताको निरन्तर सेवामा समर्पित हुने चर्चा गर्दै लोभ र लाचमा फस्ने राजनीतिक कार्यकर्ताहरू नेमकिपामा रहन नसक्ने बताउनुभयो ।
नेमकिपाका पुराना कार्यकर्ताहरूले विगतमा पनि धेरै दुःख गरेकाले नै वर्तमान समयमा नयाँ पुस्ताले धेरै फाइदा लिन पाएको उहाँले बताउनुभयो ।
लक्ष्मीभक्त सिजख्वको सभापतित्वमा भएको उक्त कार्यक्रममा रामगोपाल अवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply