भर्खरै :

साम्राज्यवादका दलाललाई साथ दिने वामपन्थी ?

साम्राज्यवादका दलाललाई साथ दिने वामपन्थी ?

नेपालको राजनीतिक परिदृश्यमा को वामपन्थी हो र को दक्षिणपन्थी भन्ने प्रश्न फेरि तातो बहसको विषय बनेको छ । हिजोको एमाले– माओवादी केन्द्रको सरकारलाई धेरैले वामपन्थी सरकार भने तापनि वास्तवमा वामपन्थी सरकार थिएन । त्यो सरकारले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिनेबाहेक वामपन्थी सरकारले गर्ने कुनै कार्य गरेको थिएन । त्यो सरकारलाई ढालेर शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको हरेकजसो कदम देश र जनताको हितविरुद्ध र पश्चिमा साम्राज्यवादी र भारतीय विस्तारको इशारामा भइरहेको राजनीतिको सामान्य बुझाइ भएको जो सुकैले सजिलै बुझिरहेका छन् । केही करोड आर्थिक सहायता पाउने लोभमा देशको सार्वभौमिकता र असंलग्न तटस्थ विदेश नीतिलाई तिलाञ्जली दिने कदम संरा अमेरिकी र पश्चिमा साम्राज्यवादीहरूको दलाल बन्नु हो । वर्तमान सरकारले पाइला–पाइलामा आफूलाई पश्चिमा साम्राज्यवादीहरूको र भारतीय विस्तारको दलाल सरकार भएको पुष्टि गर्दै लगेको छ । एमसीसी सम्झौता, एसपीपी सम्झौता र नागरिकता संशोधन विधेयक र जलविद्युत्सम्बन्धी हालैका सन्धि –सम्झौताहरू त्यसका ठोस प्रमाण हुन् । यस्तो सरकारमा बसेर वामपन्थी एकताको आह्वान गर्ने कथित कम्युनिस्ट पार्टी र सत्ता गठबन्धनमा बसेर सरकारलाई साथ दिने तर बाहिर बाहिर सरकारको नीति–निर्णयको विरोध गर्ने दलहरू कसरी वामपन्थी दल हुनसक्छन् ? वर्तमान सत्ता गठबन्धनमा रहेका कथित नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी त एमालेजस्तै कम्युनिस्ट आन्दोलनलाई पतन गर्नका लागि कम्युनिस्ट पार्टीको नाममा सक्रिय धोखेबाज दलहरू नै हुन् । तुलनात्मकरूपमा नीतिमा अडिएको दल नेकपा मसाल वा राष्ट्रिय जनमोर्चाको नेतृत्वसमेत पद भागबन्डामा भाग पाउनका लागि कार्यकर्ता र जनताको आशाविपरीत गठबन्धनको जालोमा परेको छ । तिनै सिद्धान्तमा चिप्लेका वामपन्थीहरूले पुँजीवादी सत्ता गठबन्धनमा रहेर वामपन्थी एकताको कुरा गर्ने र नेमकिपा सच्चा वामपन्थी पार्टीको विरोध गर्ने विडम्बनापूर्ण अवस्था देखापरेको छ । सचेत जनता प्रश्न गरिरहेका छन्, साम्राज्यवादका दलाललाई साथ दिनेहरू कुनखाले वामपन्थी ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *