के मन्त्री भ्रष्टाचारको पर्याय हो ?
- चैत्र ३०, २०८२
देशका अधिकांश युवाहरू रोजगारविहीन छन् । राज्यले देशमा उद्योग तथा कलकारखाना खोलेर रोजगारीको व्यवस्था गरेको भए युवाहरू विदेश जान बाध्य हुनेछैनन् । रोजगारीको निम्ति युवाहरू आफ्नो जन्मभूमि गाउँ–ठाउँ छोडेर विदेश पसिरहेका छन् । सरकार स्वदेशमै रोजगारीको व्यवस्था गर्ने फुक्छ तर त्यो व्यवस्था गर्न सकिरहेको छैन । सत्तासीन दलहरूको कारण देश पराधीन बन्दै छ । विदेशी ऋण र विदेशी सहयोगमा सरकार चलिरहेको हुँदा यहाँ काम मामको व्यवस्था गर्न नसकेको हो । त्यसकारण, सरकारले युवाहरूको जीवन सुनिश्चित गर्न सकेको छैन । देशमै सरकारले काममामको व्यवस्था गर्न सकेको भए युवाहरू विदेशिन बाध्य हुनेछैनन्, अर्काको दास बनेर, लात खाएर बस्नुपर्ने छैनन् ।
रोजगारीको निम्ति पुगेका युवाहरू मालिकको उठबसमा मरीमरी काम गर्नुपर्ने बाध्यता छ । विदेश पसेका कति युवाहरू काम नपाएर, काम गरेर पनि पारिश्रमिक नपाएर, कम्पनी र मालिकले धोका दिएर दुःखको आँसु पिएर जीवन बिताउनुपरेको कुरा सामाजिक सञ्जालमार्फत नेपालीले जानकारी लिइरहेका छन् । घर–खेत बेचेर दुःख कष्ट खाए पनि परिश्रमको फल नपाएका युवाहरू कति घाटा सहेर फर्के, कतिले आत्महत्या गरे त कति नेपाल फर्कन गुहार माग्दै छन् ।
म्यानपावर कम्पनीसँगको सम्झौताअनुसार काम हुँदैन । बिचौलियाहरूले बीचमा धोका दिएका हुन्छन्, फसाएका हुन्छन् । युवाहरू बीचमा परेर सङ्कटमा परेका हुन्छन् । आपत्विपत् या सङ्कटमा पर्दा सहयोग र साथ दिने कोही परिचित हुँदैनन् । कहीँ कतै बेहोस हुँदा, बाटोमा दुर्घटना हुँदा हेर्ने मान्छे नै हुँदैन । यसकारण, कति युवाहरू समयमा उपचार गर्न नपाई छटपटिएका हुन्छन् र मरेका हुन्छन् । कारणवस मरिहाल पनि लास उठाउने मान्छे हुँदैन । कतिको लास उठे पनि पैसाको कारण नेपालमा ल्याउन सकेको हुँदैन । यसबारे सरकारले मुख खोलेको छैन । सरकार युवाहरूलाई विदेश पठाएर उनीहरूबाट प्राप्त रेमिट्यान्सले देश चलाउने या विकास गर्ने कुरा फुक्छ । यसैलाई सरकार गर्व ठान्छ । के यो देशको दुर्भाग्य होइन ? देशलाई दुर्गतितर्फ लैजाने काम सरकारले गरिरहेको छ । यसरी सरकार देशको बाधक बन्दै छ ।
Leave a Reply