भूकम्पको स्मरणमा प्रवचन कार्यक्रम
- बैशाख १३, २०८१
भक्तपुर, २४ असार । “बच्चाको दिमाग खाली हुन्छ कि भरिएको ?”, “बच्चा आफूजस्तो बनाउने कि मैले सकिनँ उसले गरोस् भन्ने ?”, “बच्चालाई यस्तो गर् उस्तो गर् भन्ने कि नभन्ने ?”
शुक्रबार साँझ संस्थागत विद्यालय सङ्घ (इसान) ले आयोजना गरेको एक कार्यक्रममा शिक्षाविद् डा. विद्यानाथ कोइराला शिक्षकसँगै यस्तै प्रश्न सोध्दै हुनुहुन्थ्यो । विद्यार्थीलाई परामर्श तथा उत्प्रेरणा दिने तरिकाबारे विषय उत्थान गर्दै डा. कोइरालाले अभिभावकका इच्छा फरकफरक हुँदा विद्यार्थीमा तनाव बढेको उल्लेख गर्दैै अहिले विद्यार्थीले अज्ञात भविष्यको पछाडि दगुर्नु परेको भनाइ राख्नुभयो ।
उहाँले विद्यार्थीको इच्छाअनुसार विषयसँग जोड्दै विज्ञान, गणित, सामाजिक विज्ञानलगायतका विषयमा पढाउन सकिने तर्क गर्दै शिक्षकसामु आज बढी चुनौती थपिएको भनाइ राख्नुभयो । डा. कोइरालाले फरक प्रतिभाका केटाकेटीलाई फरकफरक किसिमको पढाइ गराउन सकिने भन्दै शिक्षक आफै अनुसन्धानकर्ता एवम् सिक्नेमान्छे हुनुपर्ने विचार राख्नुभयो । अभिभावकको बेफुर्सदीको कारण केटाकेटीसँग कुराकानीसमेत हुन नपाएको कारण डिप्रेसनका रोगी बढेको भन्दै उहाँले सहरीकरणले केटाकेटीलाई अलग बनाएको बताउनुभयो । तनाव कम गराउन बुद्धले सिकाएझैँ ध्यानविधि अपनाउन सकिने उहाँको तर्क थियो ।
डा. कोइरालाले केटाकेटीलाई सृजनशील बन्न उत्साहित गर्न सकिने भन्दै गरिखाने शिक्षा आवश्यक भएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “केटाकेटीलाई चुनाती दिनुस्, समूह बनाउनुुस्, सहयोग गर्नुस्, उनीहरू नयाँ विचारको निर्माण गर्छन् ।” उहाँले ज्ञानको हिसाबमा अन्तरपुस्ता जोड्नुपर्ने तर्क गर्दै भूकम्पपछाडि भक्तपुर आएका अस्ट्रेलियाका इन्जिनियरको समूहले सिकाउन आएका थियौँ सिकेर गयौँ भनेको स्मरण गर्नुभयो । उहाँको भनाइ थियो, “विद्यार्थीलाई पाठका सामग्री (कन्टेन्ट) भन्दा पाठको मूलभाव (कन्सेप्ट) बारे प्रस्ट पार्नुपर्छ । कन्टेन्ट त विभिन्न माध्यमबाट पाइहाल्छन् । कन्टेन्ट त विद्यार्थी आफै पढ्छन् । विद्यार्थीलाई सोच्न देऔँ । आफ्नो सन्दर्भमा जोड्न देऔँ । विद्यार्थी आफै गहिरिन थाल्छन् ।”
कार्यक्रममा संस्थागत विद्यालय सङ्घका केन्द्रीय अध्यक्ष प्रेमजन थापाश्रेष्ठ, सल्लाहकार सरोजराज गोसाई, महासचिव पुरुषोत्तम ग्वाछालगायतले कार्यक्रमको महत्वबारे विचार राख्नुभएको थियो ।
Leave a Reply