भर्खरै :

विचरा नेपाली विषय !

साउन १३ मा प्रकाशित भएको एसईई परीक्षाको नतिजाअनुसार नेपाली विषयमा भन्दा अङ्ग्रेजी विषयमा विद्यार्थीको ‘सिकाइ सक्षमता’ राम्रो भएको थाहा पाउँदा खुसी मान्नुपरेको छ । तर, राष्ट्रभाषा नेपाली भएको ‘नेपाल’ देशमा नेपाली विषयमै विद्यार्थीहरू कमजोर हुनुलाई सुखद मान्न सकिँदैन ।
त्यसो त यस्तो परिणाम, देशैभरिका विद्यालयमा पढ्ने विद्यार्थी सङ्ख्याका आधारमा सार्वजनिक गरिएको हो । यस सन्दर्भमा स्मरणीय के छ भने खासगरी पहाडी क्षेत्रका विद्यालयमा पढ्ने र मातृभाषा नेपाली नै हुने विद्यार्थीहरूको नेपाली कमजोर छैन । त्यताका विद्यार्थीहरू अङ्ग्रेजी, गणित, विज्ञान विषयमा कमजोर हुन्छन् । अन्य क्षेत्र (हिमाली क्षेत्र, तराई र उपत्यका) का विद्यालयमा पढ्ने विद्यार्थीहरू भने नेपाली विषयमा प्रायः कमजोर देखिन्छन् । राष्ट्रभाषा नेपाली भएको देशका विद्यार्थीहरू, नेपाली विषयमै कमजोर भएको थाहा पाउँदा भने सुखानुभूति गर्न सकिँदैन । यस्तो हुनुमा घरपरिवार, विद्यालय, विषय शिक्षक, विद्यार्थीको मातृभाषाजस्ता कुराहरू जिम्मेवार रहेको मान्न सकिन्छ ।
सानै उमेरदेखि हाम्रा बाबुनानीलाई नेपालीको सट्टा अङ्ग्रेजीमै बोल्न, अङ्ग्रेजीमै भन्न र अङ्ग्रेजीमै गन्न सिकाइन्छ । कसैलाई अभिवादन गर्न पनि अङ्ग्रेजीबाटै सिकाइन्छ । यसले गर्दा नेपाली भइकन पनि उनीहरू सुरुदेखि नै नेपाली वर्णमाला, नेपाली शब्द र नेपाली वाक्य पढ्न सिक्नबाट वञ्चित रहन्छन् । आफ्ना बाबुआमा, काकाकाकी र अन्य नातागोताको नाम पनि नेपालीबाट भन्न जान्दैनन् । फलफूलको नाम नेपालीबाट भन्न/चिन्न आउँदैन । कस्तो विडम्बना !
‘बाबुले आज थ्रिवटा चक्लेट खाइसक्यो । अब टेनवटा लेटर लेखेर वन कप मिल्क पिउनुपर्छ’ भन्ने खालको पारिवारिक वातावरणमा हुर्केका बालबालिकाहरू, ‘बोर्डिङ स्कूल’ मा भर्ना भएपछि आधारभूत नेपाली सुधार गर्ने मौका नपाउन सक्छन् । किनभने, त्यस्ता ‘स्कूल’ को प्राथमिकतामा नेपाली विषय पर्दैन । ‘नमुना विद्यालय’ बनाउने क्रममा आजकल त सरकारी विद्यालयलाई पनि अङ्ग्रेजी माध्यमको बनाउने क्रम जारी छ । त्यसैले त्यहाँ पनि नेपाली विषयलाई प्राथमिकतामा पार्न छाडिएको छ । स्थानीय सरकार तथा विद्यालय व्यवस्थापन समितिको बैठक हुँदा कसरी गणित÷विज्ञानजस्ता विषयमा विद्यार्थीलाई पोख्त बनाउने भन्ने विषयमा छलफल हुन्छ, निर्णय गरिन्छ र त्यसका लागि बजेटसमेत छुट्याइन्छ । कतिपय विद्यालयमा नेपाली बोल्न नै प्रतिबन्ध लगाइएको हुन्छ । यस्ता गतिविधिले सिधै नेपाली विषयलाई कम महत्व दिइएको प्रस्टै छ ।
एकजना प्रसिद्ध लेखक भन्नुहुन्थ्यो, “म नेपालीमा कमजोर विद्यार्थी हुँ । कक्षा ९/१० मा हामीलाई नेपाली पढाउने एकजना मधेसी (अग्रवाल) सर हुुनुहुन्थ्यो । एकदिन एकजना साथीले शीतयुद्ध भनेको के हो भनेर सोध्दा सरले हिउँदको बेलामा हुने युद्धलाई शीतयुद्ध भनिन्छ भन्नुभएको थियो । त्यो बेला त्यस्तै जानियो । एसएलसी पास गरेपछि कतै आफैँले पढेरमात्रै ‘शीतयुद्ध’ को अर्थ थाहा भयो ।”
अनुभवी नेपाली शिक्षकहरू भन्छन्, “सानैदेखि महत्व नदिइएको विषय भएकाले माथिल्लो कक्षामा पुग्दा पनि नेपाली विषय र यसको कक्षा विद्यार्थीका लागि सजिलो र रसिलो बन्दैन । विद्यालयमा गणित, विज्ञान, अङ्ग्रेजीजस्ता विषयको अतिरिक्त कक्षा चलाइएको हुन्छ । त्यसैले नेपालीको घण्टीमा पनि उनीहरू तिनै विषयको गृहकार्य गर्नमा व्यस्त देखिन्छन् । नेपालीको गृहकार्य गर्न त समय नै हुँदैन । नेपाली विषय शिक्षकले कक्षामा कुनै छन्दोबद्ध कविता लय हालेर वाचन गर्न सिकायो भने कतिपय विद्यार्थीहरू त्यसलाई कोही बाजेले भनेको सिलोकजस्तो ठानेर मरीमरी हाँस्न थाल्छन् । विद्यालय आउँदा नेपाली किताबै लिएर नआउने, नेपालीको घण्टी लाग्नासाथ कुनै कामकोे बहाना गरेर वा बेकाममै पनि बाहिर निस्कने प्रवृत्तिका विद्यार्थीहरू पनि हुन्छन् । नेपालीको कक्षामा समेत कठिन शब्दको अर्थ र वाक्यलाई अङ्ग्रेजीबाट बुझाइदिनुपर्ने हुन्छ ।” साँच्चै यस्तो हुने हो भने त विद्यार्थीहरू नेपालीमा कमजोर हुनु स्वाभाविकै भयो ।
नेपाली विषयलाई महत्व दिएर होला, अङ्ग्रेजी माध्यमका विद्यालयमा पनि हाल नेपाली विषयबाहेक अर्को एउटा सामाजिक विषय पनि नेपालीबाटै पढाउनुपर्ने व्यवस्था गरिएको छ । कक्षा ८ सम्म भएको नैतिक शिक्षा पनि नेपालीमै छ । सबै विषय अङ्ग्रेजी माध्यममा पढेका विद्यार्थीहरूका लागि यी विषय ठूलो बोझ भएका छन् । त्यसैले, सामाजिक र नैतिक शिक्षाको परीक्षा दिँदा पनि कतिपय विद्यार्थीले उत्तरपुस्तिकामा अङ्ग्रेजीमै लेख्ने गरेको कुरा बताइन्छ । अब यस्तो अवस्थामा हाँस्ने कि रुने होला ?
“नेपाली किन नपढेको ?” –“पढ्नै झ्याउ लाग्छ ।”
“नेपालीको नोट किन नबनाएको ?” –“लेख्नै झ्याउ लाग्छ ।”
“नेपाली किताब किन नल्याएको ?” –“बोक्नै झ्याउ लाग्छ ।”
कतिपय विद्यालयमा नेपाली शिक्षक र विद्यार्थीबीचको संवाद यस्तै हुन्छ ।
सरकारी विद्यालयमा पढाउने एकजना शिक्षक भन्नुहुन्थ्यो, “कतिपय अभिभावकहरू विद्यालयमा आएर नेपाली विषयमा कमजोर आफ्ना छोराछारीको नेपाली कसरी सुधार्ने भन्ने विषयमा चिन्ता गर्नु र सल्लाह लिनुको साटो ‘मेरा छोराछोरीहरू नेपालीमा कमजोर भए पनि अङ्ग्रेजीमा चाहिँ ट्यालेन्ट छन्’ भन्ने जानकारी गराइराखेर हिँड्छन् ।”
“नेपालीमा त जे लेखे पनि भइहाल्छ नि !”
“नेपालीमा पनि शुद्धाशुद्धिमा किन ध्यान दिइरहनुप¥यो, बुझिए भइहाल्छ नि !”
“नेपाली पनि जानिरहनुपर्छ र !”
“नेपालीको पनि अतिरिक्त कक्षा लिइरहनुपर्छ र !”
कतिपय विद्यार्थी तथा अभिभावकको यस्तै चिन्तन भएको बेलामा नेपाली विषयमा विद्यार्थीको सिकाइ सक्षमता बढाउनका लागि विद्यालयमा एकजना नेपाली शिक्षकको चिन्ताले मात्र हुँदैन । विद्यालय परिवार, सरकार र अभिभावकले पनि नेपालीको महत्व बुझ्नुप¥यो । सिक्ने वातावरण भएपछि विद्यार्थीले जुनसुकै कुरा पनि सिक्छन् भने राष्ट्रभाषा नेपाली त झन् नसिक्ने कुरै छैन ।

Leave a Reply

Your email address will not be published.