भर्खरै :

शोभा प्रधानको मुस्कानले दिएको सन्देश

शोभा प्रधान नेपाल क्रान्तिकारी महिला सङ्घ र नेपाल क्रान्तिकारी शिक्षक सङ्घमा आबद्ध हुनुहुन्थ्यो । उहाँले जीवनको अन्तिम घडीसम्म सबैलाई मुस्कानले बिदाइ गर्नुभयो । क्रान्तिकारीहरूको असामयिक मृत्यु यस्तै हुँदोरहेछ । उहाँमा त्यस्तो कुनै व्यक्तिगत स्वार्थ थिएन । उहाँको स्वार्थ थियो, एक शिक्षक र एक क्रान्तिकारी महिलाको नाताले क्रान्तिकारी जनता तयार गर्ने । उहाँमा कसैलाई व्यक्तिगतरूपमा चित्त दुखाउनुपर्ने अनि ठूलो लोभ, इच्छा केही थिएन । इच्छा थियो, समाज परिवर्तनको । त्यसैले उहाँ मुसुक्क हाँसी सबैसँग बिदा लिएर कहिल्यै नफर्कने गरी संसारबाट बिदा हुनुभयो ।
उहाँको श्रद्धाञ्जली पदयात्रामा भारी मन लिएर उहाँको सम्मानमा समवेदना प्रकट गर्दै हामी प्रत्यक्ष अप्रत्यक्ष हजारौँ जनता सहभागी भयौँ । श्रद्धाञ्जली पदयात्रामा कहिल्यै नबिझ्ने उहाँको हँसिलो मुस्कानका फोटोहरू सँगसँगै मोटरमा फूलैफूलले सजाएको उहाँको पार्थिव शवपछाडि हजारौँ हामी भाव विह्वल हुँदै पैदल शवयात्रामा सहभागी भयौँ ।
महिला दिदीबहिनीहरूको अगाडि धेरै समस्याहरू छन्, धेरै चुनौतीहरू छन् । त्यसको हामीले डटेर सामना गर्नुपर्छ । त्यो रोई कराई गरेर होइन, अनि दयाको भिख मागेर पनि होइन । रोएर, दया र सहानुभूतिको भिख मागेर केही हुनेवाला छैन । यदि यसो हुँदो त भक्तपुर काण्डमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँलगायतका थुप्रै नेता तथा कार्यकर्ताहरूलाई २०४५ सालमा उहीँ बेला निर्दाेष हुनुहुन्छ भनेर ससम्मान छोड्नुपथ्र्याे, यातना नदिइनुपथ्र्याे । तर, उहाँहरूलाई निरङ्कुश अत्याचारी पञ्चायती व्यवस्थाका मतियारहरूले छोडेनन्, यातना र पीडा दिन छोडेनन् । भक्तपुरका हामी जनता सबै यसका भुक्तभोगी छौँ । बरु उनीहरूले उहाँहरूको मृत्युदण्ड मागे, आजीवन कारावासको सजाय मागे । तर, क्रान्तिकारी महिला दिदीबहिनीहरूको कसिएको मुठ्ठी उठाएर गरेको रात दिनको सङ्घर्षले, सबैको सहयोगले पार्टी अध्यक्ष बिजुक्छेँलगायत सबै बन्दी नेता कार्यकताको ससम्मान रिहा भयो । त्यसैको कारण पञ्चायती व्यवस्था आर्यघाट पुग्यो । देशभक्त नेताहरूलाई खसाल्न खनेको खाडलमा षड्यन्त्रकारी पञ्चायत व्यवस्था आफै अन्त्य भयो । हाम्रो जुझारु सङ्घर्षले नै उहाँहरूलाई रिहा गराउन हामी सफल भएका हौँ ।
हामीले बुझ्नुपर्ने कुरा जात मुख्य होइन वर्ग मुख्य हो । शोषक सामन्त वर्गले शोषक र सामन्त वर्गकै हित हेर्छ । गरिब शोषित पीडित वर्गले गरिब शोषित पीडित वर्गकै हित हेर्छ, सेवा गर्छ, सहयोग गर्छ । हामीले भक्तपुर काण्डको बेला हे¥यौँ । त्यसबेला हाम्रा नाता पर्ने, जात पर्ने वर्ग शत्रुले हामीलाई हुनसम्मको दुःख दियो, पीडा दियो । उनीहरूले नुनचुक छर्ने काम गरे । त्यसैले जातभित्र पनि शोषक र शोषित वर्ग हुन्छन् भन्ने कुरा हामीले बिर्सनु हुँदैन । नेवार, बाहुन, क्षेत्री, राई, लिम्बु, गुरुङ, तामाङ, साह, यादवभित्र पनि शोषक र शोषित वर्ग हुन्छन् भन्ने कुरा हामीले जनतामा चेतना फैलाउँदै जानुपर्छ ।
हाम्रो जीवनमा अनेक दुःखसुख आउलान् । हामी दुःख भयो भनेर आत्तिनु हुँदैन अनि सुख भयो भनेर मात्तिनु हुँदैन । हामीले सामान्य विचार र सोचलाई सधैँ उँचो लिएर बाँच्नुपर्छ । हामीले समाज परिवर्तनको विभिन्न जिम्मेवारी बहन गरेर काम गरेको फोटो सुट गर्नुपर्छ । तर, त्यो देखाउन होइन, प्रचार र प्रदर्शन गरेर नाम कमाउन पनि होइन । हामीले देखावटी र प्रचारमुखी होइन, हामीले समाजको लागि, देशको लागि परिणाममुखी काम गर्नुपर्छ । हामीले देखिने मात्र होइन नदेखिने गरी या गुप्तरूपमा सङ्घ, सङ्गठनमा बसे पनि नबसे पनि बढी काम गर्ने संस्कार बसाउनुपर्छ । यसले समाज रूपान्तरण र देशमा परिवर्तन ल्याउन ठूलो मद्दत पुग्छ । हाम्रो समाजका शत्रुहरू हरियो घाँसमा सर्प लुकेझैँ जहाँ पनि लुकेर, घुसेर बसेका हुनसक्छन्, रूप बदलेर बस्न सक्छन् । त्यसलाई ख्याल गरेर हामीले काम गर्नुपर्छ । हामीमा त्याग, तपस्या, सङ्घर्षको भावना भएन, हामी व्यक्तिगत लोभ र स्वार्थमा डुब्यौँ भने हामीलाई फसाउँदै त्यस्ता शत्रुहरू डस्न हरियो घाँसबाट सर्प निस्केझैँ हामीलाई दुःख दिन, बदला लिन फेरि उठेर आउनेछन् । त्यसैले हामीले लडाकू भावना लिएर सधैँ काम गरिरहनुपर्छ ।
हाम्रो अर्काे सबभन्दा ठूलो शत्रु रोगसँग पनि लड्नुपर्छ । सचेतना जगाउने काम गरेर अशिक्षित, गरिब, अबोध धेरै दिदीबहिनीहरूलाई हामीले बचाउनुपर्छ । हामीले सबै मिलेर गाउँ, ठाउँमा डाक्टर, स्वास्थ्यकर्मीहरू र स्वास्थ्य संस्थाको सहयोगमा थुप्रै स्वास्थ्य शिविरहरू राख्यौँ । सबै मिलेर यसलाई हामीले निरन्तरता दिनुपर्छ । यसबाट धेरै दिदीबहिनीहरूको ज्यान जोगिनेछ । हामीले विभिन्न भेला, सभा राखेर दिदीबहिनीहरू तथा दाजुभाइहरूलाई चेतना दिँदै विभिन्न रोगबाट बचाउनुपर्छ ।
हामी शिक्षकहरूको हकहितमा पनि लाग्यौँ, सङ्घर्षमा होमियौँ । हामी पटक–पटक पुलिसको पक्राउमा पनि प¥यौँ । यसले शिक्षकहरूको केही माग पूरा भयो । शिक्षकहरूले मजदुर र किसानको समस्याबारे पनि उठाउनुपर्छ । शिक्षकहरू समाज र देशको परिवर्तनमा, संसारका शक्तिराष्ट्रहरूले गरिब र अशिक्षित देश र जनतामाथि गर्ने अन्याय, अत्याचारको विरोधमा, थिचोमिचो र हस्तक्षेपको विरोधमा जनताको साथ र समर्थनमा लड्नुपर्छ । त्यस्ता समाज रूपान्तरण र देश बनाउनको लागि गरिने सङ्घर्ष, त्याग, तपस्या र योगदान कहिल्यै खेर जानेछैन ।
हामीले ईश्वरलाई पुकार्दैमा, लड्डू पेडा चढाउँदैमा, भजन कीर्तन गर्दैमा, यज्ञकोटीहोम गर्दैमा गरिब, दुःखी र अरूलाई दिएको दुःख, अन्याय, अत्याचार, थिचोमिचो हट्ने भए, विदेशीले थिचोमिचो र हस्तक्षेप गर्न छोड्ने भए सङ्घर्ष र क्रान्तिको जन्म नै हुने थिएन, बलिदानको आवश्यकता नै पर्ने थिएन । आजसम्मको संसारको उपलब्धि, परिवर्तन भनेकै त्याग, बलिदान, सङ्घर्षबाट नै प्राप्त हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *