सरकारी विज्ञापन निषेध गर्ने सरकारी निर्णय गलत साबित
- असार ३१, २०८३
रात–दिन, घाम–पानी, हिलो–मैलो नभनी पसिना बगाए पनि किसानहरूको जीवन सहज देखिँदैन । जति श्रम गरे पनि उनीहरूले श्रमअनुसारको उचित फल पाउँदैनन् । तिनै किसानहरूको जीवन कहिले अतिवृष्टि, कहिले अनावृष्टि त कहिले बाढी–पहिरो र डुबानका कारण बाली नालीको क्षति भइरहेका छन् र दुःखमय जीवन बिताउन भइरहेका छन् । कहीँ पानी परेर खेतै बगाउँछ र सोत्तर हुन्छ भने कहीँ पानी नपरेर खेत बाँझो रहन्छ । असार महिनासँगै कहीँ रोपाइँ सकिसकेको छ, कहीँ बाढीका कारण रोपाइँमा क्षति भएको छ भने कहीँ पानी नपरेका कारण रोपिएका धानमात्र होइन रोप्न बाँकी रहेको बिउ ब्याडमै सुकेको खबर छ ।
सिँचाइ र वर्षा नहुँदा मध्य तराईको बारा र पर्साका किसानको बिउ ब्याडमै सुक्न थालेकोले किसानहरू चिन्तित छन् । असार सकिसकेपछि पनि पर्याप्त पानी नपर्दा रोपाइँ हुन सकेको छैन । पानी नपरेको कारण पर्सा, बारा र रौतहटका सयौँ बिघा खेत अहिले धुलाम्त्mैँ बनेको छ । साउन ३ गते प्रकाशित ‘राजधानी’ दैनिकमा ब्याडमै सुक्यो बिउ, ‘इन्द्र पुकार्दै किसान’ शीर्षकको समाचार छापियो । सोही दिनको अन्नपूर्ण पोस्टमा ‘पानी परेन, सिँचाइ छैन, धान खेतमा धाँजै–धाँजा’ शीर्षकको समाचार छापियो । समाचारमा साउन लागे पनि वर्षा नहुँदा तराईका खेतखेतमा धाँजा फाँटेको उल्लेख छ । अलि अलि पानी परेपछि रोपिएको धान खडेरीले रोपो पहेँलिएको छ । कति ठाउँमा अझै खेतै बाँझो छ । अनावृष्टि र अतिवृष्टिले मात्र होइन किसानहरू समयमा मल नपाएर पनि चिन्तित छन् । सिँचाइको व्यवस्था हुँदैन । कहिले प्राप्त बिउ म्याद नाघेको या कमसल हुन्छ र बाली नै लाग्दैन । कृषिऔजार सस्तो हुँदैन । यी यावत् समस्याका कारण पुस्तौँदेखि खेतीपातीमा काम गर्दै आएका किसानहरूको जीवनस्तर खासै माथि उठेको पाइँदैन । समयमा रासायनिक मल नआउने र कहिलेकाहीँ आए पनि गुणस्तरहीन, म्याद नाघेको आउँछ र बाली सप्रिँदैन । यस्ता समस्याहरू किसानहरूले वर्षैपिच्छे भोगिरहेका छन् । अनि कसरी किसानहरूको जीवनस्तर उठ्छ ?
सरकार समयमा मल ल्याउँदैन । म्याद नाघेको बिउ परेर बाली नलागे पनि किसानले क्षतिपूर्ति पाउँदैन । बाढी पहिरोले बाली क्षति भएर भोकभोकै मरे पनि सरकारलाई मतलब हुँदैन । किसानलाई प्रकृतिले मात्र होइन सरकारले पनि ठगेको छ । एकातिर किसानहरू आकाश हेर्दै पानी पर्ला कि भनी थुक निलेर बस्न बाध्य छन् भने अर्काेतिर श्रम र पसिना बगाए पनि खान नपाएका, खान समस्या भएका किसानहरूलाई सरकारले केही व्यवस्था गरेको देखिँदैन । देशको लागि अन्न र तरकारी फलाउने किसान मरे मरोस् सरकारले कुनै मतलब राख्दैन । एमालेको पालामा पनि त्यही हविगत ! माओवादी केन्द्र र एकीकृत समाजवादी दल समावेश भएको नेकाको सरकारको पनि त्यही हविगत ! वर्षैपिच्छे किसान यस्तै समस्या भोग्न बाध्य छन् । पीडामा परेका यस्ता किसानको जीवन सुनिश्चित गर्ने काम राज्यले गर्नुपर्छ ।
Leave a Reply