अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
का. शोभा प्रधानको निधनको खबर सुनेदेखि अहिलेसम्म पनि विश्वास लागेको छैन । नेमकिपा गुराँस गाउँपालिका समितिको असार ८ गतेको बैठकपछि घर फर्कदै गर्दा दुःखद खबर सुनेँ । एक अभिभावक, गुरु, असल साथी, कर्तव्यनिष्ठ कार्यकर्ता, सबल नेतृत्व हामीले गुमायौँ । देश, समाज र पार्टी सङ्गठनलाई अपूरणीय क्षति भएको छ । नादेज्दा क्रुप्सकाया, क्लारा जेटकिन, रोजा लक्जेम्बर्ग, अन्ना लुइस स्ट्रङ्ग, जेनी माक्र्सजस्ता नेतृहरूसँग तुलना गर्न लायक एक कामदार वर्गको नेतृ हुनुहुन्थ्यो, शोभा भाउजू ।
नादेज्दा क्रुप्सकायाले भन्नुभएजस्तै वर्गीय मुक्तिका निम्ति पुरुष र महिलाहरू सँगसँगै लड्नुपर्छ । मजदुर, किसान, शिक्षक, महिला, युवा र सम्पूर्ण कामदार वर्गको न्यायपूर्ण सङ्घर्षमा उहाँले निरन्तर साथ र सहयोग दिनुभयो । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)को राजनीतिक उचाइ प्राप्ति र कामदार वर्गको सेवामा भाउजूको अहम् भूमिका रहेको छ । माक्र्सलाई जेनीको साथ र सहयोग जत्तिकै सहयोग उहाँले पनि गर्नुभयो ।
आफू क्यान्सर रोगबाट पीडित हुँदाहुँदै पनि न्यायपूर्ण सङ्घर्षमा सहभागी हुनु कामदार वर्गप्रति ठूलो सम्मान हो । महिलाहरूले आफ्नो रोग र दुःख लुकाउने परिवेशमा क्यान्सरको बारेमा जनचेतना जगाउनु महान् कार्य हो । भाउजूले स्तन क्यान्सरपश्चात् ‘केटीहरू’ बुलेटिनको अङ्क १३ मा लेख्नुभएको लेखले धेरैलाई क्यान्सर रोगबारे ज्ञान, चेतना र लड्ने शक्ति प्रदान गरेको छ । उहाँकै अग्रसरता र सहभागितामा भक्तपुरलगायत देशका विभिन्न ठाउँमा स्वास्थ्य शिविरहरू सम्पन्न भए । परिवर्तनका निम्ति कोही न कोहीले योगदान गर्नैपर्ने हुन्छ ।
उहाँ भन्नुहुन्थ्यो, “साँच्चै नै हाम्रो जीवन सङ्घर्षमय रहेछ, कहिले रोगसँग, कहिले समाजसँग, कहिले अन्यायविरुद्ध, कहिले विरोधीहरूसँग हरेक किसिमबाट हामी सङ्घर्ष गरी नै रहेका हुन्छौँ ।” जीवनमा सङ्घर्ष गर्दै उहाँको भौतिक जीवन समाप्त भयो । तर, उहाँले सङ्घर्षशील भावना, आमूल परिवर्तनको चाहना र कामदार वर्गप्रतिको माया सधैँ हामीबिच छरेर जानुभयो ।
एक जनाले धेरै भूमिका एकै समयमा निर्वाह गर्नसक्नु नै उहाँको विशेषता थियो । विद्यालय, पार्टी र महिला सङ्गठन, घर–परिवार र समाजमा उहाँको गहिरो योगदान रहेको छ । त्यसमा उहाँले निराश र दुःख मनन कहिल्यै पनि गर्नुभएन । जति धेरै घरमा पाहुना आए पनि हाँसेर सत्कार गर्ने, आफैले खाजा–चिया तयार गरी उहाँ खुवाउने गर्नुहुन्थ्यो । भाउजूको हँसिलो अनुहार, सरल व्यवहार र मायालु बोलीले प्रभावित नहुने मानिस सायदै होलान् ।
भेट हुनासाथ पार्टी सङ्गठन र घरपरिवारको बारेमा उहाँ सोधपुछ गरिहाल्नुहुन्थ्यो । विभिन्न व्यवहारिक पक्ष र अन्य अनुभव सुनाउनुहुन्थ्यो । २०४५ सालको राज्यस्तरबाट रचिएको षड्यन्त्र ‘भक्तपुर काण्ड’ को तितो अनुभव राख्नुहुँदा भित्र–भित्रै रिस उठ्थ्यो । प्रतिक्रियावादी राज्यसत्ताविरुद्ध सङ्घर्ष गर्ने र आमूल परिवर्तन गर्ने दृढ इच्छाशक्ति मनमनै लिने गर्थेँ । उहाँले दिनुभएको शिक्षा अन्य महिला दिदीबहिनीहरूको लागि प्रेरणाको स्रोत बन्यो ।
जेनी माक्र्सले कार्ल माक्र्सलाई सहयोग नगरेका भए माक्र्सको राजनीतिक जीवन अधुरो र अपुरो हुने थियो । शोभा प्रधानको राजनीतिक र पारिवारिक साथ र सहयोग नभएको भए का. रोहितलाई कामदार वर्गको नेतृत्व गर्न सजिलो हुने थिएन । नेमकिसङ्गठन हुँदै नेमकिपाको राजनीतिक सफलता सायदै प्राप्त हुने थियो । शोभा प्रधान विद्यालयमा असल र योग्य शिक्षिका, महिला र शिक्षक सङ्गठन तथा पार्टीमा सक्रिय, जुझारु, सङ्घर्षशील र क्रान्तिकारी कार्यकर्ता र उदाहरणीय गृहिणी हुनुहुन्थ्यो ।
देश, समाज, पार्टी सङ्गठन र कामदार वर्गप्रति गरेको योगदानको अनुसरण गर्दै आमूल परिवर्तको निम्ति देश, समाज र कामदार वर्गको लागि आफूलाई समाहित गर्नु नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुुनेछ । उहाँले देखाएको बाटोमा निरन्तर सङ्घर्ष गर्दै अगाडि बढ्नु नै उहाँप्रति सम्मान हुनेछ । उहाँको विचार, सिद्धान्त र व्यवहारले हामीलाई सम्झाइरहनेछ । अन्त्यमा, भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।
Leave a Reply