भर्खरै :

पचास वर्षपछि ‘वृद्धिको सीमितता’

अचाक्ली मुद्रास्फीति । युद्ध । चर्किँदो ऊर्जा समस्या । चर्किँदो ताप । वैज्ञानिकहरूको गिरफ्तारी । महिला अधिकारको हननले ५० वर्षअघि फर्काउनु… ठीक ५० वर्षअघि । के यी सबैबीच कुनै तालमेल छ ?
यो वर्ष विशेष छ । २० औँ शताब्दीको सर्वाधिक महत्वपूर्ण पुस्तक ‘वृद्धिमा सीमा’
(द लिमिट्स टु ग्रोथ) प्रकाशित भएको ५० वर्ष पुगेको छ । सन् १९७२ मै त्यस पुस्तकले पृथ्वीको आफ्नै सीमाहरू छन् र छिट्टै तिनको सामना गर्नुपर्नेछ भनेर स्पष्ट चेतावनी दिएको थियो । यसकारण, यस पुस्तकका लेखक डेनिस मिडोजले विश्वका महत्वपूर्ण अखबारहरूमा अहिले पनि अन्तर्वार्ता दिँदै छन् ।

ह्वाँ बोर्डेरा : तपाईँको पुस्तक प्रकाशित भएको ५० वर्ष बित्यो । तपाईँले कल्पना गर्नुभएको विश्व–३ को मानक चित्र यथार्थनजिक छ । तपाईँले सन् २०२० आसपास वृद्धि (वा विकास) ठप्प हुने अनुमान गर्नुभएको थियो । के आज हामी त्यही स्थिति भोग्दै छौँ ?
डेनिस मिडोज : हामीले अनुमान गरेका थिएनौँ । मानव स्वभावले निर्णायक हुने विषयमा किटेर केही पनि ‘अनुमान’ गर्न असम्भव छ भनेका थियौँ । हामीले भौतिक र सामाजिक नियमअनुरूप मोडेल १२ तयार पारेका थियौँ । अर्थात्, १२ सम्भावित भविष्यहरू । त्यसमध्ये एउटालाई ‘मानक’ भनेका थियौँ । त्यसले सन् २०२० तिर वृद्धि रोकिने देखाएको थियो । त्यतिबेला औद्योगिक र खाद्यान्न उत्पादनलगायत सम्पूर्ण सूचकाङ्क चरमचुलीमा पुग्ने र १५ वर्षभित्र निर्बिघ्न ओरालो झर्ने बताइएको थियो ।
त्यो दृश्य के हामीले भोगिरहेको वर्तमानसँग मिल्छ ? म भन्छु, मिल्छ । सीमाहरू भत्केका झन्झन् धेरै परिणाम देखापर्दै छन् ।
सन् १९७२ मा हामीले धेरै ध्यान दिएको कुरा के भने, कुनै पनि सूचकाङ्क चरमचुलीमा पुगेपछि पूर्वानुमान गर्नै नमिल्ने हुन पुग्छ । किनभने, ती सूचकाङ्क हाम्रो मोडलमा राख्न सकिन्न । यस्तो अवस्थामा भौतिक सीमाहरूले भन्दा हामी मनोवैज्ञानिक, सामाजिक र राजनीतिक पक्षहरूबाट प्रभावित हुन्छौँ ।

बोर्डेरा : तपाईँले जलवायु परिवर्तनलाई ‘लक्षण’ भनेको मैले सुनेको छु । यो लक्षण भनेको कस्तो होला ? अलि खुलाइदिनु न !
मिडोज : जलवायु परिवर्तन, मुद्रास्फीति, खाद्यान्न अभावलाई कहिलेकाहीँ समस्याको रूपमा हेरिन्छ । तर, तिनीहरू ठूलो समस्याका लक्षणमात्र हुन् ।
लगातार टाउको दुख्नु कहिलेकाहीँ क्यान्सरको लक्षण हुनसक्छ । त्यस्तै आजका धेरै भौतिक उपभोग जटिलताहरूले पृथ्वीको सीमा नाघिसकेको छ भन्ने कुराका लक्षणहरू हुन् । लक्षणहरू महत्वपूर्ण छन् । टाउको दुखेपछि केही त गर्नैपर्छ । एस्प्रीनले बिरामीलाई केही समयलाई सजिलो पार्न सक्छ । तर, त्यसले भित्री समस्या निराकरण गर्नसक्दैन । शरीरमा अचाक्ली बढ्दै गरेका क्यान्सरका कोषहरू निकाल्नुपर्छ ।
एकचोटिमा एउटामात्र समस्या हल गरेर वृद्धि टिकाउन सकिन्न । जलवायु परिवर्तन हल गर्ने नै हो भने पनि अर्को समस्या आइलाग्नेछ । त्यो पानी, खाना वा अन्य मूलभूत स्रोतको अभाव हुनसक्छ । वृद्धि त कुनै न कुनै कारणले रोकिन्छ नै ।

बोर्डेरा : (हाइड्रोजन, कार्बन सोस्ने वा भण्डारण गर्नेजस्ता) प्रविधिले सदा हाम्रो उद्धार गर्नेछ भन्ने प्रगतिको मिथकले वास्तविक समस्या हल गर्नबाट हाम्रो हात बाँध्छ । डिग्रोथ वा वृद्धिबाट पछि हट्नु अपरिहार्य छ । के हामीलाई सांस्कृतिक, नैतिक र मर्यादामा परिवर्तन चाहिएको हो ?
मिडोज : हो, ५० वर्षअघि हाम्रो एउटा महत्वपूर्ण मान्यता यही थियो । प्रविधिले हामीलाई थोरै समय दिलाउन सक्छ । तर, यसले हाम्रो समस्या हल गर्नेछैन । यसले आवश्यक राजनीतिक र सामाजिक परिवर्तनहरू ल्याउने मौका दिनसक्छ । तर, प्रत्येक समस्या समाधान गर्न वृद्धि चाहिने प्रणाली रहुञ्जेल प्रविधिले महत्वपूर्ण सीमाहरू मिच्नबाट रोक्न सक्नेछैन । हामीले यो कुरा देखिसकेका छौँ ।

बोर्डेरा : तपाईँ र तपाईँका साथीहरूको खोज अत्यन्त उपयोगी र महत्वपूर्ण भए पनि आलोचना पनि प्रशस्तै खेप्नुप¥यो । ‘मीठामीठा’ बहसको पर्खालबाहिर गएर सोच्नेहरूसँग सधैँ यस्तै हुन्छ । के समाजमा केही विषयबारे कुराकानी गर्नै नमिल्ने हो ? किनभने, धेरैका लागि तपाईँ महाविनाशवादी हुनुभयो, चरम निराशावादी हुनुभयो !
मिडोज : पुस्तक निस्किँदा सन् १९७० को दशकमा म ‘लाटो’ थिएँ । मैले विज्ञानको तालिम लिएको थिएँ र वैज्ञानिक विधिको प्रयोग गरेर हामीले निर्विवाद तथ्य खोजी निकालेका छौँ भन्ने लागेको थियो । यी तथ्य मानिसहरूलाई बताएर उनीहरूको दृष्टिकोण र व्यवहारमा परिवर्तन ल्याउन सकिने हाम्रो बुझाइ थियो । यसलाई लाटो चाल नै भन्नुपर्छ ।
यस्तो स्थिति सामना गर्ने दुई उपाय छन् । पहिलोमा तपाईँले तथ्याङ्क सङ्कलन गर्नुहुन्छ र ती तथ्याङ्कले के निष्कर्ष दिन्छन् भनी हेर्नुपर्छ । यो वैज्ञानिक विधि हो । अर्को उपाय एकदम चलनचल्तीमा पाइन्छ । तपाईँले कुन निष्कर्ष महत्वपूर्ण छ भनी निधो गर्नुहुन्छ र त्यससँग मेल खाने आफ्ना ‘निष्कर्षहरू’ लाई टेवा दिने तथ्याङ्कहरूको खोजी गर्नुहुन्छ । जलवायु परिवर्तन भएको छैन भन्नेहरू यसकै उदाहरण हुन् ।
यसखाले मान्छेहरूसँगको बहसमा म कहिल्यै माथि पर्न खोज्दिनँ । कोही मकहाँ आएर ‘जथाभावी’ आरोप लगाउँछ भने म भन्छु, ‘तपाईँले भनेको पुगोस् !’ अनि म अघि बढ्छु ।

बोर्डेरा : व्यवस्था, कम्पनी र व्यक्तिहरू आफ्ना सानातिना स्वार्थ हेरेर प्रतिकारमा उत्रिन्छन् । यसले समाजलाई लामो समय टिक्न दिन्न । यी जड बानीहरूसँग कसरी जुध्ने त ?
मिडोज : हो, यसलाई व्यवस्थापन गर्न समय तन्काएरमात्र पुग्दैन, क्षेत्रफल पनि फराकिलो पार्नुपर्छ । सानो स्वार्थ हेर्नाले ल्याएका सम्भावित क्षति र लाभ हेर्नुस् त ! एउटा उदाहरण : हाम्रो देश अमेरिकामा कोभिड महामारी र त्यसको व्यवस्थापन कति झुर, कति अदूरदर्शी थियो । देशैभरि खोपको प्रबन्ध नगरेसम्म खोप प्रभावकारी हुन्न ।
समय कसरी तन्काउने ? अर्को पुस्तासम्म कसरी जाने ? धेरै मानिसले आफ्ना छोराछोरी, भतिजाभतिजी, भान्जाभान्जी र नातिनातिनाको भविष्यबारे चासो लिन थालेका छन् । यो चिन्ता खसोखास र जायज हो ।

बोर्डेरा : स्पेनबाट डिग्रोथबारे हालसालै राम्रो खबर आएको छ । जलवायुसम्बन्धी प्रथम नागरिक भेलाले पारित गरेका १७२ प्रस्तावमा डिग्रोथबारे शिक्षा दिनुपर्ने आवश्यकता पनि समेटिएको छ । यो बहस थालेकोमा विभिन्न राजनीतिक दल र उपभोक्ता मन्त्रीले पनि समर्थन जनाएका छन् । राष्ट्रसङ्घको आईपीसीसी समितिले पनि आफ्ना रिपोर्टहरूमा यो शब्दको प्रयोग गर्न थालेको छ । के हामी टिमोथी लेन्टनले भनेझैँ सामाजिक टिपिङ प्वाइन्ट वा परिवर्तन रोक्न नसकिने बिन्दुमा पुगेका हौँ ? अथवा, प्रतिक्रिया जनाउनका निम्ति के हामीले सङ्कट पर्खिरहनुपर्ने हो ?
मिडोज : हो, हामी सकारात्मक टिपिङ प्वाइन्टनिर पुगेका छौँ । तर, अर्कोतिर अझ सशक्त प्रतिक्रिया देख्न सङ्कट नै पर्खिनुपर्ने हो कि भन्ने चिन्ता लागेको छ । स्थिति अझ खस्किसकेको छ । उदाहरणको लागि तपाईँले सन् २००० तिरै हाम्रो स्थितिको बयान गर्नुहुन्थ्यो भने त्यतिबेलै चरम सङ्कट देख्नुहुने थियो । हामी पानी तातेर भाग्न नसक्ने स्थितिमा पुगेको भाँडाको भ्यागुताजस्तै छौँ । दुःखले भन्नुपर्छ, हाम्रो स्थिति योभन्दा फरक छैन ।

बोर्डेरा : हेन्डी मोडलअनुसार महाविनाश ल्याउने मूलभूत पक्ष असमानता हो । यसले मानिस–मानिसबीच अविश्वास बढाइदिन्छ । विनाशको यो थप अर्को कारण हो । हाम्रो अर्थव्यवस्थाको बनोट वर्षैपिच्छे बढ्ने खालको छ । यसले सीमा तोक्न असम्भव बनाइदिन्छ । किनभने, यस व्यवस्थामा यथार्थबाट धनीमानीहरू टाढा हुनाले बढ्दो चेतावनीबारे बेखबर हुन्छन् र तिनैलाई आदर्श (व्यक्ति) बनाइन्छ । यो भताभुङ्ग चाला कसरी मिलाउने ?
मिडोज : एकाध समीकरणमा सत्य भेटिन्न । इतिहासमा भेटिन्छ । हजारौँ वर्षको हाम्रो इतिहासले शक्तिशालीहरूले शक्ति खोज्छन् भन्ने देखाउँछ । समाजमा तिनको अवस्थितिले गर्दा सजिलै शक्ति पाउँछन् पनि । यो संरचनात्मक लाभ हो । विद्यमान संरचनाभित्र यसलाई ‘सफलता पहिल्यै सफल हुनेहरूको पोल्टामा पर्छ’ भनिन्छ । हामी यो परिघटनाबाट बिरलै मोडिएका हौँला !
यो भताभुङ्ग चाला कसैले मिलाउन सक्दैन । यसलाई मिलाउन सक्ने कुनै कानुन वा कारबाही होला भन्ने मलाई त लाग्दैन । केही संस्कृतिहरूमा पुनर्वितरण प्रणालीको विकास भएको छ । उत्तरपश्चिम अमेरिकाका केही आदिवासीहरूमा ‘पोत्लाच’ नामक चलन पाइन्छ । सरल शब्दमा भन्छु, ती जातिका धनी मुखियाहरूले आफ्नो सम्पत्तिको केही भाग अरूलाई बाँड्ने चलन छ । बुद्ध धर्मका धेरै प्रवर्तकहरूमा पनि भौतिकताबाट अलग रहने परिपाटी पाइन्छ । विश्वसँग तुलना गर्दा यी उदाहरण अपवाद हुन् । हाम्रो समाजमा शक्ति जम्मा गर्ने प्रवृत्ति पाइन्छ र यसले नै मान्छेलाई यथार्थबाट अलग राख्छ । तब तपाईँ विनाशको आहार बन्नुहुन्छ । तपाईँको शक्ति सबै धुलिसात हुन्छ । सबथोक फेरि सुरु हुन्छ । सीमाहरू भत्काएपछि यस्तै हुन्छ ।
अहिले प्रायः सबै देशमा असमानता चुलिँदै छ ।

बोर्डेरा : धनीमानीहरूले समानता ल्याउनुपर्ने गणितीय खाँचो कति महसुस गर्दै छन् र त्यसको तयारी कति गर्दै छन् ? कतै उनीहरूले आफूमात्र बाँच्ने योजना बुन्दै त छैनन् ?
मिडोज : ‘धनीमानीहरू’ बारे ठीकठीक कुरा गर्न सकिन्न । केही धनीमानीहरू यसबारे सचेत छन् र असमानता घटाउन सकेको गर्दै छन् । अरू चाहिँ यसबारे सोच्दा पनि सोच्दैनन् । बहुसङ्ख्यक धनीमानीको स्थिति यही हो जस्तो लाग्छ । अन्य केही असमानता चर्काउन कम्मर कसेर लागेका छन् । असमानता घटाउने प्रवृत्ति प्रायः देखिन्न । कहिलेकाहीँ (आर्थिक) वृद्धिबाट नै सबैजनाबीच धन बाँड्न मद्दत मिल्ने बताइन्छ । (आर्थिक) वृद्धि र असमानताको दर एकैचोटि माथि चढ्नुले यो तर्कलाई झूटो साबित गर्छ ।

बोर्डेरा : शक्तिशालीहरूबीच आजभोलि सभ्यताको विनाशमा कत्तिको चासो बढेको पाउनुभएको छ ? खासगरी आर्थिक र राजनीतिक विनाशमा । अथवा, उनीहरू के अझै पनि सानातिना व्यापारिक स्वार्थमा अल्झिराखेका छन् ? त्यसो भए उनीहरूले आफ्नो कामलाई तपाईँको पुस्तकसँग कतिसम्म जोडेर हेर्ने गर्छन् ?
मिडोज : म शक्ति संरचनामा छैन, त्यसैले यसको उत्तर दिन सक्दिनँ । म ८० वर्षे अवकाश प्राप्त शिक्षक हुँ । हाम्रो पुस्तक निस्केको ५० वर्ष भयो । पुस्तकबारे केही रूचिकर अन्तर्वार्ता भए होलान् । नत्र त्यसमा त्यति ध्यान नगएको देखिन्छ ।

बोर्डेरा : समय र क्षेत्रका हिसाबले पृथ्वीको सीमा साँघुरिँदै छ । यसरी हेर्दा आधुनिक विश्व दृष्टिकोण तपाईँलाई गएगुज्रेको लाग्दैन ? नयाँ विश्वतर्फको रूपान्तरणमा केही दार्शनिक प्रकाश छर्नुहुन्थ्यो कि ?
मिडोज : मसँग यस्तो ल्याकत छ भनी कल्पना गर्नुभएकोमा धन्यवाद ! समाचारहरू हेरेर आजको विश्व दृष्टिकोण गएगुज्रेको लाग्नु स्वाभाविक छ । विश्वको बेहाल देख्दा को पो खुसी होला र !
नयाँ विश्व दृष्टिकोणमा धेरैथरी दर्शन र आध्यात्मिक अभ्यासहरू छन् । यीमध्ये धेरैले वर्तमान विश्वबारे व्याख्या गर्छन् । यो काममा पोख्त बन्न यिनले प्रकृतिसँगको हाम्रो अन्तरक्रिया र निर्भरता ठम्याउनुपर्छ । प्रविधिले हामीलाई कुनै पनि अवरोधउपर विजयी हुन मद्दत गर्नेछ भन्ने मिथकबारे अघि पनि कुरा चल्यो । जलवायु परिवर्तनमा हामीले कार्बन सोस्ने र भण्डारण गर्ने कुरा पनि सुनिरहेका छौँ । तर, अकाट्य सत्य के भने ऊर्जा उपभोग घटाउनु नै सबैभन्दा सस्तो, छिटोछरितो र सजिलो हुन्छ । तैपनि, प्राविधिक समाधान खोज्ने प्रवृत्ति छुटेको छैन । यस्तो प्रवृत्तिले गम्भीर क्षति नपु¥याई केही पनि गर्न दिँदैन । यो श्वैरकल्पनासिवाय केही होइन । कार्बन सोस्ने र भण्डारण गर्ने उपाय भनेको मुट्ठीभर मानिसहरूलाई धनी बनाउने उपायमात्र हो ।
हामी गति तीव्रतर भइरहेको घट्टमा छौँ । हामी यो घट्टमा बस्न सक्छौँ तर यो घट्ट कतै पनि जान्न । हाम्रो हाल यस्तै छ । हामीले गलत निर्णयहरू लिइरहेका छौँ । यी निर्णयहरूले हामीलाई सङ्कटतिर धकेलेका छन् । यिनले जबरजस्ती हाम्रो समय खाँदै छन् । घट्टको गति बढ्दै जाँदा प्रत्येक उतारचढावले असर गर्नेछ । यसले अझ गलत निर्णय लिने बनाउनेछ किनभने हामीले हाम्रो समय खुम्च्याइरहेका छौँ । यो एउटा चक्रवातजस्तो छ ।
आगामी २० वर्षमा हामीले गत १०० वर्षमा नदेखिएको हलचल देख्नेछौँ । त्यतिबेला के होला भन्ने कुरा मुख खोलेर भन्न चाहन्नँ । तर, जे हुने हो, त्यो भएरै छोड्नेछ । जलवायुमा भाँडभैलो मच्चिनेछ र जीवाश्म इन्धन रित्तिँदै जानेछ । यसले गर्दा धेरै विपत्ति आइलाग्नेछन् । यसले गर्दा मानिसहरू अझ विकेन्द्रित र विशृङ्खलित अवस्थामा फर्किनेछन् । बिस्तारै बदलिँदो स्थितिको लागि तम्तयार संस्कृतिहरू विकसित हुनेछन् । तबमात्र उपयुक्त ‘नयाँ विश्व’ उदाउनेछ भन्ने लाग्छ ।

बोर्डेरा : के केही प्रतिभाशाली धनीमानीहरूको मिलेमतोले उनीहरूको घेराभित्र केही परिवर्तन ल्याउन सक्ला ?
मिडोज : प्रतिभाशाली धनीमानीहरू रे !? युद्धप्रेमी सन्त भनेझैँ पो सुनियो !
(Fifty years after ‘The Limits to Growth’ : Dennis Meadows interviewed by Jaun Bordera July 21,2022)

(‘एमआर अनलाइन’ बाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *