भर्खरै :

भक्तपुर काण्ड : षड्यन्त्रका तानाबाना

भक्तपुर काण्डसम्बन्धी पत्रपत्रिकामा प्रकाशित सामग्रीबारे केही चर्चा गर्ने जमर्काे गरेको छु । यसको निम्ति सर्वप्रथम साथीहरूलाई धन्यवाद दिन चाहन्छु जसले पत्रकारहरूको दृष्टिमा ‘भक्तपुर काण्ड’ शीर्षकमा दुई ठेली कटिङहरू सङ्कलन गर्नुभयो । त्यस सङ्कलनमा भक्तपुर काण्डसम्बन्धी समाचार, लेख, विभिन्न नेता, बुद्धिजीवी, लेखक आदिका प्रतिक्रियाहरू रहेका छन् । ती ठेलीमा ४१ ओटा पत्रपत्रिकाका सम्बन्धित सामग्रीको कटिङ राखिएको छ । नेपाली, नेपालभाषा, अङ्ग्रेजी र हिन्दीका पनि केही छन् ।
ती ठेलीका पाना पल्टाउँदै जाँदा सरकारी र पञ्चहरूको पत्रिका, बहुदलवादी भनिने काङ्ग्रेस र वामपन्थीहरूको पत्रिकाको भक्तपुर काण्डलाई हेर्ने र बुझ्ने दृष्टिकोण स्पष्टै बुझिन्छ । पञ्चहरूमा पनि गुट–उपगुटहरू भएकाले काण्डको निहुँ बनाएर आफू सत्तामा जान खोज्ने र सत्ता टिकाइराख्नेहरूको शैली पनि फरक छ । तर, नेमकिपालाई उन्मूलन गर्ने कुरामा भने पञ्च–महापञ्चहरूबीच खास दुईमत देखिँदैन । त्यस्तै, बहुदलवादी भनिने काङ्ग्रेसी र वामपन्थीहरूको पत्रिकाको पनि सत्यतथ्य र निष्पक्षको आवरणमा नेमकिसङ्गठन ध्वस्त होस्, त्यसका कार्यकर्ताहरू आफ्नो पार्टीमा भित्याउन लालायित रहेको महसुस प्रत्यक्ष–अप्रत्यक्षरूपमा हुन्छ । त्यसो त स्थानीय पञ्चहरू पनि नेमकिसङ्गठनका कार्यकर्ता र समर्थकहरूलाई आफ्नो बनाउन ¥याल चुहाएर बसेका थिए । स्मरणीय छ, जनमतसङ्ग्रहपछि भक्तपुरबाट राष्ट्रिय पञ्चायत, जिल्ला पञ्चायत र भक्तपुर नगरपञ्चायतमा नेमकिसङ्गठन समर्पित उम्मेदवारहरू विजयी भएका थिए । पञ्चायती राज्यस्तरबाट भक्तपुर काण्डको षड्यन्त्र गर्नुपर्नाको एउटा मुख्य कारण यो पनि थियो । किनभने, नेतृत्व सही र इमानदार भएकोले नेमकिसङ्गठन पनि सही र इमानदार नै बन्यो । सच्चा र इमानदार नेतृत्व शुभलाभमा नभुल्ने–नफस्ने, देश र जनताको सेवामा कृतसङ्कल्पित रहेकोले प्रतिक्रियावादी पञ्चहरूको निम्ति असह्य भयो । त्यसैले नेतृत्वसहित नेमकिसङ्गठन उन्मूलन गर्न पञ्चायती सरकार आफैले निर्णय गरेको भूकम्प पीडितलाई एकद्वारको राहत नीतिको उल्लङ्घन गरेर षड्यन्त्रको तानाबाना बुन्यो । यसै क्रममा श्वेत आतङ्कबीचमा ४६ सालको जनआन्दोलनमा फागुन ८ गते भक्तपुरमा प्रहरी घेराबन्दीमा दोस्रो विश्वयुद्धमा प्रतिबन्धित गोली प्रहार गरी सरकारले निहत्था प्रदर्शनकारीको निर्मम हत्या ग¥यो ।
‘भक्तपुर काण्ड’ बारे बहुदलवादी नेता र पत्रिकालाई एउटै कोटीमा राख्न मिल्दैन । भक्तपुर काण्डबारे अध्यक्ष रोहित र नेमकिसङ्गठनको सिद्धान्त र नीति बुझ्ने बहुदलवादी नेता, कानुन–व्यवसायी, पत्रकार अधिकारकर्मी र पत्रिकालगायतले षड्यन्त्रको खुलेर विरोध गरे । तर, कतिपयले आफ्नो मालिकको सेवा गर्दै दुनो सोझ्याए ।
त्यसबेला चर्चित विमर्श साप्ताहिकमा भदौ ९ गते राति बैठक बसिरहेको बेला अध्यक्ष रोहितलगायत माइन्युटसहित पक्राउ परेको समाचार छापिएको थियो । त्यसको खण्डन गर्दै अशोक भन्नेले पक्राउ घर–घरबाट गरिएको पत्र पनि पछि त्यसैमा छापियो ।
भक्तपुर काण्डमा अध्यक्ष रोहितलगायत थुप्रैलाई भदौ ९ गते बेलुका पक्राउ गरिएको थियो । तर, विशेष अदालतमा भदौ १४ गते पक्राउ गरेको जिकिर गरियो । अध्यक्ष रोहितलगायतलाई पक्राउ गरिएको समाचार भदौ १३ गतेसम्ममा थुप्रै पत्रपत्रिकामा प्रकाशित भइसकेको थियो ।
त्यस्तै, भदौ १० गते सरकारी सञ्चार संस्था राससको समाचार र गोरखापत्रमा यसरी छापियो– ‘…..लासलाई वीर अस्पतालबाट बबरमहलसम्म जुलुसका साथ लगिएको थियो ।
जुलुसमा प्रधानमन्त्री, राष्ट्रिय पञ्चायतका अध्यक्ष, मन्त्रीगण, रापसहरू, भूपूप्रमका साथै विभिन्न तहका पञ्च तथा वर्गीय सङ्गठनका कार्यकर्ताहरू, पञ्चायत नीति तथा जाँचबुझ समितिका पदाधिकारीहरू आदि सम्मिलित थिए ।
तर, भक्तपुर काण्डमा पक्राउ गरिएकाहरूको थुनछेकको बहस भइरहेको विशेष अदालतमा उक्त जुलुसमा प्रधानमन्त्री जाँदै नगएको जिकिर गरियो । यसले सरकारी समाचार संस्था रासस र सरकारी मुखपत्र गोरखापत्रलाई अदालतमा असत्य बनायो ।
तर, प्रम मरिचमानलाई जुलुसमा हात उठाएर ‘फाँसी दे’ भनेको प्रत्यक्ष देख्ने, टेलिभिजनमा देख्ने र समाचार पढ्नेहरूले भक्तपुर काण्ड नेमकिसङ्गठन उन्मूलन गर्ने राज्यस्तरको सुनियोजित षड्यन्त्र भन्ने बोध गरायो ।
भदौ ९ गते बेलुकादेखि भक्तपुर नगर र छिमेकी गाउँ एवम् जिल्लासम्म व्यापक प्रहरी परिचालन गरी श्वेतआतङ्क मच्चाउने राज्यले असोज १ गते शनिबार अर्थात् बिदाको दिन प्रहरी घेराबन्दीमा सरजमिन गरायो । त्यो एकपक्षीय धाँधलीपूर्ण सरजमिनको विरोधमा महिला दिदी बहिनीहरूले ऐतिहासिक विरोध प्रदर्शन गरे । त्यो समाचार व्यापक भएपछि भक्तपुर काण्डमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका अर्थात् राज्यका तीन ओटै अङ्गको षड्यन्त्र भएको थप पुष्टि भयो । त्यसपछिको पत्रपत्रिकामा हिजो नेमकिसङ्गठनलाई आरोप लगाउनेहरू पनि सतर्क र सचेत भए । पञ्चायती राज्यस्तरको षड्यन्त्रलाई आफ्नो बुलन्द आवाजले छ्यान्नव्यान्न पार्ने ऐतिहासिक महिला जुलुसका प्रत्येक सहभागी वास्तवमै अभिवादनका हकदार हुन् ।
पत्रपत्रिकाहरूमा आएका समाचारमध्ये भारतीय पत्रिका ‘आज’ मा अदालतमा फैसला नहुँदै फैसला भएको भनी समाचार छापियो । सन् १९९० फेब्रुअरी १४ को अङ्कमा क्या कर्णकी हत्या मँे नेपाली प्रधानमन्त्रीका हाथ था ? भन्ने प्रश्नवाचक शीर्षकको समाचारमा ३० जनालाई फाँसीको सजाय सुनाइएकोमा पछि आजीवन कारावासमा परिवर्तन गरिएको लेखिएको थियो । स्मरणीय छ, त्यो मुद्दामा कुनै फैसला भएको थिएन, जनआन्दोलनबाट पञ्चायतको निर्दलीयता समाप्त भएपछि सरकारले मुद्दा फिर्ता लिएको थियो र २०४७ वैशाख ५ गते अध्यक्ष रोहितलगायतका राजबन्दीहरू रिहा भएका थिए ।
भक्तपुर काण्डसम्बन्धी सामग्री प्रकाशन गर्ने पत्रपत्रिकामध्ये दुई ओटा माथि मुद्दा चलेको थियो ।
‘शववाहन खरिदमा भ्रष्टाचार’ भन्ने समाचार २०४५ फागुन ३ गतेको पुनर्जागरणमा प्रकाशित भएको थियो । त्यसविरुद्ध मण्डले नपाले मुद्दा हाले, पछि पुनर्जागरणले मुद्दा जितेको थियो । रोचक के भने त्यो समाचार नेपालभाषाको इनाप पत्रिकामा छापिएको थियो तर मुद्दा खेप्न परेन ।
त्यस्तै, ‘नयाँ बाटो’ साप्ताहिकमा २०४६ वैशाख ७ गते ‘आर्थिक नाकाबन्दी त्रासदी नाटक’ शीर्षकको एक पत्र छापिएको थियो । त्यस पत्रिकाका सम्पादक र प्रकाशकलाई वैशाख १० गते राति ओछ्यानबाट पक्राउ गरी राजकाज मुद्दा लगाइएको थियो । १६ दिन तिनीहरूलाई काठमाडौँको डीएसपी खोरमा राखी रिहा गरे ।
रोचक कुरा के छ भने त्यस पत्रको जुन अंशलाई आपत्तिजनक ठानिएको हो त्यही अंश राससको समाचार गोरखापत्रमा छापिएको थियो । रासस र गोरखापत्रलाई भने कुनै कारबाही गरिएन ।
पञ्चायती राज्यस्तरको षड्यन्त्र भक्तपुर काण्डलाई सेलाउन नदिन र षड्यन्त्रलाई उदाङ्ग्याउन साथीहरूले थुप्रै पत्रपत्रिकामा समाचार, लेख–कविता लेखे । कतिपय पत्रिकाले अन्याय भएको हो तर हामीमाथि ठूलो दबाब छ भनेर छाप्न मानेनन् । त्यसैले कुनै कुनै एउटै सामग्री दुई–तीन ओटामा पनि छापिए । त्यसले थप प्रचारमा सहयोग पुग्यो । भक्तपुर काण्डको षड्यन्त्रलाई जीवित राख्न पाठकपत्र, प्रश्न–उत्तर स्तम्भलाई पनि साथीहरूले माध्यम बनाए । यसबीच पुस्तक–पुस्तिका पनि प्रकाशित गरेर पञ्चायती राज्यस्तरको षड्यन्त्रलाई नङ्ग्याउन साथीहरू सफल भएका थिए ।
यसरी भक्तपुर काण्डको बेला षड्यन्त्रकारीहरूको दुष्प्रचारलाई पत्रपत्रिकाको माध्यमबाट सही र तथ्य जानकारीबाट आमजनतालाई सुसूचित गर्न सहयोग पुगेको थियो ।
२०७९/०५/०९

Leave a Reply

Your email address will not be published. Required fields are marked *