भर्खरै :

पदकै लागि पार्टीमा जुट र फुट !

देशमा व्यवस्था बदलियो । फर–फरक राजनीतिक दलका नेताहरूले पटक–पटक शासन गरे । प्रजातान्त्रिक अभ्यास भयो, सरकारको नेतृत्व फेरियो । तर, देशमा राजनीतिक संस्कार र संस्कृतिको अझै विकास भएको देखिँदैन । दलका नेताहरू दलगत र व्यक्तिगत स्वार्थमा अल्झिए । सरकारमा रहेका दलका नेता र मन्त्रीहरूको विचार एकापसमा बाझिएको छ । सरकारले ल्याएको विधेयक र योजनामै कति नेता र मन्त्रीहरू नै विश्वस्त छैनन् । तिनीहरूले एकले अर्कोलाई आशङ्का गर्छन् । आफू पदमा पुग्न या मन्त्री बन्न एकले अर्काको खुट्टा तान्न पछि पर्दैनन् । अरूको खुट्टा तानेर, लडाएर अघि बढ्ने नेता तथा मन्त्रीहरूको बानीलाई कसरी सही मान्ने !
एउटै दलका नेताहरूभित्र विचार नमिल्दा, राष्ट्रिय सवालमा उठेका विषयमा एकमत नहुँदा, पार्टीभित्र सल्लाह गरेरभन्दा आफूखुसी निर्णय गर्दा एक–अर्काबिच आशङ्का बढेको, विश्वासको दूरी बढेको कुरा जसपाभित्र देखिएको अलग अलग बसेको केन्द्रीय समितिको बैठकले स्पष्ट पार्छ । हुन त यो जसपाको आन्तरिक विवाद हो । तर, त्यो विवादभित्र पद र विचारको कुरा जोडिएको छ । विचारमा विवाद नआई बाबुराम भट्टराई र उपेन्द्र यादवले अलग अलग केन्द्रीय समितिको बैठक बस्नुपर्ने आवश्यकता हुँदैन । कुन दल कहिले फुट्छ र जुट्छ थाहा हुँदैन । फुट र जुटभित्र पदकै बढी चर्चा हुन्छ । यो विचार र सिद्धान्तको आधारमा राजनीति नगर्दाको परिणाम हो ।
दल ठूलो देखाउन, दल ठूलो बनाएर निर्वाचनमा बढीभन्दा बढी जित्ने ध्येयले दल एकीकरण गरेको कारण राजनीतिक दलमा उतारचढाव भइरहेको हो । नेका र एमालेभित्र पनि नेताहरूबिच मतभेद देखिएको छ । नेका सभापति शेरबहादुर देउवाले पार्टीलाई विधि र विधानअनुसार सञ्चालन नगरेको शेखर कोइराला पक्षले आरोप लगाएको छ । देउवाले गुटगट कुरा गरेर किचकिच नगर्न कोइराला पक्षलाई आग्रह गरेका छन् । आफूलाई नजिस्क्याउन देउवा असन्तुष्ट पक्षलाई आग्रह गर्दै छन् । पार्टीभित्र हिन्दू राष्ट्रको एजेन्डा भित्रिएको छ ।
एमालेमा पनि भीम रावल र घनश्याम भुसालहरूको पार्टी विधिसम्मत नचलेको, व्यक्ति आफूखुसीले पार्टी चलाइरहेको आरोप छ । त्यस्तै विवाद एकीकृत समाजवादीमा देखिएको छ । दलभित्र देखिएका यी घटनाक्रमहरूले सत्तासीन तथा ठूला राजनीतिक दलका नेताहरूमा अडान नभएको र पदको निम्ति राजनीति गरिरहेको आभास हुन्छ । सिद्धान्त र विचारमा अडान, दृढता नभएकै कारण देशमा सङ्कट निम्तिरहेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *