भर्खरै :

जुनसुकै पेशा अपनाए पनि पेशाप्रति इमानदारिता निर्वाह गर्नुपर्ने

जुनसुकै पेशा अपनाए पनि पेशाप्रति इमानदारिता निर्वाह गर्नुपर्ने

भक्तपुर, १२ असार । भक्तपुरका सार्वजनिक मा.वि.हरूको संयुक्त परीक्षा समितिले एसईई २०८२ को नतिजामा ३.६ भन्दा बढी जीपीए हासिल गरेका विद्यार्थीहरू र शतप्रतिशत विद्यार्थी उत्तीर्ण गर्न सफल विद्यालयको सम्मान गरेको छ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उहाँले विद्यार्थीहरूलाई बधाई एवं शुभकामना दिँदै आगामी दिन जुनसुकै विषय लिएर पढे पनि गहन अध्ययन गर्न सुझाव दिनुभयो ।
गुणस्तरीय शिक्षाको लागि परीक्षाको मर्यादा कायम गर्नुपर्नेमा जोड दिँदै उहाँले परीक्षा भरपर्दो र विश्वसिलो हुनुपर्नेमा समितिले ध्यान दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
परिस्थितिले मानिसको चाहना पनि फेर्न सक्ने चर्चा गर्दै उहाँले लेनिनको चाहना पत्रकार, माओको चाहना शिक्षक भए पनि देशको परिस्थितिले उहाँहरूलाई नेता बनाएको उदाहरण दिनुभयो । उहाँले भन्नुभयो, “परिस्थितिअनुसार जोसुकैले जेसुकै पेशा अपनाए पनि सबभन्दा मुख्य कुरा इमानदारी हुनुपर्छ ।”
मिलेर काम गर्ने सहकार्य संस्कार राम्रो भए पनि कहिलेकाहीँ सबैतिर सबैसँग मिलेर जान नसकिने पनि हुँदो रहेछ भन्दै उहाँले रवीन्द्रनाथ ठाकुरको एक्लै अघि बढ्ने भावको कवितांश सुनाउनुभयो ।
एक अर्को प्रसङ्गमा उहाँले राज्य र राष्ट्रको अर्थ एउटै होइन भन्ने कुरा पढेलेखेका बुद्धिजीवीहरूकै माझमा पनि भ्रम देखिन्छ भन्दै राष्ट्र जाति विशेषसँग सम्बन्धित भएकाले आफू राष्ट्रवादी नभई देशभक्त भएको प्रस्ट पार्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले विद्यार्थीको उच्च ग्रेडअनुसार संस्कार पनि उच्च हुनुपर्नेमा जोड दिँदै न्यून ग्रेड र फरक विषय लिई अध्ययन गर्ने अरू विद्यार्थीको पनि उच्च सम्मान गर्न जान्नुपर्छ भन्नुभयो ।
उच्च ग्रेडका विद्यार्थीको रोजाइ शिक्षा विषय किन नभएको भन्नेबारे चर्चा गर्दै उहाँले हालसम्मका कुनै पनि सरकारले शिक्षालाई प्राथमिकता नदिएको बताउनुभयो । उहाँले भन्नुभयो, “रास्वपाको निर्वाचन वाचा पत्रमा ‘आगामी दुई दशकसम्म शिक्षामा उच्च लगानी वृद्धि गर्ने’ कुरा उल्लेख छ तर चालु आ.व.मा १०.७५ प्रतिशत शिक्षामा लगानी भइरहेकोमा आगामी आ.व.मा. शिक्षाको लागि १०.२८ प्रतिशत मात्र छुट्याएको छ । यसबाटै वर्तमान सरकारको शिक्षाप्रतिको दृष्टिकोण प्रस्ट हुन्छ ।”
शिक्षाको सबैभन्दा तल्लो जग पूर्व प्रावितहका शिक्षकलाई अन्य देशमा विशेष सबैभन्दा महत्व दिए पनि यहाँ सबभन्दा उपेक्षित रहेकोमा सरकारको ध्यान नपुगेको बताउनुभयो ।
कार्यक्रममा आयोजक शारदा मा.वि.का प्रअ रोशनराज तुइतुईको सभापतित्वमा भएको उक्त कार्यक्रममा सरस्वती विद्याग्रह मा.वि.का प्रअ गनुराज राई र दोलागिरी मा.वि.का प्रअ शिवबहादुर खुलिमुलिले विद्यार्थीहरूलाई सजिलो बाटोभन्दा पनि कठिन बाटो रोजे भविष्य उज्ज्वल हुने सुझाव दिनुभयो । कार्यक्रममा स्वागत मन्तव्य शारदा मा.वि.का शिक्षक मैया लागेजुले राख्नुभएको थियो ।
कार्यक्रममा ३.६ भन्दा बढी जीपीए ल्याउने ७३ जना विद्यार्थी तथा ४ जीपीए ल्याउने वागीश्वरी मा.वि.की सविता श्रेष्ठ र शतप्रतिशत विद्यार्थी उत्तीर्ण गर्न सफल भुवनेश्वरी मा.वि.लाई विशेष सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *