भर्खरै :

“देउवा सरकार किसानविरोधी सरकार हो”

सर्लाही, ३ भदौ । “कृषिप्रधान देशमा समयमा मल उपलब्ध गराउन नसक्नु, सिँचाइको व्यवस्था गर्न नसक्नु र कृषिमा समेत भारत निर्भर बनाउँदै लानुले वर्तमान शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार किसानविरोधी सरकार भएको पुष्टि गर्छ ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेमकिपा सर्लाही जिल्ला समितिद्वारा शुक्रबार आयोजित किसान भेलामा व्यक्त गर्नुभएको हो ।
कार्यक्रममा केन्द्रीय सदस्य प्रजापतिले शासक दलका उम्मेदवारहरूले राजनीतिलाई व्यापारको रूपमा प्रयोेग गरिरहेको बताउँदै राजनीति व्यापार नभई देश र जनताको निःस्वार्थ सेवा हो भन्नुभयो ।
संसद्बाट हालै पारित नागरिकता विधेयकका कारण विदेशीहरू देशको महत्वपूर्ण पदहरूमा पुगी नेपाली जनतालाई शासन गर्न सक्ने खतरा रहेको हुँदा नेमकिपाले उक्त विधेयककोे सदन र सडकबाट विरोध गरिरहेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “ठूला पार्टीहरूले निर्वाचनमा पैसा, पद र प्रलोभन देखाई चुनाव जित्ने दाउ खोजिरहेको हुँदा जनता सचेत हुनुपर्छ । सिद्धान्त र विचारको राजनीति नेमकिपाले गर्दै आएको छ ।”
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय सहसचिव जगनाथ सुजखुले नेमकिपालाई समूल नष्ट गर्न पञ्चायती राज्यस्तरबाट २०४५ भदौ ९ गते रचिएकोे षड्यन्त्रको भत्र्सना गर्दै पार्टीले सो दिनलाई कालो दिनको रूपमा जनतालाई सचेत पार्ने काम गर्दै आएको बताउनुभयो ।
नेपाल इन्जिनियरिङ समाजका उपाध्यक्ष नरेश खत्रीले विगतमा बारा, पर्सा र रौतहटमा भएको किसान आन्दोलनको चर्चा गर्दैै नेमकिपाले स्थापनाकालदेखि देशघाती एमसीसीलगायत नागरिकता विधेयकलाई पार्टीगतरूपमा विरोध गर्दै आएको बताउनुभयो ।
नेमकिपाले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको निरन्तर विरोध गर्दै आएको उहाँले प्रस्ट पार्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाइ तथा सम्पदा संरक्षणलाई प्रमुख प्राथमिकतामा राख्दै समाजवादउन्मुख गतिविधि गरिरहेको बताउनुभयो ।
नेमकिपा सर्लाहीका जिल्ला अध्यक्ष रमाकान्त काफरले कार्यकर्ताहरूको राजनैतिक स्तर नउठेसम्म पुँजीवादी व्यवस्थाका मतियारहरूले पैसाको राजनीति गरिरहने हुँदा निर्वाचनमा जनताका सच्चा र इमानदार उम्मेदवार पहिचान गरी मत दिनुपर्ने बताउनुभयो । कार्यक्रममा रौतहटका इन्चार्ज दिनेशप्रसाद साहले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *