भर्खरै :

शासक दलहरू भारतीय दलाल साबित

सर्लाही, ३ भदौ । “नेपालमै नेपाली जनता अल्पमतमा पर्ने खतरा भएको नागरिकता विधेयक पारित गर्नुले नेपालका शासक दलहरू भारतीय दलाल भएको पुष्टि भएको छ ।”
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शुक्रबार सर्लाहीको लालबन्दीस्थित ढुकढुकी एफएमका प्रतिनिधि क्षितिज विश्वकर्मासँगको कुराकानीमा उक्त भनाइ राख्नुभएको हो ।
“नेपाल र नेपाली जनताको हितभन्दा निर्वाचन जित्न भारतलाई खुसी पार्न देशघाती नागरिकता विधेयक पारित गर्नु देश र जनताविरूद्धको अक्षम्य अपराध हो” उहाँले भन्नुभयो ।
विचार र सिद्धान्त थाती राखी जे गरेर पनि निर्वाचन जित्ने शासक दलहरूको सोच प्रजातान्त्रिक मूल्य र मान्यताविपरीत भएको उहाँले बताउनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “एमसीसी पारित गरेर शासक दलहरू अमेरिकी सेना नेपालमा भित्याउन खोज्दै छन् । रूस र युक्रेनबीचको युद्धमा नेपालले युक्रेनको पक्ष लिएर नेपाल अमेरिकी सैन्य मोर्चाको पक्षमा गएको प्रमाणित भएको छ ।”
उहाँले नेपालको जलस्रोत एक–एक गरेर भारतीय शासक वर्गको हातमा सुम्पेर नेपाललाई भारतले उपनिवेश बनाउन खोजेको आरोप लगाउँदै नेपालले आत्मनिर्भरताको बाटो नरोजेसम्म समृद्धिको कल्पना गर्न नसकिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *