भर्खरै :

‘समाजवादी केन्द्र’ ले कम्युनिस्ट आन्दोलन अघि बढाउने हो ?

बहुमत जनताको हित हुने समाजवादी व्यवस्थाको स्थापना कम्युनिस्टहरूले मात्र गर्छन् भन्ने कुरामा शङ्का छैन । देशमा आमूल परिवर्तनको निम्ति लड्ने दल कम्युनिस्टहरू नै हुन् । बहुमत जनताको हितमा आमूल परिवर्तन गर्न नचाहने या आमूल परिवर्तन गर्न नलड्ने दलहरू सच्चा कम्युनिस्ट हुनेछैनन् । आ–आफ्नो दलको सिद्धान्त र विचार छोडेर सत्ता स्वार्थको निम्ति नै पाँच दलबीच गठबन्धन भएको हो । गठित पाँच दलको नेतृत्वमा बनेको सरकारले देशलाई दिशा निर्देश गर्न सकेन । बरु नेकाको नेतृत्वमा बनेको सरकारले देशघाती र जनघाती एमसीसी सम्झौता पारित ग¥यो, नागरिकता विधेयक पारित ग¥यो । यसमा पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने नेकामात्र होइन आफूलाई कम्युनिस्ट भनिने दलहरू एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी दल पनि दोषी छन् ।
अहिले वामपन्थी शक्तिहरू एक हुनुपर्ने चर्चा भइरहेको छ । वामपन्थीहरू एक भएमा संसद्मा बहुमत प्राप्त हुने र वामपन्थीहरूको सरकार बन्ने कुरो सञ्चारमाध्यममा आइरहेको छ । त्यसो त यसअघि एमालेको नेतृत्वमा वामपन्थी शक्तिहरूको बहुमत भएकै हो, बहुमत प्राप्त सरकार बनेकै हो । तर, बहुमत प्राप्त त्यो वामपन्थीहरूको शक्ति या सरकार टिकेन । त्यो शक्ति अहिले चार टुक्रा भएको छ । एउटा कुरा प्रस्ट हुनैपर्छ, वामपन्थीहरूको सरकार बन्दैमा या बनेपछि देशमा समाजवाद आउँछ या आमूल परिवर्तन हुन्छ भन्ने कुरा होइन । वामपन्थी शक्तिहरूको सरकार त तीन वर्ष बनेकै हो, तर समाजवाद आएन, समाजवादी आचरण, मूल्य र मान्यताअनुसार काम भएन । यो कुरा हामीमाझ छर्लङ्ग छ । वाम गठबन्धन, वाम मोर्चा र समाजवादी केन्द्रमा आबद्ध दलका नेताहरूको उद्देश्य समाजवादी आन्दोलनको लागि पूर्वाधार तयार गर्ने हुनुपर्छ । आम जनतालाई कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारबाट सुसूचित बनाउन राजनीतिक कक्षा सञ्चालन गर्नुपर्छ । पद बाँडफाँडको लागि निर्वाचनमा लागेर समाजवादी क्रान्तिको कुरा छोड्ने या बिर्सन हो भने कम्युनिस्ट हुनु र नहुनुको अर्थ के रह्यो ?
वामपन्थी र समाजवादी दलहरू सामेल भएको वर्तमान सरकारले मुलुकलाई सबल र समृद्ध बनाउनुको सट्टा देशको राष्ट्रियता कमजोर बनाउने र विदेशीले भटाभट नेपाली नागरिकता दिने व्यवस्था मिलाएर देशमा नेपालीलाई अल्पमतमा पार्ने काममा सघाइरहेको छ । देश जोगाउन लाग्नुपर्ने दलका नेताहरू नै विदेशीलाई खुसी पारेर देशलाई कमजोर पार्ने काममा लागेपछि देश कसरी स्वाधीन बन्छ ? वाम गठबन्धन, वाम मोर्चा र समाजवादी केन्द्रको बखान गरिएका वाम नेताहरूलाई कालापानीबाट भारतीय सेना फर्काउने विषयमा चिन्ता छैन, भारतले एकातर्फीरूपमा बनाएका बाँध तथा तटबन्ध भत्काउनेबारे कुनै चासो छैन । चुनावको बेला गठबन्धन गरेर बढीभन्दा सीट जितेर सरकारमा रहेर रमाइरहनु नै तिनीहरूको उद्देश्य हो । भारतीय पक्षले नेपाली भूमिमा स्तम्भ गाडेर नेपालीको जग्गामा गरिरहेको हस्तक्षेपको विरोधमा के बोल्नुपर्दैन ? देशको अर्थतन्त्र दयनीय हुँदै छ । महँगी बढ्दै छ । भ्रष्टाचार र कमिसन खेलमा कमी आएको छैन । त्यसबारे कम्युनिस्ट पार्टीहरूको आन्दोलन खोइ ? निर्वाचनको लागि समाजवादी केन्द्रको बखान गर्नु के सत्तामुखी राजनीति होइन ?

Leave a Reply

Your email address will not be published.