अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
सरकारमा जान, मन्त्री बन्न सिद्धान्त र विचार छोड्न तयार दलका नेताहरू निर्वाचनमा एकगठ हुन्छन् या गठबन्धन गर्छन् । तर, देशको सार्वभौमिकता र अखण्डताको संरक्षण गर्न एकगठ हुँदैनन् या मिलेर लड्दैनन् किन ? । यसले सत्तासीन र ठूला दलका नेताहरूको राजनीतिक उचाइ कति छ भन्ने थाहा हुन्छ । उनीहरू देश र जनताप्रति गम्भीर नभएको स्पष्ट हुन्छ । किनभने, देश बिग्रे पनि उनीहरू सप्रिरहेका छन्, देश नरहे पनि वास्ता गर्दैनन् । भूमि मिचे पनि भूमि बेचे पनि वास्ता नगर्ने दलका नेताहरूको जिम्मामा सरकारको नेतृत्व छ । एकातिर उनीहरू देशघाती सम्झौतामा हस्ताक्षर गराउन दबाब दिने अमेरिका र असमान सन्धि गराउन दबाब दिने भारतको तजबिजमा रहेर नेपालमा शासन चलाउने सरकारहरू देशको स्वाधीनता र सार्वभौमिकतामा आँच पुगे पनि मतलब राख्दैनन् भने अर्काेतिर तिनै नेताहरू नेपाल र नेपाली जनतालाई अप्ठेरो पर्ने कुनै काम नगर्ने विश्वास दिलाउँछन् । उनीहरू कुरा एउटा काम अर्काे गर्छन् । सिद्धान्त र विचारलाई देखाउने दाँत बनाउँछन्, व्यवहारमा अर्कै विचार बोक्छन् । सत्तासीन दलका नेताहरूको यो द्वैधचरित्रले देश दिशाहीन बन्दै छ । यो राम्रो लक्षण होइन ।
प्रजातन्त्र, सङ्घीय गणतन्त्र र संविधानको गुणगान गर्ने दलका नेताहरू नै त्यसको उल्लङ्घन गर्छन् । उनीहरू मुलुकको अनुहार फेर्नुभन्दा भागबन्डामा लागेर दलगत र व्यक्तिगत स्वार्थमा डुब्छन्† वैदेशिक हस्तक्षेपको मतलब राख्दैनन् । सीमा अतिक्रमणबारे चुइँक्क बोल्दैनन् । वैदेशिक नीतिलाई वास्ता गर्दैनन् । शासकहरू देशभक्त पनि बनेनन् । अरू देशका शासकहरू मातृभूमि रक्षाको लागि लड्छन्, शत्रुसामु झुक्दैनन् । तर, नेपालका शासकहरू ठीक उल्टो शत्रुसामु लत्रन्छन्, सीमा मिचे पनि टुलुटुलु हेरेर बस्छन् । देश र जनताको सेवा गरेर सौभाग्य बन्नुपर्ने शासकहरू जिम्मेवारहीन बन्दै दुर्भाग्यका पात्र बनेका छन् । देशको यो जस्तो अकर्मण्य कार्य अरू के हुन्छ र ?
देशलाई बन्धक राख्ने, देशप्रति माया नगर्ने निर्दयी शासकहरूकै गैरजिम्मेवारीको कारण देशको राजनीतिप्रति जनतामा वितृष्णा देखिएको हो । सत्तासीन दलका नेताहरूले यस्ता देशविरोधी र जनविरोधी कार्य गरे पनि निर्वाचनमा तिनै नेताहरू निर्वाचित हुन्छन् । आफूहरू सधैँ निर्वाचित हुन नै कम्युनिस्ट भनिने दल र प्रजातान्त्रिक भनिने दलका नेताहरूले जनतालाई सुसूचित पार्ने काम गर्दैनन्, जनतालाई राजनीतिक, सैद्धान्तिक र वैचारिक ज्ञान दिएर सचेत पार्दैनन्, पारिरहेका छैनन् । बहुमत जनता सचेत र सङ्गठित नभएसम्म उनीहरूले सरकारको नेतृत्व गरेर दाइँ गरिरहने मौका पाउँछन् । त्यही कारण शासक दलका नेताहरूले आ–आफ्नो दलको सिद्धान्त र विचारभन्दा जसरी भए पनि जित्ने दाउ रच्छन्, रचिरहेका छन् ।
Leave a Reply