नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय कोषाध्यक्ष तथा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय सदस्य शोभा प्रधानप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।
नेमकिपाको महिला आन्दोलनको नेतृत्वकर्ता कामरेड शोभा प्रधानको श्रद्धाञ्जली सभामा बस्न आज हामी सबैजना गा¥हो अनुभव गरिरहेका छौँ । उहाँको निधनले सबैलाई शोकाकुल बनाएको छ । हामीले एउटा असल अभिभावक गुमाएका छौँ । हामीले असल कामरेड गुमाएका छौँ । अब उहाँ फर्किनु हुन्न । उहाँको स्मृति भने सदा रहिरहनेछ । उहाँलाई सम्झँदै राजनीतिक, शैक्षिक तथा सामाजिक गतिविधि अगाडि बढाउनु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हो ।
शोभा मिसलाई अस्पताल भर्ना गरिएको थाहा भएपछि असारको ६–७ गतेतिरै भेट्न जाने सोचेको थिएँ तर जान पाइनँ । भक्तपुरमै कुनै अस्पतालमा ल्याएर उपचार गरिने कुरो सुनेकोले पनि अलमलिएकी थिएँ । उहाँ पहिलाजस्तै निको भएर आउनु हुन्छ भन्ने आशा पनि थियो तर त्यो आशा आशामै सीमित भयो । जे होस् उहाँका अन्तिम दिनमा भेट्न नपाएकोमा सदा थकथक लागिरहनेछ ।
शोभा मिससँगै करिब ३ दशक वागीश्वरी माविमा सँगै काम गरेछु । उहाँलाई २०४१ सालमै शिक्षिकाको रूपमा चिनेकी थिएँ वागीश्वरीमै । २०४५ को भक्तपुर काण्डको क्रममा उहाँलाई अझ नजिकबाट चिन्ने अवसर मिल्यो । हामी कक्षा ६–७ पढ्दै थियौँ । तर, २०५१ मा उहाँसँगै विद्यालयमा काम गर्ने अवसर मिल्यो । सँगै काम गर्दा उहाँलाई मैले सधैँ मेरो सहजकर्ताको रूपमा पाएँ । हामीजस्ता नयाँ शिक्षकशिक्षिकालाई विद्यार्थी र अभिभावकसँग कसरी व्यवहार गर्ने भन्ने कुरा सिकाउनु हुन्थ्यो । उहाँका व्यावहारिक ज्ञान पाएर हामी उत्साहित हुन्थ्यौँ ।
शोभा मिस वागीश्वरी माविका सबै विद्यार्थीका प्रिय शिक्षिका हुनुहुन्थ्यो । हामी उहाँलाई शिक्षक तथा कर्मचारीको अभिभावकजस्तै पाउँथ्यौँ । आज तिनै अभिभावक एकाएक गुमाउनुपर्दा हामीलाई ठूलो दुःख लागेको छ ।
आज पनि सम्झन्छु, पठनपाठनमा कुनै समस्या भएमा हामी जुनियर शिक्षकहरू उहाँसँगै सल्लाह माग्थ्यौँ । शिक्षक तलबको लागि मात्र होइन, शिक्षक बन्नु भनेको समाज र देशको विकासको बाटो कोर्न हो भन्नुहुन्थ्यो शोभा मिस । उहाँ विद्यार्थीलाई सक्षम, अनुशासित, इमानदार र देशभक्त बनाउनु शिक्षकको कर्तव्य हो भन्नुहुन्थ्यो । देशभक्तहरूको जीवन र सङ्घर्षका कथा बताउन हामीलाई उत्साहित गर्नुहुन्थ्यो । उहाँले वागीश्वरीको विद्यार्थी हित समितिको गतिविधि सञ्चालनमा पनि सहयोग गर्नुभएको कुरा अहिले पनि याद आइरहेको छ ।
उहाँले हामीसँग कहिल्यै राम्रो लुगा लगाउने, मीठो खाने, गरगहना लगाउनेबारे कुराकानी गर्नुभएन । बरु हामीबीच महिलालाई कसरी शिक्षित गर्ने, स्वास्थ्यसम्बन्धी ज्ञान कसरी फैलाउनेबारे छलफल हुन्थ्यो । स्वास्थ्य शिविर सञ्चालन गर्नेबारे पनि बेलाबेला कुराकानी हुन्थ्यो । पाहुना सत्कार गर्ने तरिकादेखि खानाको परिकार, बोलीवचनबारे हामी बेलाबेला कुराकानी गथ्र्यौँ । विद्यालयका हरेक ठूला कार्यक्रममा नयाँ परिकार बनाएर पाहुनालाई खुवाउने योजना बनाउनु हुन्थ्यो । उहाँ एक प्रकारले पाकशास्त्री हुनुहुन्थ्यो ।
शिक्षणबाट अनिवार्य अवकाश प्राप्त भएपछि पनि शोभा मिस विद्यालयका शिक्षक र विद्यार्थीबारे सोधिरहनु हुन्थ्यो । हाम्रो भेटघाट हुँदा आफ्नो रोग र समस्याबारे कुराकानी कमै गर्न चाहनुहुन्थ्यो । अन्तिम समयतिर घरमै भएको एउटा भेटमा भने हामी भेट्न गएका सबैका आँखा रसाएको थियो । तर, हामी उपायविहीन थियौँ ¤
सामान्य अवस्थामा शोभा मिस जहिलेसुकै हँसिलो देखिनुहुन्थ्यो । आफ्नो दुःख लुकाएर अरूलाई खुसी पार्ने सीप नै उहाँको विशेषता थियो । उहाँमा कुनै किसिमको लोभलालच, इष्र्या, घमण्ड हामीले पाएनौँ । उहाँको स्वभाव देख्दा क्यान्सर पनि केही होइनजस्तो लाग्थ्यो । उहाँसँग भेटेर फर्किँदा उल्टै हाम्रो मन बलियो भएजस्तो अनुभव हुन्थ्यो ।
जन्म र मरण त प्रकृतिको रित नै हो । तर, उहाँको मृत्यु हामी सबैको निम्ति भारी भइरहेको छ । तर, उहाँले खनेको बाटोलाई राजमार्ग बनाउने जिम्मेवारी हाम्रो काँधमा छ । शोभा मिसको अधुरो सपना पूरा गर्ने काममा सबै लाग्न सकौँ । यही कामनासाथ फेरि एक पटक शोभा मिसप्रति श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै, परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।
(नेपाल क्रान्तिकारी महिला सङ्घको केन्द्रीय समितिद्वारा सङ्घका कोषाध्यक्ष शोभा प्रधानको मङ्गलबार आयोजित श्रद्धाञ्जली कार्यक्रममा शिक्षक शोभा गोसाईले व्यक्त गर्नुभएको मन्तव्य–सं.)
Leave a Reply