भर्खरै :

भ्रष्टाचारविरोधी अभियानको सन्दर्भमा

हिजोआज समाजमा नैतिक मूल्य र मान्यतामा ¥हास आएको छ । जहाँ जता पनि आफ्नै स्वार्थमात्र हेर्छन् । उनीहरूले समाज, देश र जनता भन्न छोडेका छन् । सामाजिक मूल्यमान्यताविपरीतका काम र खराब आचरणले मानिसको नैतिक पतन हुन्छ । भ्रष्टाचार नैतिक पतनको एउटा कारण हो ।
भ्रष्टाचार, घुस र लेनदेन धनसँग मात्र सम्बन्ध छैन । हाम्रो बोलीचाली भाषामा सार्वजनिक धन सम्पत्ति व्यक्तिको लाभको निम्ति प्रयोग गर्नु पनि भ्रष्टाचार मानिएको छ । तर, त्यतिले मात्र भ्रष्टाचारको परिभाषा पूरा भएको मान्न सकिँदैन । भ्रष्टाचार अधिकारको दुरूपयोग पनि हो । आफ्नो फाइदाको निम्ति विनियमहरू लागू गर्नु, आफ्नो मान्छेलाई राम्रो ठाउँ दिनु, मूल्याङ्कनविना आफ्नो मान्छेलाई बढुवा दिनु पनि भ्रष्टाचार हो । सार्वजनिक सम्पत्तिलाई दुरूपयोग गरी आफ्नो फाइदाको निमित गर्ने यस्ता क्रियाकलापलाप पनि भ्रष्टाचार नै हो ।
ट्रान्सपरेन्सी इन्टरनेसनलका अनुसार दिइएको अधिकार निजी लाभको लागि प्रयोग गर्नु भ्रष्टाचार हो । यसबाट के स्पष्ट देखिन्छ भने शक्ति तथा प्रभावलाई अनुचित या स्वार्थपूर्ण प्रयोग नै भ्रष्टाचार हो ।
भ्रष्टाचार प्राचीन कालदेखि समाजमा रही आएको छ । यो समाजको हरक्षेत्रमा छ र समाजका कुनै पनि क्षेत्र भ्रष्टाचारबाट मुक्त छैन । अशिक्षाका कारण पनि यहाँ भ्रष्टाचार बढी भएको हो ।
भ्रष्टाचार नेपालको प्रमुख समस्या हो । भ्रष्टाचार प्रजातन्त्र पुनःस्थापनापछि सङ्क्रमणकै रूपमा फैलिएको छ । प्रजातन्त्रसँगै भ्रष्टाचार पनि मौलाएको छ । पञ्चायत कालमा राजनैतिक निरङ्कुशताका कारण प्रशासनिक काम कडा थियो र घुस लिए पनि टेबलमुनिबाट लिइन्थ्यो भने प्रजातन्त्रको पुनःस्थापनापछि भ्रष्टाचार खुलमखुला भएको छ ।
भ्रष्टाचार व्यक्तिको खराब आचरण हो । खराब आचरण भएका व्यक्तिहरूबाट नै भ्रष्टाचार हुने गर्छ । नेपालको राजनीतिमा पनि टाठाबाठा र खराब आचरणका मानिसहरूको बोलवाला छ । प्रजातन्त्रको पुनःस्थापनापछिको राजनैतिक क्रियाकलाप फोहोरी खेल भएको छ । त्यतिबेला राजनीतिक नेताहरू सत्ता र पैसाको निमित जे पनि गर्ने र नैतिक मूल्य मान्यताको सीमासमेत नाघे । हरेक क्षेत्रमा भागबन्डाको राजनीति भयो । जसको कारण राज्यको हरेक क्षेत्रमा त्यसको प्रभाव पर्यो । राज्यका कुनै पनि यन्त्र भ्रष्टाचारबाट पर छैन । कर्मचारीहरूले आफ्नो दायित्व बिर्से र घूसबिना काम गर्न छोडे । राजनीतिक विकृतिका कारण समाज र जनतामा त्यसको खराब प्रभाव पर्दै छ ।
लोकतान्त्रिक सरकार आएपछि नेताहरूको आचरणमा सुधार र भ्रष्टाचार नियन्त्रण हुने अपेक्षा जनताले गरेका थिए । तर, विकृतिको संस्कारमा हुर्केका नेताहरूमा परिवर्तन आएन
। पदविना रहन नसक्ने र पदमै पैसा तथा प्रतिष्ठा देख्नेहरूले कसरी पदको महिमा बिर्सन सक्छन् ? पद नै ठूलो सम्झने नेता तथा कार्यकर्ताहरू भ्रष्टाचार र अनियमितता गर्न पछि परेनन् । भ्रष्टाचारमा कमी नआउनुको यही प्रवृत्ति दोषी छ ।
नेपालको राजनैतिक क्षेत्रमा प्रजातन्त्रको पुनःस्थापनापछि अटुटरूपमा सरकारमा बस्दै आएको दुई पार्टीमात्र छन् । एक, आपूmलाई मात्र सच्चा कम्युनिस्ट पार्टी भन्ने एमाले र अर्को नेपाली काङ्ग्रेस । यी दुई पार्टी भिन्न सिद्धान्तका पार्टी भए पनि चरित्र र आचरणमा कुनै भिन्नता देखिँदैन । दुवै पार्टीका मन्त्री, सांसद र कार्यकर्ताहरू भ्रष्टाचार र अनियमिततामा नमुछेको कमै होला । देश सङ्घीयतामा गएपछि हिजो सिंहदरबारको अधिकार गाउँ–गाउँमा गएजस्तै सिंहदरबारमा हुने भ्रष्टाचार गाउँ–गाउँमा पुगेको छ, वडा वडामा सरेको छ । देशका ठूला पार्टीहरू भ्रष्टाचारीहरूलाई कारबाही गर्नुको सट्टा भ्रष्टाचार गर्न छुट दिइरहेको छ । यसले गर्दा भ्रष्टाचार संस्थागत हुन गएको छ ।
भ्रष्टाचार पूरै निर्मुल त गर्न सक्तैन तर न्यूनीकरण गर्न सकिन्छ । त्यसको लागि राजनीतिक प्रतिबद्धता आवश्यक पर्छ । नेपालमा त्यो सम्भव देखिँदैन । किनकि नेताहरूको टाठाबाठापन र खराब आचरणलाई निमिट्यान्न पार्नु जटिल विषय हो । तर, त्यस्ता खराब आचरण भएकाहरूलाई कारबाही गर्न सकिन्छ । पार्टीबाट निष्कासित गर्न सकिन्छ । त्यसो गर्दा पार्टीको छवि पनि राम्रो हुने र खराब आचरण भएका व्यक्तिहरू पनि भष्टाचार गर्न निरूत्साहित हुन्छ र भ्रष्टाचार कम हुन्छ । यस कुरामा नेमकिपा सचेत देखिन्छ । नेमकिपाले साउन २ गतेलाई भ्रष्टाचारविरोधी दिवसको रूपमा मनाउँदै आएको छ । भ्रष्टाचारविरूद्ध अभियानलाई अघि बनाउँदै उक्त पार्टीले नियमितरूपमा भ्रष्टाचारविरोधी गतिविधि गर्नुका साथै सरकारी भ्रष्टाचारीबारे सडक र सडनमार्फत जनतालाई सचेत पार्ने काम गर्दै आएको छ । यस किसिमको अभियान अरू पार्टीहरूले पनि गर्नुपर्दछ । ताकि भ्रष्टाचारीहरूले टाउको उठाउन नसकून् र भ्रष्टाचारीहरूलाई कारबाही गर्न कार्यकर्ता पङ्क्ति नै उत्साहित होस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *