भर्खरै :

‘समाजको दिगो विकासको लागि ऊर्जाको भूमिका’ विषयक दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन

भक्तपुर, २३ साउन । नेपाल मजदुर किसान पार्टीका सचिव तथा सङ्घीय सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ र आई.ई.ई.ई. पी.ई.एस. को संयुक्त आयोजनामा सोमबार भएको ‘समाजको दिगो विकासको लागि ऊर्जाको भूमिका’ विषयक दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभयो ।
कार्यक्रममा सांसद सुवालले ऊर्जा र जलस्रोतजस्ता महत्वपूर्ण क्षेत्रमा नेपालले अपेक्षित उपलब्धि हासिल गर्न नसक्नुमा शासक दल दोषी रहेको बताउँदै देशमा उपलब्ध जलस्रोतको अधिकत्तम उपयोग र व्यवस्थापन गरी कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद सुवालले भन्नुभयो, “नेपाल जलविद्युत्को विकासमा अत्यन्त सम्भावना भएको देश भएर पनि भारतबाट बिजुली आयात गर्नुपर्ने अवस्था आएको छ । नेपालको आर्थिक समृद्धिको महत्वपूर्ण खम्बाको रूपमा रहेको विद्युत् सस्तोमा भारतलाई बेच्ने र महँगोमा खरिद गर्ने गरेको कारण पनि देश आर्थिकरूपले अझ झन् पछाडि धकेलिँदै गएको हो ।”
सरकारले जलविद्युत् उत्पादनमा जोड दिनुपर्ने विचार व्यक्त गर्दै सांसद सुवालले शासक दलकै कारण देश परनिर्भरतातर्फ धकेलिएको छ भन्नुभयो । देशको राजनीति कमजोर भएको अवस्थामा विदेशीको थिचोमिचो बढ्ने सम्भावना रहेको उल्लेख गर्दै उहाँले नेपालको राजनीति माफिया र भ्रष्टाचारीहरूको हातमा परेकै कारणले देशले अपेक्षितरूपमा विकास गर्न नसकेको बताउनुभयो ।
नेपालको जलस्रोतमाथि भारतको नियन्त्रण बढ्दै जानुले नेपाल कहिल्यै समृद्ध हुननसक्ने बताउँदै सांसद सुवालले नेपालका शासक दलहरूकै कारण नेपाल भारतको उपनिवेशको रूपमा गइरहेको बताउनुभयो । एमसीसी नेपालको लागि गुलियो पोतेको विष भएको बताउँदै एमसीसीले नेपाललाई कहिल्यै आत्मनिर्भर नबनाउने उहाँले प्रस्ट पार्नुभयो ।
कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सम्मेलन पूर्ण सफलताको कामना गर्दै नेपालमा उत्पादित बिजुली बेच्ने कारण देखाउँदै शासक दलहरूले एमसीसीजस्ता देशघाती सम्झौता संसद्बाट अनुमोदन गरेको र त्यसको असर नेपालमा लामो समयसम्म रहिरहने बताउनुभयो ।
प्रमुख प्रजापतिले विद्युत् उत्पादन गरेर जनतालाई सस्तोमा वितरण गर्नुको सट्टा हप्ताको दुई दिन बिदा र यातायातमा जोरबिजोर प्रणाली लागू गर्नेजस्ता सुझाव दिएर आयल निगमले सरकारलाई उल्टो बाटोमा अगाडि बढाउन खोजिरहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “देश विकासको निम्ति ऊर्जाको विकास एक अपरिहार्य विषय भएको हो । रुस र युक्रेन युद्धले पेट्रोलियम पदार्थको मूल्य अकाशिएको छ । नेपाल सरकारले जलविद्युत् परियोजनाहरूको विकासमै बढी ध्यान केन्द्रित गर्नु जरुरी छ ।”
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले शिक्षा, स्वास्थ्य, विकास निर्माणलगायतका क्षेत्रमार्फत भक्तपुर नपाको सन्तुलित विकासमा नपाले विशेष जोड दिँदै आइरहेको बताउँदै नपाबाट सञ्चालित सातवटा शैक्षिक संस्थाले सस्तो र गुणस्तरीय शिक्षा प्रदानमा जोड दिँदै आएको बताउनुभयो ।
कार्यक्रममा जल तथा ऊर्जा आयोगका सचिव दिनेशकुमार घिमिरेले ऊर्जा, जलस्रोत तथा सिँचाइको उचित विकास, संरक्षण तथा प्रवद्र्धन गर्न र यस क्षेत्रलाई विशिष्टीकरण गरी नेपाललाई समृद्ध बनाउन आयोग क्रियाशील रहेको बताउनुभयो ।
कार्यक्रममा Western Norway University of Applied Science का प्रा. अजितकुमार बर्मा, University of Saskatchewan प्रा. राजेश कार्की, ख्वप कलेज अफ इन्जियिरिङका प्राचार्य सुनिल दुवाल, आई.ई.ई.ई. का अध्यक्ष प्रा.डा. नवराज कार्की र सचिव शैलेन्द्रकुमार झाले पनि सम्मेलनको महत्व र उद्देश्यमाथि प्रकाश पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *