भर्खरै :

सांसदहरू ! दिन कटाउने माना पचाउने !

‘नकच्चरोलाई लाज हुँदैन, चराको धोती हुँदैन’ भन्ने नेपाली समाजमा चल्ने उखान हो । यो उखान घूस खाने, ढिलासुस्ती गर्ने, अनियमितता गर्ने, पदको दुरूपयोग गरी अकुत सम्पत्ति कमाउने उच्चपदस्थ अधिकारी र कर्मचारीहरूमा मात्र होइन कति सांसदहरूमा पनि लागु हुन्छ । संसद्मा विभिन्न विधेयकबारे छलफल हुँदै छ । विधेयकभित्र के छ, विधेयक जनताको पक्षमा छ छैन, प्रस्तुत विधेयकमा के कस्ता बुँदाहरू संशोधन या थपघट गर्नुपर्छ भन्नेबारे कति सांसदलाई कुनै चिन्ता र चासो छैन । सांसदहरू संसद् भवन छिरे पनि नछिरे पनि कसैलाई मतलब छैन । गणपूरक सङ्ख्या नपुगेर कति बैठक स्थगित हुन्छ । बैठक कहिले केही समयको लागि त कहिले अर्को दिनसम्मको लागि स्थगित गरिएको हुन्छ । त्यो बेला सांसदहरू कहाँ गए, कहाँ पुगे ? गणपूरक सङ्ख्या नपुगेकै कारण बुधबारको सामाजिक सुरक्षा विधेयक पारितको कार्यसूची नै स्थगित भयो ।
दैनिकी हाजिरी २१८ जनाको उपस्थिति हुन्थ्यो । (गोरखापत्र, २३ असार २०७९) । कुनै प्रस्ताव तथा निर्णयार्थ पेश गर्न कम्तीमा एकचौथाइ सदस्य उपस्थित हुनुपर्ने संवैधानिक व्यवस्था छ । तर, बैठकमा ३ मिनेटको घण्टीपछि पनि गणपूरक सङ्ख्या पुग्दैन । गणपूरक सङ्ख्या नपुगेकै कारण बैठक पटक–पटक स्थगित हुन्छ । यसरी गणपूरक नपुगेको कारण धेरैपटक बैठक स्थगित भएको जानकारी सञ्चारमाध्यममा आइरहेकै विषय हो । गरिमामय पदमा बसेका, देशको नीति निर्माण गर्ने सांसदहरू नै बैठकमा उपस्थित हुँदैनन् । हाजिर गर्ने अनि आ–आफ्नो काममा जाने काम के दिन कटाउने माना पचाउने भएन ? हाजिर गरेर बैठकमा नबस्ने या अर्कै धन्धामा लाग्ने काम के सांसदलाई सुहाउँछ ? के त्यो पदको दुरूपयोग होइन ? बुधबार संसद्मा पेश भएको एक विधेयकमा विचार गरियोस् भन्ने प्रस्तावको क्रममा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले गणपूरक सङ्ख्या यकिनको माग गरे । सदस्य सङ्ख्या गन्दा ६५ मात्र पुग्यो । त्यसपछि १५ मिनेटको लागि बैठक स्थगित गरियो । पछि गणपूरक सङ्ख्या यकिन गर्दा बल्ल ७६ पुग्यो र बैठक सञ्चालन गरियो ।
हाजिर गरेर प्रतिनिधिसभामा नबस्ने सांसदहरूलाई जनताले चिन्नुप¥यो । ती सांसदहरूको नाम सार्वजनिक गर्नुप¥यो । सम्बन्धित दलले पनि त्यो दिन कुन कुन सांसदहरू कहाँ गए, कहाँ लागे ? छानबिन गर्नुप¥यो । ती सांसदहरू आफ्नो व्यापार व्यवसायमा लागे कि ! राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा लागे कि ! अर्कै होटेल, रेष्टुराँमा भुले कि ! यो अर्कैतिर ! सबैको चासोको विषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *