भर्खरै :

धर्मलाई कसरी ठगी धन्दामा रूपान्तरण गरिन्छ ?

धर्मलाई ठगी धन्दामा रूपान्तरण गरिने क्रममा पछिल्लो घटना पशुपति मन्दिर परिसरमा भएको छ । कथित सिद्धबाबा रामकृष्णाचार्य श्री वैष्णव कृष्णदास भनेर दाबी गर्ने बलात्कारी कृष्णबहादुर गिरीले अघिलो हप्ता ‘अनिरुद्ध महायज्ञ’ नामको धार्मिक मेला आयोजना गरेका थिए । मेलामा शीर्षस्थ नेताहरूदेखि उच्च तहका प्रहरीहरूसमेत सहभागी भएका थिए । यिनै ठगले आयोजना गरेको विगतको धार्मिक कार्यक्रममा पनि राष्ट्रपति विद्यादेवी भण्डारीदेखि भूपू प्रधानमन्त्रीहरू केपी ओली, पुष्पकमल दाहाल र पूर्वसभामुख कृष्णबहादुर महरासम्म सरिक भएका थिए । अशिक्षितहरू यस्ता ठगको पछि लागेकोमा दुःखी हुनुभन्दा पनि आफूलाई भौतिकवादी, परिवर्तनवादी र क्रान्तिकारी दाबी गर्ने नेताहरू पाखण्डी भएकोमा अपसोच लागेको छ ।
यस्ता ठगी धन्दाको प्रसङ्गलाई आफ्नै आँखाले देखेको र कानले सुनेको एउटा घटना यहाँ साझा गर्छु । केही समयअघि हाम्रो टोलमा भागवत् नामको धार्मिक मेला आयोजना गरिएको थियो । सुरुका दिनमा केही चीज ल्याउनु पर्दैन केवल उपस्थित भएर भजन÷कथा सुनिदिनु प¥यो भनेर कथा वाचकले ठूला ठूला ढ्वाङ्गबाट आह्वान गरे । भोलि पर्सि हुँदै गएपछि दानको कुरा उठाउन थाले । पितृको नाममा भनेर ‘भावनात्मक शोषण’ गर्न थाले । दानको रकम बढाउन उनले अर्को जुक्ति निकाले । कुनै वस्तुको लिलामी गर्दा बोलकबोलमा भाउ बढाएजस्तै दाताहरूमा पनि सबैभन्दा बढी दान दिनेलाई मञ्चमा रहेको कुर्सीमा बस्न पाउने व्यवस्था गरे । सोझा सिधा भक्तहरूमा मञ्चमा रहेको कुर्सीमा बस्ने लालसा बढाउन र त्यसको लागि अघिल्लो भक्तले भन्दा बढी दान दिनुपर्ने वातावरण बनाए । भक्तजनहरूलाई फसाउने अर्को पासो रहेको ज्येष्ठ नागरिक सम्मान भनेर १० रूपैयाँ पर्ने एउटा प्रमाणपत्रको व्यवस्था गरे । प्रमाण पत्र पाउने लोभमा आउने ज्येष्ठ नागरिकलाई दान दियो भने भगवानको शरणमा जान पाउँछ भनेर अर्को भावनात्मक शोषण गर्न थाले । यही आशमा आफूले सकेको दान दिन ज्येष्ठ नागरिक तयार भए । अब आयोजकले ‘बुबाले आफ्नो ज्येष्ठ नागरिक भत्ताबाट आएको रकमबाट उक्त दान दिएको’ भनेर घोषणा गरेर अरू बुढाबुढीलाई पनि आफूले पाएको ज्येष्ठ नागरिक भत्ता दान दिन उक्साउन थाल्यो । यसरी धर्मका ठेकेदारहरूले ७० नाघेका ज्येष्ठ नागरिकले पाएको भत्तामा पनि आँखा गाडे ।
दानको रकम जुटाउने आयोजकको अर्को एउटा अनौठो जुक्ति देख्दा सानो छँदा लङ्गुर बुर्जा खेलाउने मान्छेको सम्झना आयो । सुरुमा पैसा च्याखे थाप्ने नहुँदा खेलाउनेको आफ्नै मान्छेले पैसा दाउमा राख्छ । यो देखेर विस्तारै अरू मान्छे झुम्मिन थाल्छन् । अनि, तिनीहरूले पनि पैसा च्याखे थाप्न थाल्छन् । यसरी नै धार्मिक कार्यक्रमका आयोजकहरू पनि आफ्नै मान्छेबाट आकर्षक रकम दान गराएर ठूला ठूला ढ्वाङ्गबाट पर परसम्म सुन्ने गरी दानको रकमबारे सबैलाई जानकारी गराउँछन् । जसले गर्दा आयोजना स्थलमा बसेका भक्तजनहरू अप्ठेरोमा परेर पनि केही दान गर्छन् भने आयोजनास्थलबाट टाढाटाढा रहेका मान्छेहरू पनि केही दान दिन आउने आयोजकले आशा गरेको हुन्छ । यस्ता धर्मान्धहरूले सोझासिधा जनतालाई ठग्न खुला छोड्न दिनुमा स्थानीय प्रशासन पनि दोष मुक्त छैन ।
अहिले हिन्दू धर्मभित्र रहेको यस्ता विसङ्गतिमाथि आलोचना गर्ने बित्तिकै क्रिश्चियन डलरेजस्ता आरोप आइहाल्छ । यस्ता ढोङ्गी चरित्र हिन्दूवादीले नसच्याउने अनि दोष चाहिँ गैरहिन्दूलाई दिने गज्जबको थिति छ । हिन्दूहरूको कथित धर्म गुरु बलात्कारी कृष्णप्रसाद गिरी जालझेल गरेर जेलबाट फुत्केर हिन्दू पुजारी तथा नेताहरू भेला गरेर यज्ञ आयोजना गर्दै हिँडेका छन् । यस्ता पाखण्डपनको हिन्दूहरूले विरोध गर्नुपर्ने होइन र ?
धर्मका नाममा आफ्नो निहित स्वार्थ पूरा गर्नेहरू त धर्मप्रति अन्धभक्त हुने भइहाल्यो । तर, धर्मलाई आलोचनात्मक ढङ्गले सोच्नेले पनि धर्मलाई आफ्नो अहम् तुष्टि गर्ने माध्यम बनाएको छ । इरानमा मुस्लिम महिलाहरूले सार्वजनिक ठाउँमा बुर्का लगाउनुपर्ने नियमको विरोध गर्दै प्रदर्शन गरे भने भारतमा मुसलमान महिलाले विद्यालयमा बुर्का लगाउन पाउनुपर्छ भनेर माग गर्दै विरोध प्रदर्शन गरे । किन यो विरोधाभाष ? किन भारतीय मुसलमान महिलाले बुर्का लगाउन पाउनुपर्ने माग राखे ? वास्तवमा उनीहरूलाई बुर्का लगाउन मनपर्ने भएर होइन, बरु भारतमा हिन्दूवादीहरूले मुलसलमानप्रति अपमान गर्ने कार्य बढ्दै गएपछि त्यसको प्रतिक्रिया स्वरूप यस्तो माहोल बनेको हो । यो भनेको अहम्को द्वन्द्व नै हो । हामीकहाँ हिन्दूहरू खासै धर्मप्रति कट्टर छैनन् । तर, पछिल्लो समय धर्म परिवर्तन गर्ने क्रममा फुकेर पाइल्स निको पार्ने, होलि वाइनको नाममा अनेक चीज सेवन गर्ने, चमत्कार गरेर अन्धोलाइ एकैछिनमा आँखा देख्न सक्ने बनाउनेजस्ता पाखण्डी कार्यको आडमा क्रिश्चियनहरूले आक्रमक शैलीमा धार्मिक प्रचार गरेपछि जन्मले हिन्दू भए पनि प्रगतिशिल विचारका मानिसहरू पनि अहम्को द्वन्द्वले गर्दा धर्मको नाममा रहेको अन्धविश्वासलाई बढावा दिने किसिमले अगाडि बढे । त्यसैले धेरै हदसम्म धार्मिक द्वन्द्व अहम्कै कारण भइरहेको छ भन्न सकिन्छ ।
भारतीय सामाजिक अभियन्ता पेरियार ई. भी. भन्छन्, “ईश्वरको नाममा मान्छेले दुई किसिमका पूजा गर्छन् । धूर्तहरू ईश्वरको नाममा ठगधन्दा चलाउँछन् । अर्काथरी मूर्खहरूले ईश्वरको पूजा गर्छन् जसले धूर्तहरूले चलाएको ठगी धन्दालाई साँचो भनी ठान्छन् ।” तर, मूर्ख र धूर्त नरहेकाहरू पनि अहम्को कारणले ईश्वरका पूजक बन्छन् । अनि, नाम दिइन्छ, ‘पवित्र आस्था’ ।
थुप्रै धार्मिक परम्परा पनि हामीले छोड्दै आएका छौँ । तर, कति कुरा विज्ञानसम्मत् नभएको भनेर आफ्नै मनले स्वीकारेको कुरा पनि भन्न सकिँदैन । बाबुबाजेले गर्दै आएको रीतिथिति किन छोड्ने भन्ने कुरा भन्नका लागि भनिने मात्रै हो ¤ किनकि, हिजोका धेरै विज्ञानले पुष्टि नगरेको कुरा हामीले छोडिसकेका छौँ । सत्य स्थापित हुन र अन्धविश्वास मेटिन समय लाग्छ । अन्ध आस्थामा स्थापित विषयको आयु धेरै हुँदैन । समाजदेखि डराएर सत्य कुरा बोल्न छोड्नु हुँदैन । सामाजिक रीतिथिति, परम्परा र संस्कारहरूमा धेरै पाखण्डीपन छन् । समय, चेतना, ज्ञानरूपी परिवर्तनको आँधीहुरीले यस्ता पाखण्डीरूपी बोटलाई जरैदेखि उखेल्नेछ ।

Leave a Reply

Your email address will not be published.