भर्खरै :

दक्षिण एसियाली साना देशमा संरा अमेरिकाको कुदृष्टि

विगतमा निकै लामो समयसम्म दक्षिण एसियाका केही साना देशलाई संरा अमेरिकाले आफ्नो आक्रामक रणनीतिबारे बेखबर राखेको थियो । संरा अमेरिकासँग सैनिक सहकार्य गर्न ती देशलाई केही कुराले मात्र उत्साहित बनाउन सक्छ । तर, नेपालले हालै संरा अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) बाट टाढा बस्न निधो गर्नु अर्थपूर्ण छ । नेपालले संरा अमेरिकाले अघि सारेको प्रस्ताव अस्वीकार ग¥यो । तर, विगत केही वर्षदेखि संरा अमेरिकाले बारम्बार दक्षिण एसियाली देशहरूलाई दबाब दिँदै आएको छ । यसलाई संरा अमेरिकी हिन्द–प्रशान्त रणनीतिको प्रवद्र्धन गर्ने सङ्केतको रूपमा मात्र लिइनु हुन्न । बरु चीनविरुद्ध संरा अमेरिकी रणनीतिक प्रतिस्पर्धाको प्रतिबिम्ब मान्नुपर्छ ।
डोनाल्ड ट्रम्प राष्ट्रपति छँदा संरा अमेरिकी हिन्द–प्रशान्त रणनीतिको एउटा प्रमुख विशेषता भनेको सुरक्षालाई पहिलो र अर्थतन्त्रलाई दोस्रो प्राथमिकतामा राख्नु थियो । सन् २०१९ को हिन्द–प्रशान्त रणनीतिको प्रतिवेदनमा ‘थ्रीपी’ रणनीति अघि सारिएको छ । थ्री पी भन्नाले तयारी (प्रिपेडनेस), साझेदारी (पाटनरसीप) र सञ्जालबद्ध क्षेत्र निर्माण (प्रोमोटिङ अ नेटवर्कड रिजन) हुन् । प्रतिवेदनमा भनिएको छ, “दक्षिण एसियामा हामी भारतसँग हाम्रो प्रमुख सुरक्षा साझेदारी गरिरहेका छाँै भने श्रीलङ्का, माल्दिभ्स, बङ्गलादेश र नेपालसँग साझेदारीको तयारी अघि बढाइरहेका छौँ ।”
संरा अमेरिकाको जालोले दक्षिण एसियाली देशहरूलाई दबाबमा पारेको छ । संरा अमेरिकाले श्रीलङ्कासँग अधिग्रहण र अन्तर सेवा सहमति (एसीएसए) गरिसकेको छ भने अन्य सैनिक वा सुरक्षा समझदारीमा वार्ता चलिरहेको छ । माल्दिभ्ससँग पनि संरा अमेरिकाले रक्षा र सुरक्षा सम्बन्धको खाकामा हस्ताक्षर गरिसकेको छ ।
हिन्द प्रशान्त रणनीतिबारे जो बाइडेनको भनाइमा हिन्द महासागर क्षेत्रको उल्लेख बारम्बार गरिएको छ । तर, दक्षिण एसियाका कुनै पनि देशको नाम भने यसपालि उल्लेख गरिएको छैन । बाइडेन सरकारले देखाएको यो प्रस्ट परिवर्तन हो । यो परिवर्तन संरा अमेरिकाले दक्षिण एसियाका साना देशहरूका सैनिक मुद्दामा कम महत्व दिएकोले आएको होइन । बरु, पछिल्ला वर्षका सफलता र असफलताका अनुभवको समीक्षा गर्दै अपेक्षा कम गर्ने र अन्ततः नियन्त्रण गर्ने प्रस्ट रणनीति अघि सारेको मात्र हुनसक्छ । यसै रणनीतिअन्तर्गत भविष्यमा साना दक्षिण एसियाली देशहरूसँग संरा अमेरिकाले सुरक्षा सहकार्य बलियो बनाउने योजना पनि पर्दछ ।
एकातिर बाइडेन सरकारले चीनसँग नयाँ शीतयुद्ध नगर्ने भने पनि उसले चीनका छिमेकीलाई ‘आकारमा ल्याएर’ चीनलाई ‘आफ्नो व्यवहार बदल्न’ बाध्य पार्नेमा जोड दिँदै आएको छ । दक्षिण एसिया चीनको लागि महत्वपूर्ण छिमेकी हो । ‘चीनका छिमेकीलाई आकारमा ल्याउने’ भन्दै संरा अमेरिकाले बेल्ट एन्ड रोड परियोजनामा साझेदार बनेका दक्षिण एसियाली देशहरूलाई पेलिरहेको छ । ती देशसँग दुईपक्षीय सैनिक सम्बन्ध स्थापना गर्न संरा अमेरिकाले प्रयत्न गरिरहेको छ । त्यस्तो सैनिक सम्बन्ध स्थापना भएपछि संरा अमेरिकाले त्यहाँ राजनीतिक र आर्थिक प्रभाव पनि बिस्तार गर्नसक्नेछ ।
अर्कोतिर, दक्षिण एसियाली देशहरूसँग चीनको दीर्घकालीन मैत्री सम्बन्ध बुझेर संरा अमेरिकाले विगतका अनुभवबाट सिकेर बढी चुलबुल गरे आफै खाल्डोमा जाकिने कुरा सिकेको हुनुपर्छ । चीनले दक्षिण एसियाका ती देशहरूसँग बृहत् र बहुपक्षीय सैनिक सहकार्य कायम राखेको छ । सैन्य आदानप्रदान, तालिम, हातहतियार र सैनिक सामग्रीमा पनि ती देशसँगको चीनको सम्बन्धले उल्लेख्य परिणाम दिएको छ । यस्तो सम्बन्धले उनीहरूबीचको कूटनीतिक राजनीतिक, आर्थिक र व्यापारिक सहकार्यमात्र बलियो बनाएको छैन । बरु कमजोरलाई सम्मान गर्ने र सैनिक सहकार्यको क्षेत्रमा आपसी सम्मानको सिद्धान्त कार्यान्वयन गर्ने चीनको विदेश नीतिको प्रस्ट कार्यान्वयन हो ।
यसप्रकार, दक्षिण एसियाका साना देशहरूले वर्षौँदेखि सर्तसहितका संरा अमेरिकी सैनिक सहायता अस्वीकार गर्नुको कारण बुझ्न सकिन्छ । उनीहरूले आफ्ना राष्ट्रिय हितको रक्षा र चीनसँगको निकै अघिदेखिको मित्रता कायम गर्न यस्तो गर्दै आएका छन् । अहिले संरा अमेरिकाले चीनलाई आफ्नो घातक प्रतिस्पर्धीको रूपमा प्रस्तुत गर्दै आएको छ । संरा अमेरिकाका यस्तो व्यवहारले दक्षिण एसियाका साना देशमा उसको दबाब थप बढ्दै जान सक्छ । संरा अमेरिकाले ती देशलाई कुनै एउटा पक्ष लिन बाध्य बनाउन सक्छ ।
एसपीपीप्रति नेपाली जनताको तीव्र विरोधबाट संरा अमेरिकाले भविष्यमा पक्कै केही पाठ सिकेको हुनुपर्छ ।
(लेखक सिन्ह्वा विश्वविद्यालयको राष्ट्रिय रणनीति प्रतिष्ठानका अनुसन्धान विभागका निर्देशक हुनुहुन्छ ।)
द ग्लोबल टाइम्सबाट अनुदित सामग्री
अनुवादः सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *