इरानी विश्वकप टोलीमाथिको व्यवहारले पश्चिमा र फिफाको दोहोरो चरित्र पर्दाफास भएको छ !
- असार १९, २०८३
भक्तपुर, ३२ असार । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समितिको आयोजनामा भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा शनिबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले पार्टीले महालेखा परीक्षकको ५९ औँ प्रतिवेदनमा कुल बेरूजु ४ खर्ब ८३ अर्ब रूपियाँ पुगेको र यसमध्ये २३ अर्ब ७४ करोड रूपियाँ असुल गर्नुपर्ने उल्लेख भएकोले यसको अर्थ शासक दलहरू सबै भ्रष्टाचारमा संलग्न भएको पुष्टि हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “निर्वाचनमा करोडौँ रुपियाँ खर्च गरेर जितेका पार्टी र उम्मेदवारहरूले सरकारको प्रम र मन्त्री भएकोले भ्रष्टाचार नियन्त्रण गर्नसक्दैनन् । विदेशी ऋण १८ खर्ब रुपियाँभन्दा बढी पुग्यो । रोपाइँको बेला किसानलाई रासायनिक मल उपलब्ध भएन । चामल, दाल, तरकारीसमेत भारतबाट आयात गरेर नेपाल आत्मनिर्भर हुँदैन । यो श्रीलङ्काको बाटोमा नेपाल अघि बढेको सङ्केत हो ।”
“श्रीलङ्कामा राष्ट्रपति भवनमा प्रदर्शनकारी प्रवेश गरे, प्रधानमन्त्रीको सरकारी निवासमा आगलागी गरे । नेपालमा पनि सिंहदरबार र बालुवाटारमा प्रदर्शनकारी प्रवेश नगर्ला भन्न सकिन्न”, सचिव सुवालले बताउनुभयो ।
एकजना सरकारी सचिवले सिंहदरबार भ्रष्टाचारको अखडा भएको आरोप लगाए भने एक राजनीतिक पार्टीका नेताले सिंहदरबारमा बाँदर पसेको बताएको सचिव सुवालले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपाले भ्रष्टाचारविरोधी आन्दोलन चालू राखेको छ । नेपालमा भ्रष्टाचारविरोधी पार्टी नेमकिपा नै एउटा रहेको छ । आम सञ्चारमा शासक दलहरूको भ्रष्टाचार र अनियमितताका पृष्ठहरू हरेक दिन भरिएका छन् ।”
नेक्राकिसङ्घका केन्द्रीय उपाध्यक्ष एवं भक्तपुर जिल्ला अध्यक्ष गोविन्द दुवालले विगतको किसान आन्दोलनबाट शिक्षा लिई नयाँ पुस्ता अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै भ्रष्टाचारविरोधी किसान आन्दोलन वर्गसङ्घर्ष नै भएको बताउनुभयो ।
“पुँजीवादी व्यवस्थाले कामदार जनतालाई सुख नदिने स्पष्ट छ । पुँजीवादी व्यवस्थाको विकल्प समाजवादी व्यवस्था नै हो । समाजवादी व्यवस्थामा कामदार जनताको भविष्य उज्ज्वल हुनेछ”, उहाँले भन्नुभयो ।
“सरकारले उन्नत जातको बिउबिजन, रासायनिक मलको व्यवस्था समयमा गर्न नसक्दा कृषि उत्पादन घट्ने निश्चित छ, यसले देशमा थप खाद्य समस्या हुनेछ, यसको दोषी सरकारमा गएका पार्टीहरू नै हुन्”, उपाध्यक्ष दुवालले भन्नुभयो ।
उहाँले भ्रष्टाचारविरोधी आन्दोलनको स्मरण गर्नु भनेको नयाँ पुस्तालाई भ्रष्ट आचरणबाट सजग गर्नु हो भन्नुभयो ।
भ्रष्टाचारविहीन समाज समाजवादी व्यवस्थामा मात्र सम्भव हुने उहाँले बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष गङ्गाराम ज्याख्वको सभापतित्वमा भएको उक्त कार्यक्रममा पूर्णगोपाल राजचल र आर. प्रजापतिले पनि बोल्नुभएको थियो ।
Leave a Reply