भर्खरै :

सबै दलको राजनीति स्वच्छ हुनुपर्छ

देश विकास गर्ने हो र जनताको जीवनस्तर माथि उठाउने हो भने हरेक राजनीतिक दलको छवि स्वच्छ हुनुपर्छ । देशका सबै दलको राजनीति स्वच्छ नभएसम्म देश विकास सम्भव छैन, देशमा भ्रष्टाचार र कमिसन अन्त्य हुनेछैन । स्वच्छ राजनीति गर्न राजनीतिमा संलग्न प्रत्येक नेता तथा कार्यकर्ता र सरकारका सबै निकायमा आबद्ध व्यक्तिहरू पनि स्वच्छ छविका हुनुपर्छ । दल आफै खराब हुने होइन, सरकारी निकाय आफै खराब हुने होइन । दल र सरकारी निकायमा आबद्ध व्यक्तिहरू खराब भएको, भ्रष्टाचार र अनियमिततामा मुछेको कारण दल र सरकारी निकायहरूको बदनाम भएको हो ।
देशमा विचार र सिद्धान्त नफेरेको दल नभएको होइन, दाग नलागेका नेताहरू नभएका होइनन् । तर, एक दुई वटा पार्टी र पार्टीका नेताहरू स्वच्छ भए पनि, पार्टीको उद्देश्य पूरा गर्न लागिरहेका भए पनि देशको कोल्टो फेर्न सकिँदैन । दलका सबै नेताहरू स्वच्छ मनका भए, सरकारी संयन्त्रका सबै व्यक्तिहरू स्वच्छ र इमानदार भए, देश र जनताको निम्ति काम गर्नुपर्छ भन्ने भावनाले काम गरेका भए देशमा कसरी भ्रष्टाचार हुन्छ ? देशको विकासमा कसरी चुहावट हुन्छ ? सबै जना सबै ठाउँमा इमानदार नभएरै विकृति र विसङ्गति भएको हो ।
कुनै दलका नेताले बिगारेपछि सबै नेता उस्तै हुन् भन्ने भ्रम पनि छ यहाँ । तर, सबै उस्तै हुँदैनन्, उस्तै छैनन् । जुन दलका नेताले गल्ती गरेको हो त्यस दलका नेताको विरोध या खबरदारी गर्ने हो । जसले देशघाती काम गरेको हो उसैको विरोध गर्ने हो । जसले देश र जनतालाई ढाँटेको हुन्छ, ठगेको हुन्छ उसकै विरोध गर्नुपर्छ । छिनछिनमा पार्टी फेर्ने, छिन–छिनमा नयाँ–नयाँ पार्टी खोल्ने दलका नेताहरू पनि स्वच्छ छविका हुँदैनन्, तिनीहरू अवसरवादी नेता हुन् । नयाँ–नयाँ दल बनाउँदै विचार फेर्ने नेताहरूमा बाबुराम भट्टराई पनि परेका छन् । अहिले फेरि नयाँ पार्टी बनाएर माओवादीसँग मिल्ने कुरा गर्दै छन् उनी । व्यवहारत : उनी अडान नभएको नेतामा गनिएका छन् । यस अर्थमा उनी छटपटिएका छन् ।
देशको राजनीति स्वच्छ हुनुपर्छ । राजनीति गर्ने र सरकारी काम गर्ने व्यक्तिहरू सबै स्वच्छ हुनुपर्छ । स्वच्छ छवि भएका व्यक्तिहरूको स्वच्छ कामले राम्रै नतिजा पाउँछ । जो जहाँ पुगे पनि, जहाँ बसेर काम गरे पनि पवित्र मनले काम गर्नुपर्छ । आफ्नो जिम्मेवारी भुल्ने र जनविरोधी काम गर्ने व्यक्ति कसरी स्वच्छ मनको हुन्छ ? दलका आफ्ना नेता, मन्त्री, सांसद, कार्यकर्ता तथा जनप्रतिनिधिहरूलाई स्वच्छ बनाउन नसक्नु, बनाउने प्रयास नगर्नु दलकै कमजोरी हो । सरकारी काममा घुस खानु, ढिलासुस्ती हुनु, अनियमितता गर्नु आदि सबै अस्वच्छ काम हो । यसरी व्यक्तिलाई खराब बनाउने काममा प्रत्यक्ष या अप्रत्यक्ष स्थान दिने काम दलहरूले गरिरहेका छन् । यो काम रोक्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *