भर्खरै :

तुच्छ राजनीतिको पराकाष्ठा : अमेरिकी सांसदको थाइवान भ्रमण

के तपाईँलाई ‘मदनबहादुर हरिबहादुर’ टेलि चलचित्रको एउटा चर्चित संवाद याद छ ? हरि बहादुरको जिम्मामा छोडेर गएको सामान घर फर्केपछि मदनबहादुरले फिर्ता माग्छ । तर, हरिबहादुरले बुझेर पनि नबुझेजस्तै गर्दै सोध्छ, ‘कुन सामान’ ? फेरि मदनबहादुरले हरिबहादुरलाई सम्झाउँदै भन्छन्, हामी घर छोडेर जाँदा तिमीलाई मेरो घरको सबै सामान छोडेर गएको हो कि होइन ? हरिबहादुरले ‘हो’ भनेर जवाफ दिन्छन् । मदन बहादुरले भन्छन्, ‘त्यही समान फिर्ता दिनु भनेको’ । हरिबहादुरको फेरि त्यही प्रश्न हुन्छ, ‘कुन सामान ?’ यस्तो संवाद पटक पटक दोहरिरहन्छ तर हरिबहादुरको उही पाखण्डी जवाफ आइरहन्छ, ‘कुन सामान ?’
अहिले चीन र अमेरिकाबीच थाइवानसम्बन्धी विवादमा माथि उल्लेखित संवादजस्तै भइरहेको छ । अमेरिकाले पटक–पटक चीनको आन्तरिक मामलामा हस्तक्षेप गरेपछि चीनले अमेरिकालाई सन् १९७२ मा एक चीन नीतिमा दुई देशबीच भएको हस्ताक्षर स्मरण गराउँदै सोध्छ, ‘एक चीन’ नीतिमा हस्ताक्षर गरेको हो कि होइन ? अमेरिका भन्छ, “हो” । चीनले फेरि सोध्छ, अनि थाइवान मामलामा किन हस्तक्षेप गरेको ? अमेरिका नबुझेझै गर्छ, ‘कुन थाइवान ?’ अमेरिकी सभामुख न्यान्सी पेलोसीको थाइवान भ्रमणपछि चीनले फेरि सोध्छ, अमेरिकाले ‘एक चीन’ नीतिलाई मानेको होइन ? अमेरिकाले भन्छ, “हो” । फेरि थाइवान भ्रमण किन, चीन सोध्छ ? अमेरिका भन्छ, “कुन थाइवान ?”
अमेरिकी सभामुख न्यान्सी पेलोसीको थाइवान भ्रमणपछि बढेको तनाव युद्धमा परिणत हुने हो कि भन्ने धेरैलाई डर थियो । तर, चीनको कुन रणनीतिले हो, युद्ध टरेकोमा धेरैले राहत महसुस गर्न पनि पाएका छैनन् माथिको संवादलाई दोह¥याउँदै फेरि ५ जना अमेरिकी सांसदले थाइवान भ्रमण गरे । एकातिर अमेरिका ‘एक चीन’ नीति हाम्रो धारणा भन्दै गर्छ अर्कोतिर थाइवानको मामिलामा हस्तक्षेप पनि गर्दै गर्छ । विश्व समुदायले यस्तो अमेरिकी पाखण्डलाई कसरी लिने ?
यति बेला चीन कमजोर भएरमात्र पछि हटेको हो कि वा चीनले चाहेको खण्डमा थाइवानलाई बल प्रयोग गर्नसक्छ ? विशेषगरी युक्रेनमा रूसको समस्याग्रस्त युद्धपछि धेरैको मनमा यो कुरा खेलिरहेको हुनसक्छ । यसमा कुनै शङ्का छैन, चीनले थाइवानलाई एकीकरण गर्ने नै छ, ‘शान्तिपूर्ण’ वा ‘बल प्रयोग’, बाटो कुन लिइने छ भन्नेमात्र हो । चिनियाँ सेनाको स्थापनाको ९५ औँ वार्षिकोत्सवको अवसरमा ‘लिबरेसन आर्मी दैनिक’ ले सन् २०२७ सम्ममा सैन्य आधुनिकीकरणका मुख्य अङ्गहरू हासिल गर्ने लक्ष्यमा जोड दिएको छ । यसको अर्थ संसार सरल रेखामै गयो भने पनि थाइवान एकीकरण सन् २०२७ भन्दा पर जाने छैन नभए त्योभन्दा पहिले हुनसक्छ ।
सन् २०२१ को अमेरिकी रिपोर्टअनुसार पानीजहाजको सङ्ख्याको आधारमा चीनले विश्वको सबैभन्दा ठूलो नौसेना निर्माण गरेको कुरा उल्लेख गरेको छ । अमेरिकाको गोप्य अध्ययनहरूले पनि थाइवान आक्रमणलाई विश्वसनीय बनाउन आवश्यक पर्ने केही उपकरण र सीपहरू चीनसँग अझै पनि कम भएको सङ्केत गरेको छ । चीनको थलजल शक्तिसँग थाइवानमा ठूलो मात्रामा आक्रमण गर्ने क्षमता छैन । चिनियाँ सेनाले आफ्नो लडाइँको सीपमा सुधार गरिरहेकोमा कुनै शङ्का छैन । तर, थाइवान पनि प्रतिरक्षा निर्माण गरिरहेकोले अहिले नै चीनले कब्जा गर्न सक्ने क्षमता नभएको र चिनियाँ सेना थाइवानको किनारमा पुग्न सफल भए पनि सहरी युद्धका चुनौतीहरूले लडाईँ चीनको लागि गम्भीर राजनीतिक र सैन्य जोखिम बनाउँदछ, अमेरिकी रिपोर्टले भन्छ ।
यस सन्दर्भलाई जोडेर अमेरिकाले थाइवान सेनालाई तालिम दिइरहेको छ । थाइवान सेनालाई तालिम दिएर जनमुक्ति सेनाको प्रतिरोध गर्न थाइवानको आत्मविश्वास बढाउने अमेरिकी प्रयास व्यर्थ हुनेछ । अमेरिकी सेनाले अफगान सरकारी सेनाका लागि व्यापक सशस्त्र तालिम पनि दियो तर तिनीहरू अन्ततः असफल भए । यसबाहेक भियतनाम युद्ध पनि एक विशिष्ट उदाहरण हो । यी सबै घटनाहरूले के प्रमाणित गरेको छ भने अमेरिकी सेनाको उपकरण र प्रशिक्षण कहिल्यै सेनाको आत्मबल भएन ।
चीनलाई अप्ठेरोमा पारेको देखाएर अमेरिकामा हुन गइरहेको मध्यावधि चुनाव जित्न डेमोक्र्याटहरूले थाइवान भ्रमणलाई प्रयोग गरेर तुच्छ स्तरको राजनीति गरिरहेका छन् । यही प्रसङ्गमा अमेरिकाकै तत्कालीन विदेश मन्त्री हेनरी किसिन्जरले भनेका छन्, “युद्ध कसरी समाप्त हुँदै छ वा यसले के निम्त्याउने भन्ने कुनै अवधारणाबिना हामी आफैले सिर्जना गरेका मुद्दाहरूको कारण रसिया र चीनसँग लगभग युद्धमा छौँ ।”
आकाशमा चिल देखाएर भुईँको चल्ला टिप्ने छट्टु स्यालझैँ तालिवानलाई देखाएर अफगानिस्तान ध्वस्त अनि रासायनिक हतियारको झूटको खेती गरेर इराक ध्वस्त पारेको अमेरिकाले थाइवानको निहुँ झिकेर चीनको अर्थतन्त्र बिगार्न षड्यन्त्र गर्दै छ । यदि यस्तो हुन्छ भने चीनको मात्र अर्थतन्त्र होइन विश्व अर्थतन्त्र नै धरापमा पर्नेछ । त्यतिबेला विदेशीको कुरा हामीलाई किन चिन्ता भनेर ज्ञानी पल्टेका नेपालीहरूको पनि अर्थतन्त्र बिग्रिनेछ । विश्वका लागि यदि अमेरिकी उक्साहटबाट चीनले थाइवान क्षेत्रमा अर्को युक्रेनजस्तो सैन्य कारबाही सुरु गर्यो भने सामान्य अमेरिकी जनतासहित विश्वका ७ अर्ब मानिसले बढ्दो मुद्रास्फीति, उच्च खाद्यान्नको मूल्य, खराब ऊर्जा सङ्कट आदिको सामना गर्नुपर्नेछ । हतियार व्यापारीहरू र अमेरिकी राजनीतिज्ञहरूले जनताको मूल्यमा यसबाट लाभ चाहिँ उठाउन सक्छन् । अमेरिकाले थाइवानलाई चीनविरुद्ध उचालेर चीनको अर्थतन्त्र ध्वस्त पार्ने अमेरिकाको मनसाय राख्दा अमेरिकामै अथाह मूल्यवृद्वि र आर्थिक सङ्कट पर्न थालेको खबर छ ।
युक्रेन मामलामा अमेरिकाको साथ युरोपेली सङ्घ लाग्दा रुसी ग्यास र पेट्रोलमा निर्भर युरोपमा अहिले पेट्रोलियम पदार्थको मूल्य ४५ प्रतिशत वृद्धि भएको छ । खाद्यान्न पनि २० प्रतिशत महँगो भएको छ । विश्वमै सरदर १० प्रतिशतभन्दा बढीको मुद्रास्फीति छ । यदि चिनियाँ भूमिमा थाइवान एकीकरण अभियानविरुद्ध अमेरिका संलग्न भयो भने विश्वले कति प्रतिशत मुद्रास्फीति झेल्नुपर्ने हो त्यसको अनुमान पनि गर्न सकिँदैन ।
जब संयुक्त राज्यले अरू मुलुकको आन्तरिक मामलामा हस्तक्षेप गर्छ त्यो मानवताका लागि हुन जान्छ । तर, जब अरू कसैले मानवताका लागि केही गर्छ त्यो अमेरिकाको लागि आतङ्कवाद हुन जान्छ । यसलाई भनिन्छ, उच्च स्तरको पाखण्डीपन । अमेरिका आफैले बनाएको विषको स्वाद चाख्दै छ । कसैको अस्तित्व स्वीकार गर्न नसक्ने युरोपेली–अमेरिकी चिन्तन सबैभन्दा बढी अराजक छ । अमेरिकालगायत नेटोमा आबद्ध राष्ट्रहरू रुस, चीन र उत्तर कोरियालाई ध्वस्त गर्ने एजेन्डामा छलफल चलाउँछन् भने चीन, रुसलगायतका राष्ट्रहरू भाइचारा, विकास र सहयोगको एजेन्डामा छलफल गर्छन् । कति अन्तर ? पश्चिमेली उक्साहटमा लागेर फूर्ति देखाउनेहरू अन्ततः आफै सकिएका उदाहरण थुप्रै छन् । कुनै पक्षसँग नजिक हुनुअघि हामी नेपालीले पनि बुझ्नुपर्ने यी कुरा नै हऊन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *