भर्खरै :

क्यान्सरसँगको लडाइँमा हामीले जित्नुपर्छ

“तपाईँ मेरो स्थानमा भएको भए के गर्नुहुन्थ्यो ?”, लामो सास तान्दै मैले डाक्टरसित सोधेँ ।
आइसियूका डाक्टरले उत्तर दिनुभयो, “म भए आमालाई भेन्टिलेटरमा राख्दिनँ । अन्तिम अवस्थाको क्यान्सर, त्यसमाथि अहिलेको जटिल स्थिति, बिस्तारै उहाँका अङ्गहरूले काम गर्न छोड्छ, यो अवस्थामा म भेन्टिलेटर र सिपिआर दुइटैको सल्लाह दिन्न । जहिलेसम्म सकिन्छ सास चलाइराख्ने भन्नुहुन्छ भने हामी त्यो गर्छौँ तर यसले बिरामीलाई निकै नै पीडा हुन्छ । भेन्टिलेटरमा राखेपछि हामीले आफै झिक्न मिल्दैन, तपाईँहरूले झिकिदेऊ भन्न सक्नुहुन्न । सिपिआर र भेन्टिलेटर प्रयोग गर्ने नगर्नेबारे परिवारमा सल्लाह गरेर मलाई केही समयसम्ममा निर्णय दिनुस् न ।”
दस दिनअघि उपचारको लागि हामी अस्पताल पुग्दा यति चाँडै म यो संवादको एक पक्ष हुन्छु भनी कल्पना गरेकै थिइनँ । तर, अब मैले एउटा निर्णय लिनु थियो । यो निर्णय लिन गा¥हो त थिएन, सकेसम्म आमालाई कम पीडा होस् भन्ने सोचले गर्दा म एउटा निचोडमा पुगिसकेको थिएँ । तर, त्यो निर्णयको अर्थ अब मैले र परिवारले आमालाई अन्तिम बिदाइ भन्नका लागि तयार रहनुपर्छ भन्ने थियो । विगत ६ महिनादेखि बिस्तारै आमाको स्वास्थ्य खस्किँदै गइरहेको थियो । आमासँग अब धेरै समय छैन भन्ने त हामीले एक हिसाबले सोचिसकेका थियौँ तर यति चाँडै यसरी यो समय आउँछ भनी सोचेका थिएनौँ, न त आमाले नै सोच्नुभएको थियो होला ।
२०५६ सालमा स्तन क्यान्सर भएर त्यसको सफल उपचार नेपालमै गरिसक्नुभएको मेरी आमालाई १८ वर्षपछि देखिएको पाठेघरको क्यान्सरलाई पनि जित्छु, त्यो पनि नेपालमै उपचार गरेर भन्ने द¥हो आत्मविश्वास थियो । क्यान्सर रोगको उपचार सम्भव छ र आमाले पहिले पनि क्यान्सरलाई परास्त गर्नुभएकोले यस पालि पनि हामी विजयी हुन्छौँ भनी हामीले सोचेका थियौँ । सोच र यथार्थमा हुने फरक नै जीवनको एक पक्ष होला तर हामीले सोचेको जस्तो भएन ।
२०७४ को फागुन महिनामा आमाको पाठेघरको क्यान्सर पत्ता लागेदेखि हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल हाम्रो लागि झन्डै पानी–पधेरो नै भइसकेको थियो । शल्यक्रिया गरेर बढेको ट्युमर फाल्ने र पछि केमोथेरापी गर्ने सल्लाह भयो । शल्यक्रिया गर्दा आमाको मुटुको चाल निकै बढेर शल्यक्रिया रोक्नुपर्ने भयो, बाहिर कुरेर बसेका सबै अत्तालिए । अपरेसन सफल भयो अब पालो थियो केमोथेरापीको । स्लाइन पानीमा औषधि मिसाएर नशामा सिधै दिने र त्यो औषधिले शरीरमा रहेका क्यान्सरका कोशिका मार्ने नै केमोथेरापी हो । तर, केमोथेरापीले शरीरमा धेरै असर देखापर्छ । कमजोरी, अरू रोगसँग लड्न सक्ने क्षमतामा कमी, वाकवाकी, अरूची, कपाल झर्ने, रक्तअल्पता, नशा सुक्ने, शरीरका विभिन्न ठाउँमा रगत जम्नेजस्ता अनेक असरहरू देखिन थाल्छ । यी सबै कठिनाइहरू आमाले गुनासो नगरी सहनुभयो । क्यान्सरलाई परास्त गर्छु भन्ने त्यो आत्मविश्वासलाई डाक्टर–नर्सहरूले पनि निकै सराहना गर्थे । ६ महिनाको केमोथेरापीपछि रोग घटेको देखियो र आमा नियमित काममा फर्किनुभयो, विद्यालय, सङ्गठन र घरको काममा पहिलेजस्तै लाग्नुभयो । तर, रोग निको भएको होइन रहेछ, आन्द्रा वरिपरि साना–साना गिर्खाको रूपमा क्यान्सरले फेरि टाउको उठायो । अनि केमोथेरापीका नयाँ शृङ्खलाहरू सुरु भए ।
आमाको रोग वंशानुगत रहेको पत्ता लाग्यो, केही प्रतिशत महिलाहरूलाई स्तनको क्यान्सर भएपछि पाठेघरको पनि क्यान्सर हुने सम्भावना प्रबल हुँदोरहेछ । “यस्तो अवस्थामा खाने औषधि पनि छ, महँगो छ तर केही अवस्थामा कम्पनीले सित्तैमा पनि दिन सक्छ, के गरौँ”, डाक्टरले सोध्नुभयो । अस्पतालमा भर्ना भएर, दिनभर, कहिलेकाहीँ ३ दिन बेडमा सुतेर सिधै नशामा लिने केमोथेरापीका औषधिभन्दा दिनदिनै क्यापसुल खानु बरु सजिलो हुन्थ्यो– हामीले हुन्छ कोशिश गरौँ न त भन्यौँ । तर, नेपालमा नयाँ औषधि ल्याउने प्रक्रिया निकै गा¥हो र झन्झटिलो रहेछ । “हामीले औषधि पठाउन नेपाल सरकारले हाम्रो औषधिलाई स्वीकृति दिएको छैन, बरु भारतमा आउनुभए औषधि पाउन वा अझ सित्तैमा पाउन सम्भव छ”, भन्ने उत्तर आयो कम्पनीबाट । औषधि व्यवस्था विभागमा निकै चरणको छलफलपछि पनि हामीले त्यो औषधि नेपाल ल्याउन सकेनौँ, दुई वर्ष लगातार खान महिनाको झन्डै ४ लाख खर्चेर किन्ने ल्याकत हाम्रो थिएन । परिणामस्वरूप, बङ्गलादेशमा बनेको औषधि किनेर खाने सल्लाह भयो, तर त्यो पनि नेपालको स्वीकृति प्राप्त थिएन । मान्छेले नाकाबाट झोलामा बोकेर नेपाल ल्याउँथे । सुरुका तीन महिना त्यसले काम त ग¥यो, तर लकडाउले गर्दा बजारमा सो औषधि पाइएन । एक महिनापछि पुनः सुरु गर्दा सोही औषधिले काम गरेन । २०७८ को अन्तिमतिर औषधि विभागमा निवेदन दिएर बनाइएको त्यो पत्र विदेशको औषधि कम्पनीमा पठाई अर्को एकथोक औषधि हामीले निकै सकसपछि प्राप्त ग¥यौँ तर साढे दुई महिनापछि हात परेको त्यो औषधि आमाले दस दिन पनि खान पाउनुभएन । मैले बाँकी त्यो औषधि अस्पतालमै फर्काइदिएँ । आमाजस्तै अर्को कोही महिलाले बरु सजिलै समयमै पाऊन्, कम्तीमा हामीले भोगेको त्यो सकस भोग्न नपरोस् भनेर ।
यसरी झन्डै ४ वर्षसम्म रोगसँगको तेलकासा चलिरह्यो– रोगलाई औषधिले लखेट्ने अनि औषधि सिद्धिएपछि रोग फेरि फर्किने । यसबीचमा शरीर बिस्तारै कमजोर हुने क्रम चल्दै थियो । नयाँ औषधिहरू प्रयोग ग¥यौँ, कतिले काम गरेन, कतिले झन् गा¥हो बनायो । गएको माघ महिनादेखि आमालाई अझ गा¥हो भयो, रोगले अर्कै रूप लिन थाल्यो । पेटमा पानी बढ्ने, खुट्टा सुन्निने, खान मन नलाग्ने, वाकवाकी आउने, कमजोरी हुने समस्या देखिन थाल्यो । बिस्तारै हिँडडुल गर्न पनि गा¥हो हुन थाल्यो । मुटु सुन्निने, जमेको रगतको टुक्रा फोक्सोमा अड्किने, रगत कम हुने त पहिले पनि भएको हो, तर यसपटक अझ कठिन थियो । जेठको अन्तिमतिर हामी फेरि अस्पताल भर्ना भयौँ । केही दिन बसेर ठीक भएर जाउँला भनेर सोचेका थियौँ । तर, त्यो बसाइ नै अन्तिम रह्यो । शरीर कमजोर हुन थाल्यो, हिँड्डुल गर्न असमर्थ हुन थाल्यो । शिथिल शरीर, शरीरका सबै भागहरूमा २४ सै घण्टा भइरहने पीडा, वाकवाकी, पखाला र खानापानी निल्न पनि सकसको अवस्था भोग्दै हुनुहुन्थ्यो आमा । उहाँलाई गा¥हो त छँदै छ, हामीलाई पनि आमाको अवस्था हेर्दा निकै मन भक्कानिन्थ्यो । तर, आमाले हिम्मत हार्नुभएन, हाम्रो लागि त्यो ठूलो ढाडस भयो । हामीले आमालाई सम्झाउने भन्दा पनि हाम्रो लागि मन सम्हाल्न आमा ठूलो आड बनिदिनुहुन्थ्यो । ६ गते डाक्टरले उहाँ अब केही महिनाको मात्र पाहुना हुनुहुन्छ भनेर भन्नुहुँदा अब हामीले घर नै लगेर बाँकी हेरचाह–उपचार गर्ने निर्णय गरेका थियौँ। तर, असार ८ गते बिहान आमालाई सघन उपचार कक्षमा लगियो– कमजोर र शिथिल भए पनि उहाँ होसमै हुनुहुन्थ्यो, राम्ररी नै बोल्दै हुनुहुन्थ्यो । दुई दिनअघि डाक्टरसँगको कुरा र माथिको संवादसम्मको यात्रा निकै नाटकीय थियो, कहाँ घर लाने निर्णय कहाँ भेन्टिलेटरमा राख्ने नराख्ने निर्णय । अनुहारमा कान्ति बढेको थियो, मुखबाट खाना खान थाल्नुभएको थियो तर रक्तचाप निकै कम थियो । पिसाब हुन सकेको थिएन, खुट्टा सुन्निएका थिए । पेट र फोक्सोमा पानी जमेको थियो । फलस्वरूप फोक्सो, मिर्गौलाजस्ता अङ्गले काम गर्न छोड्यो र ८ गते दिउँसो ३.४५ मा उहाँले अन्तिम सास फेर्नुभयो ।
सानोमा स्कुलका साथी–भाइहरू आ–आफ्ना बुबाको कुरा गर्थे । पैसा बुबासँग माग्ने भन्थे, स्कुलका अभिभावक दिवसमा उनीहरूका बुबाहरूको उपस्थिति हुन्थ्यो, कुरा लगाउँदा पनि बुबालाई भन्दिन्छु भन्थे, गृहकार्यमा बुबाले सहयोग गर्ने कुरा गर्थे । म र भाइका लागि भने सबै थोक आमा नै हुनुहुन्थ्यो । अभिभावक हाम्री आमा नै, हामीलाई राम्रो–नराम्रोको भेद सिकाउन आमा नै, शुल्क तिर्न, खाजा खर्च लिन, होमवर्क सिक्न, मनमा लागेका कुराहरू बाँड्न, केही कुराहरू किनिमाग्न, हामीलाई अनुशासन सिकाउन, बिरामी हुँदा हाम्रो हेरविचार गर्न सबै आमा नै । बालबच्चा हेर्ने–हुर्काउने, घरबार सम्हाल्ने, समाजमा एक राजनैतिक कार्यकर्ताको रूपमा खटिने, अनि फेरि शिक्षिकाको रूपमा विद्यार्थीलाई ज्ञानको ज्योति दिलाउने जिम्मेवारी– यतिका वर्ष आमाले बिनागुनासो यी सबै भूमिका सफलतापूर्वक बहन गर्नुभयो । पार्टीका काम र कार्यक्रमहरूमा व्यस्त बुबालाई घर–व्यवहार आफूले सम्हालेर समाजका लागि खट्न सहयोग गरिरहनुभयो । आज पनि घरमा के के सामानहरू भेटिँदैनन्, कहाँ के छ, के के गर्नुपर्छ, हामीले मेसो पाउन सकेका हुन्नौँ, कहिलेकाहीँ नेपाली लेख्दा पढ्दा पदसङ्गति, ह«स्व–दीर्घका नियमहरूको कुरा आउँदा–‘आमालाई सोध्नुपर्ला’ भन्ने मनमा आउँछ, अनि फेरि ‘अब त आमा हुनुहुन्न’ भन्ने सम्झिन्छु । मन चसक्क हुन्छ । लाग्छ, आमालाई अलबिदा भन्न हामी तयार नै थिएनौँ, अझ छैनौँ । तर, यो त सबैले एक न एकदिन भोग्नैपर्ने नियति त हो भन्छौँ अनि सम्हालिन्छौँ।
यस्तो भए के हुँदो हो, कस्तो हुँदो हो भन्ने लागिरहन्छ अहिले पनि । सायद आमाको रोग अलिक अघि पत्ता लागेको भए, अपरेसनमा समस्या नआएको भए अथवा औषधिले राम्ररी काम गरेको भए वा औषधि समयमै पाएको भए– आमा आज हामीसँगै हुनुहुन्थ्यो होला भन्ने त लाग्छ नि । १० गते दिउँसो वर्षाको हनुमन्ते खोला उर्लेर बग्दै थियो जहाँ सानोमा भागेर पौडी खेल्न आउँदा कति पटक मैले आमाको गाली खाएको थिएँ । किनारमा सुधारिएको शवदाहगृहमा आमाको पार्थिव शरीर खरानी हुँदै थियो । मान्छेको जीन्दगी यति नै त रहेछ जस्तो लाग्यो । जति बाँच्यौँ त्यसलाई सार्थक पार्नु हो, मृत्युपछि नाम रहन्छ र कीर्ति नै त रहन्छ, अरू त शून्य । क्यान्सरसँगको लडाइँमा हामीले एउटा मोर्चा त हा¥यौँ तर यो रोगसँगको लडाइँ हामीले जित्नुपर्नेछ ।
कति महिला दिदीबहिनी–आमा–काकीहरूले जानी–नजानी रोगलाई लुकाउने गर्नुभएको छ । पटक–पटक दुख्ने, गा¥हो हुनेजस्ता कुराहरूलाई बेवास्ता गर्नु हुँदैन । स्वास्थ्य सल्लाह लिइहाल्नु पर्छ । क्यान्सर जति चाँडै पत्ता लाग्यो, त्यति निको पार्ने सकिने सम्भावना बढ्छ, यो कुरालाई बिर्सनु हुँदैन । आमाको शेषपछि बिनाअर्थी बिरालो बाँध्ने कार्यहरूमा समय खेर फाल्नुभन्दा आफूलाई क्यान्सर भएपछि अरूले पनि सो अवस्था भोग्नु नपरोस्, रोगबारे चेतना जगाउँ भनेर आमा जसरी स्वास्थ्य शिविरहरूमा खटिनुभयो, जसरी सबैलाई सहयोग गर्नुभयो, त्यसरी नै महिलाहरूको लागि अझ गा¥हो पाठेघरको क्यान्सरबारे जनचेतना फैलाउन हामी खट्नु, रोगको समयमै निदान हुन सहयोग गर्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *