शैक्षिक डामाडोलले देश ध्वस्त हुने !
- बैशाख ८, २०८३
व्यापार र उद्योग, कल–कारखाना, यातायात र सञ्चार अनि ज्ञान–विज्ञानको प्रगतिले आज संसारका जनताको भाग्यलाई एक अर्कासँग गाँसिदिएको छ । पुँजीवादको जति जति विकास हुँदै गयो, उति उति एक देशको शोषक वर्ग अरू देशका जनतालाई समेत चुस्न पुग्यो । त्यस विदेशी शोषणको विरोधमा चुसिएका देशका जनताले सङ्घर्ष गर्न थाले । स्वतन्त्रताको त्यस सङ्घर्षलाई दबाउन साम्राज्यवादी र उपनिवेशवादीहरू ती देशहरूमा आ–आफ्ना पिछलग्गूहरू तयार पार्छन् । ती पिछलग्गू र दलालहरूमार्फत साम्राज्यवादीहरूले ती देशका जनताको स्वतन्त्रता आन्दोलनलाई दबाउँछन् । सामन्त र जमिनदार वर्ग, ठूलठूला व्यापारी र माथिल्ला कर्मचारी वर्ग विदेशको पक्षमा लाग्छन् । विदेशी पल्टन र स्वदेशी पल्टनमा काम गरेका ठूलाबडा अफिसर र पुँजीपति वर्ग विदेशी पुँजीको सेवा गर्न पुग्छन् । धेरै धेरै पढे–लेखेका प्रोफेसर या प्राध्यापक, लेखक, कवि–कलाकार र पत्रकारहरू विदेशकै पैसा खाएर आफ्नो देशको खोइरो खन्छन्, विदेशी शोषणको पक्ष लिन्छन् । आ–आफ्ना देशवासीहरूको विरोध गर्छन् । यसरी विदेशी शोषक वर्ग र आक्रामक शक्तिको पक्ष लिने साहु–महाजन, राजा–महाराजा, सामन्त, जमिनदार, व्यापारी, पुँजीपति, कर्मचारी, पढे–लेखेका प्राध्यापक र पत्रकारहरूलाई विदेशी दलाल भनिन्छ । सामन्त र पुँजीपति वर्ग विदेशी दलाल हुन्छन्, तिनीहरू वर्गीयरूपले प्रतिक्रियावादी हुन्छन् । तर, केही सामन्त या पुँजीपतिहरू व्यक्तिगतरूपले देशभक्त र प्रगतिशील हुनसक्छन् जहाँसम्म वर्गको हिसाबकिताब हुन्छ, तिनीहरू जनताका शत्रु हुन् । विदेशी आक्रामकहरूले दलालहरू नपाएसम्म कुनै देशमाथि आक्रमण, थिचोमिचो र हुकुम चलाएर बस्न सक्दैनन् ।
तर, थिचिएका र थिच्ने दुवै देशका जनता शोषित र पीडित हुन्छन् । ती दुवै देशका जनता शोषण र थिचोमिचोको विरोधमा लड्छन् । आक्रामक देशका जनताले आ–आफ्नो सरकारको विरोधमा काम–मामको निम्ति या राज्यसत्ता कब्जा गर्ने सङ्घर्ष गर्दा थिचिएका, जितिएका वा उपनिवेश देशहरूका जनतालाई मद्दत हुन पुग्छ । आक्रामक देश आफ्नै घरेलु युद्धमा फसिरहँदा त्यो कमजोर हुन्छ, अनि त्यसैबेला थिचिएका जनताले आफ्नो सङ्घर्ष चर्काउने मौका पाउँछन् । थिचिएका देशका जनताले आक्रामक देशको विरोधमा लडाइँ लडिरहँदा आक्रामक देशका जनताको सरकारविरोधी सङ्घर्षहरूमा मद्दत पुग्न जान्छ । त्यसबेला आक्रामक सरकार आफैले विदेशमा मार खाइरहेको हुन्छ । यसप्रकार थिचिएका र थिच्ने देशका जनताका सङ्घर्षहरूले आक्रामक सरकार झन् झन् निर्बलियो हुँदै जान्छ । यस मानेमा पुँजीवादको विकासले आज थिच्ने वा आक्रामक देशका जनता र थिचिएका देशका जनताको भाग्य एक अर्कासँग गाँसिएको छ । त्यतिमात्रै होइन, अरब र इजराइलको लडाइँले काठमाडौँमा मोटरको भाडा र अरू सामानको भाउ बढ्छ । यसरी कुनै पनि देश अन्तर्राष्ट्रिय घटनाको प्रभावबाट अलग्गै रहन सक्दैन ।
एक देशको शोषक वर्ग अर्को देशको शोषक वर्गसँग मेल राख्छन् र जनतामाथि संयुक्त या दोहरोरूपले थिचोमिचो र शोषण गर्छन् । जनताले पनि तिनीहरूबाट सिक्छन् । एक देशका जनता अर्को देशका जनतासँग मित्रता राख्न पुग्छन् । शोषण र थिचोमिचोमा परेका संसारका जनता एक हुन्छन् । एक देशका जनताको सङ्घर्षले अर्को देशको सङ्घर्षलाई सघाउ पु¥याउँछ । सबै देशका जनताको संयुक्त सङ्घर्षले पुँजीवादी व्यवस्थामै अन्तिम प्रहारहरू हुन थाल्दछन् । यसरी साम्राज्यवाद र उपनिवेशवादले एकपछि अर्को मर्णान्तक हारहरू खाँदै छन् ।
संसारका सबै जनता आफ्नो आफ्नो देशको सामन्तवादी र पुँजीवादी व्यवस्थाको विरोधमा लड्छन् । नयाँ र पुरानो उपनिवेशवादको विरोधमा लड्छन् साम्राज्यवाद र सामाजिक–साम्राज्यवादको विरोधमा लड्छन् । एक देशको शोषणविरोधी सङ्घर्षबाट अर्को देशका जनताले शिक्षा लिन्छन् र विजय हासिल गर्छन् । एक देशका जनताको सङ्घर्षलाई अर्को देशको जनताले समर्थन र सहयोग दिन्छन् । एक देशको स्वतन्त्रता र मुक्ति आन्दोलनलाई अर्को देशका स्वतन्त्रता र मुक्तिको निम्ति सङ्घर्ष गरिरहेका जनताले समर्थन गर्छन् ।
यस्तो अवस्थामा हाम्रा लेखक, कवि र कलाकारहरूको के कर्तव्य हुन्छ ? लेखक, कवि र कलाकारहरूले पनि देशका जनताले जस्तै अरू देशका जनताको सङ्घर्षलाई समर्थन र सहयोग पुग्ने काम गर्नुपर्छ । आज एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका करोडौँ करोड जनता स्वतन्त्रता र मुक्तिको निम्ति उठिसकेका छन् र तिनीहरूले स्वतन्त्रता र मुक्ति प्राप्त गर्दै छन् । साहित्यकारहरू पनि त्यसबाट अलग्ग रहन सक्दैनन् र रहेका पनि छैनन् । उदाहरणको निम्ति, भियतनाम र हिन्द–चिनी जनताको संयुक्त राज्य अमेरिकी साम्राज्यवादविरोधी सङ्घर्षमा संसारका विभिन्न देशका जनताले हिन्द–चिनी जनताको समर्थन र सहयोग गरेका थिए । संसारका विभिन्न देशका लेखक, कवि र कलाकारहरूले पनि कविता, कहानी, निबन्ध, नाटक, चित्र र रिपोर्टहरू लेखेर हिन्द–चिनी जनतालाई समर्थन र सहयोग गरे, तारिफ र जय जयकार गरे, आक्रामकहरूको विरोध र निन्दा गरे । नेपालका लेखक, कवि र कलाकारहरूले पनि भियतनाम र हिन्द–चिनी जनताको समर्थनमा कलम उठाए । तिनीहरूको जय जयकार गरे । जनतासँग मिलेर तिनीहरूले साम्राज्यवादको निन्दा र विरोध गरे । अन्तमा हिन्द–चिनी जनताको जीत भयो र आक्रामकहरूको हार भयो । हिन्द–चिनी जनताको विजय नेपाली साहित्यकारहरूको निम्ति खुसीको समाचार हो ।
विदेशमा भइरहेको स्वतन्त्रता र मुक्ति सङ्घर्षलाई समर्थन गरेर आफ्ना देशका जनतालाई के फाइदा हुन्छ ? विदेशमा भइरहेको स्वतन्त्रता र मुक्ति सङ्घर्षलाई समर्थन गर्नु हाम्रो अन्तर्राष्ट्रिय कर्तव्य हो । यो भावना, सिद्धान्त र आदर्शको कुरोमात्रै होइन । ती देशका जनताको सङ्घर्षबाट हाम्रा देशका जनताले पनि शिक्षा लिन्छन् र सङ्घर्ष गर्न प्रेरणा पाउँछन् । ताली एक हातले बज्दैन । अरू देशका जनताले पनि हाम्रो देशको सङ्घर्षलाई समर्थन गर्नेछन् । हिजोको सैद्धान्तिक समर्थन भोलि एक भौतिक समर्थनमा बदलिनेछ । हाम्रो समर्थनले तिनीहरूलाई लड्नमा हौस्याएजस्तै तिनीहरूको समर्थन र सहयोगले हाम्रो सङ्घर्षलाई बलियो बनाउनेछ । त्यसकारण, हामीले देश–विदेशका जनताको स्वतन्त्रता र मुक्ति सङ्घर्षलाई पूर्णरूपले समर्थन गर्नुपर्छ ।
विदेशमा भइरहेको स्वतन्त्रता र मुक्ति सङ्घर्षलाई समर्थन गर्नु हाम्रो अन्तर्राष्ट्रिय कर्तव्यमात्र होइन । यो आफ्नै सङ्घर्षको समर्थनजत्तिकै हो । कुनै थिचिएका देशका जनताको हार हुन्छ भने त्यो आफ्नै देशको पराजय हुन बेर छैन । किनभने, ती थिचिएका देश र जनतालाई दमन र शोषण गर्ने विजयी आक्रामकहरू हाम्रो देशमा पनि आक्रमण र दमन गर्न आउनेछन् । यसकारण, साम्राज्यवाद, उपनिवेशवाद र सबै प्रकारको विस्तारवाद हाम्रा साझा शत्रु हुन् । तिनीहरूलाई हराउनु हाम्रो विजयको अघिल्लो विजय हो । थाहै छ, एक देशमा मार खाएको डाँकुले अर्को देशमा त्योभन्दा चर्को मार खान्छ र हुँदा हुँदा आखिरमा उसले पूर्णरूपले हार नखाइ सुखै हुन्न । यसरी हामी हाम्रो सम्भावित र साझा शत्रुलाई पहिले नै पराजीत गर्न सफल हुनेछौँ ।
तर, हाम्रा केही साथीहरू ‘विदेशी कुरा छोड, हाम्रो देशको मात्रै कुरा गर’ भन्ने नारा लगाउँछन् वा फलाको गर्छन् । तर, इतिहासले हामीलाई बताउँछ कि एक देशका शत्रुलाई अर्को देशका जनताले सजाय गरेका छन् । चीनको ताइपेह विद्रोह दबाउने बेलायती उपनिवेशवादी डाँकु र ज्यानमारा गोर्डनलाई अफ्रिकी जनतालाई लुटपाट गर्न जाँदा सुडानी जनताले सजाय गरेका थिए । एक देशका जनतालाई दबाउने उपनिवेशवादी लुटेरा र ज्यानमाराहरूलाई अरू देशका जनताले सजाय गरेका उदाहरणहरू थुप्रै पाइन्छन् । अमेरिकाको बेलायती साम्राज्यवादविरोधी स्वतन्त्रताको सङ्घर्षमा फ्रान्स र युरोपेली जनताले अमेरिकी जनतालाई मद्दत गरेका थिए । फ्रान्सेली क्रान्तिमा फ्रान्सेली जनताले अमेरिकी क्रान्तिबाट प्रेरणा पाएका थिए । संसारका सबै मजदुर आन्दोलनको अनुभवबाट रुसी क्रान्तिले सफलता प्राप्त गरेको थियो ।
संसारका हरेक स्वतन्त्रता सङ्ग्राम र क्रान्तिहरूमा अरू देशका जनताको पनि योगदान भएको हुन्छ । विदेशी जनताको सहयोग, समर्थन वा योगदानबिना स्वतन्त्रता र मुक्ति सम्भव थिएन र छैन । तर, ‘विदेशका कुरा नगर्ने’ फलाकावादीहरू इतिहासबाट सिक्न चाहँदैनन् । तिनीहरू साँचो अर्थमा स्वतन्त्रता र मुक्ति चाहँदैनन् । तिनीहरू अन्ध–राष्ट्रवादी र सङ्कीर्ण राष्ट्रवादीहरू हुन् । तर, संसारका मजदुर, किसान र क्रान्तिकारी जनतालाई थाहा छ कि अरू देशका कामदार जनता स्वतन्त्र र मुक्त नभएसम्म आफ्नो देशको कामदार वर्गले पनि साँचो र अन्तिम स्वतन्त्रता र मुक्ति पाउँदैनन् । यसकारण, हामीमा अन्तर्राष्ट्रवादी भावना हुनुपर्छ । हामी अन्तर्राष्ट्रवादी हौँ । मजदुर, किसान र क्रान्तिकारी जनता अन्तराष्ट्रिवादी हुन् । मजदुर किसान र जनताले जुन कुरो मन पराउँछन्, साहित्यकारहरूले पनि त्यसलाई मन पराउन जान्नुपर्छ । यसकारण, साहित्यकारहरू पनि अन्तर्राष्ट्रवादी हुनुपर्छ । तिनीहरूले आफ्नो अन्तर्राष्ट्रवादी कर्तव्यलाई पूरा गर्नुपर्छ । आफ्नो देशको क्रान्तिको निम्ति यो धेरै महत्वपूर्ण कुरा हो ।
स्रोत : जनताको साहित्य र साहित्यकार
लेखक : हरिबहादुर श्रेष्ठ
Leave a Reply