भर्खरै :

भदौ ९ को दमनसँगै कामदार वर्गीय महिलाहरू जागी उठे !

आजभन्दा ३३–३४ वर्षअगाडि नेपाल मजदुर किसान पार्टीको राजनैतिक विचार, वर्गीय आन्दोलन र जनसेवाको राजनीतिविरुद्ध पञ्चायती राज्यस्तरबाट भएको दमन तथा अत्याचारको निकृष्ट स्वरूप थियो, भक्तपुर काण्ड । किसान तथा मजदुर वर्गीय जनतामाथि पञ्चायती व्यवस्थाको फासीवादी दमनको एउटा कालखण्ड थियो, भक्तपुर काण्ड । राज्यस्तरको त्यो अत्याचार र दमनविरुद्ध नेमकिपाको वर्गीय र राजनैतिक सङ्घर्षको सिलसिला पनि हो, भक्तपुर काण्ड । पार्टीका अग्रज पुस्ताले भदौ ९ को त्यो कालो दिनविरुद्ध डटेर लडेको गर्विलो इतिहास पनि हो, भक्तपुर काण्ड । पार्टीका अग्रज कार्यकर्ताहरूको भनाइ र अनुभव, महिलाहरूको भोगाइ र सङ्घर्षका पृष्ठहरूले यही भन्छ, यही पढाउँछ ।
यसर्थ, भदौ ९ लाई हामी वर्ग शत्रुको दमनविरुद्ध सङ्घर्षको रूपमा स्मरण गर्छौँ । दमनकारी पञ्चायती व्यवस्था अवशानको अध्याय पनि नेमकिपाको त्यही सङ्घर्षले थालेको थियो भन्ने यथार्थ पढ्दा हामीलाई साँच्चैको गौरव अनुभूति हुन्छ । भदौ ९ सँगसँगै कामदार वर्गीय महिला आन्दोलनको विकासले नयाँ गति हासिल ग¥यो । कालो बादलमा चाँदीको घेरा भनेको सायद यही नै हो ।
आजको दिन वर्ग शत्रुप्रतिको आक्रोश र वर्गसङ्घर्षप्रतिको विश्वास एवम् गौरवलाई अझ उचाइमा पुगेको हामी अनुभव गर्छौँ । सम्भावित नयाँ सङ्घर्ष र आन्दोलनमा जुट्नको निम्ति ऊर्जा बटुल्छौँ । ‘भदौ ९’ हाम्रो आकाशमा मडारिएको कालो बादल थियो भने त्यो कालो बादल वरिपरि चाँदीको घेरा बनेर कामदार वर्गीय महिला आन्दोलनको विकास भयो । आजको पुस्ता भक्तपुर काण्डलाई यो आँखाले पनि अध्ययन गर्न रुचाउँछन् । नेपालको राजनैतिक दबुमा नेमकिपाले कामदार वर्गीय महिला आन्दोलन उठाउनको निम्ति निर्वाह गरेको भूमिका केलाउन उत्सुक देखिन्छन् ।
पार्टी अध्यक्ष का.रोहितले एउटा अन्तर्वार्तामा उल्लेख गर्नुभएको छ, “२०२०–२१ सालदेखि नै भक्तपुरमा किसानहरूको रात्रि कक्षा सञ्चालन सुरु भयो ।” समयसँगै चालीसको दशकमा महिलाहरूको साक्षरता कक्षा सघन बनाइयो । तत्कालीन समयमा नगरपालिका मोहोडामा देखिए पनि भित्रभित्र व्यवस्थितरूपले पार्टी र सङ्गठनले काम गर्यो । क–ख नजानेर, १–२ को सामान्य हिसाब नजानेर साहुमहाजन र ठालुहरूबाट ठगिएका र शोषणमा परेका महिलाहरूलाई सावाँ अक्षर सिकाउनु आपैmमा कामदार वर्गीय महिला आन्दोलनको जग थियो, आन्दोलनको बीउ थियो । अक्षर चिनाउनुका साथै टोलटोलमा राजनैतिक कक्षा सञ्चालन भयो । महिलाहरूमा राजनैतिक सुझबुझ र चेतना जगाउने ती कक्षाहरू परिवर्तनको बीउको रूपमा हुर्कियो । सामाजिक, सांस्कृतिक र राजनैतिक परिवर्तनको निम्ति महिला जुट्ने अभियानको रूपमा साक्षरता कक्षाहरू अगाडि बढ्यो । अरूले सतही र बोक्रे काम गरिरहँदा, अल्पसङ्ख्यक धनीमानी महिलालाई साथमा लिएर महिला सशक्तीकरणको नारा दिइरहँदा नेमकिपाले कामदार वर्गीय महिला आन्दोलनको निम्ति जगैदेखि काम गर्यो । किसान आन्दोलनसँगै महिलाहरूको रात्रि कक्षा सञ्चालनमा सक्रियता मण्डले र पञ्चहरूका निम्ति टाउको दुखाइ बन्नु आश्चर्यको विषय भएन । भक्तपुरमा महिला आन्दोलनको पालुवा निमोठ्ने प्रयत्नहरू भए । त्यत्तिकैमा ०४५ सालको घटना घटाइयो । रात्रि कक्षाबाटै महिलाहरूलाई शिक्षा दिँदै समाज परिवर्तन अगाडि बढाउने तथा महिला आन्दोलनको नेतृत्व तयारी गर्ने अभियानको प्रारम्भताका नै भएको घटनाले ठूलो क्षति पु¥याउनु अस्वाभाविक थिएन । अभैm पाँच–सात वर्ष त्यो अभियान अगाडि बढाउन पाएको भए ¤ सायद अग्रजहरूको मनको एउटा कुनामा यस्तो लाग्दो हो ।
२०४५ भदौ ९ को घटनापछि प्रकाशमा आइसकेका पार्टी कार्यकर्ता, जनप्रतिनिधि भइसकेका र बहालवाला जनप्रतिनिधि र शिक्षकहरू कि त गिरफ्तारीमा परे, कि त भूमिगत हुन बाध्य भए । त्यतिखेर बाँकी थिए त कि केटाकेटी कि महिला । पञ्चायती सरकारको अन्याय र ज्यादतीको कारण महिलाहरू सडकमा आउन बाध्य भए । त्यसपछि महिलाहरूले श्रमिक वर्गीय महिला सङ्गठनको आवश्यकता र महत्वबोध गरे । भक्तपुर–काण्डको त्यो अत्यन्त गम्भीर परिस्थितिमा महिलाहरू अग्रपङ्क्तिमा आएर सङ्घर्षलाई निरन्तरता दिने गम्भीर जिम्मेवारी पूरा गरेको इतिहास पढ्दा अहिले पनि गौरवको अनुभूति हुन्छ । प्रौढ कक्षा अर्थात् रात्रि कक्षामा जोडिएका महिला दिदी–बहिनी नै सङ्घर्षको मैदानमा पार्टी नेतृत्वले अपेक्षा गरेअनुरूप अग्रपङ्क्तिमा उभिनुभयो । यस आधारमा अग्रज महिला कार्यकर्ताप्रति हाम्रो उच्च आदर छ, सम्मान छ ।
भदौ ९ सँगसँगै महिला गतिविधि र सङ्घर्ष अगाडि बढाउन पार्टीकै प्रमुख भूमिका थियो । भूमिगत रहनुभएका पार्टी कार्यकर्ताहरूको योजना र निर्देशनबमोजिम अग्रज महिलाहरूले सङ्घर्षको भावनासहित निडर भई काम गरे ।
ज्यान मारेको झूटा मुद्दामा पक्राउ परेका ६७ जनालगायत सयौँ भूमिगत पार्टी कार्यकर्ताका परिवारजनलाई सान्त्वना दिने, सहयोग गर्ने र सङ्घर्षको निम्ति उत्साहित गर्ने महत्वपूर्ण जिम्मेवारी पूरा गरे । भक्तपुर काण्डको बज्रपात सामना गर्दै सङ्घर्षको मैदानमा उत्रनुभएका शोभा प्रधानलाई आज हामी सम्झिरहेका छौँ । भदौ ९ को भत्र्सनामा आयोजित यस कार्यक्रमको मञ्चमा हाम्रा आँखाहरूले नेतृ शोभा प्रधानको उपस्थिति खोजिरहेको अनुभव हुन्छ । राज्यसत्ताको दुव्र्यवहार र अपमानको त्यो कालखण्डविरुद्ध उच्च आत्मबलसहित लड्ने, सङ्घर्ष गर्ने शोभा प्रधानहरू कामदारवर्गीय महिला आन्दोलनको इतिहास र हाम्रो स्मृतिका श्रृङ्खलाहरूमा बाँचिरहनुहुनेछ ।
त्यतिबेला अग्रज महिलाहरूले भक्तपुर–काण्डविरुद्ध पर्चा छर्ने, पम्प्लेट टाँस्ने, राति–राति धुनी बाली चोकचोकमा जाग्राम बस्ने, मसाल जुलुस निकाल्ने जस्तो एक किसिमको प्रतिरोधको आन्दोलनलाई अगाडि बढाए ।

अग्रज महिलाहरूले भदौ ९ पछि २१ दिनमा अर्थात् असोज १ सरजमिनको दिनमा खेलेको भूमिका उल्लेखनीय छ । सरजमिन शनिबारको दिन गरिइँदै थियो । बिदाको दिन सरजमिन गर्न मिल्दैन भनेर अध्यक्ष रोहितले प्रतिवाद गर्नुभयो । जेलमा खाना पु¥याउन गएका एक महिलामार्फत सरजमिन हुने खबर पुगेपछि महिलाहरू एकजुट भई सरजमिन स्थल पुगेका थिए । हनुमानघाटको सूर्योदय विद्यालयमा भएको सरजमिनमा चारैतिर प्रहरी तैनाथ थिए । प्रतिक्रियावादीलाई सरजमिन बक्ने भाषा र विषय कण्ठ गराइसकेको अवस्था थियो । प्रहरीले प्रतिक्रियावादीहरूको मात्र कुरा सुनेपछि हाम्रा अग्रज महिलाहरूले त्यसको विरोधमा नाराबाजी गर्दै जुलुस प्रदर्शनी गरे । महिलाहरूमाथि प्रहरीले लाठी प्रहार गर्यो । केही घाइते भए । घम्साघम्सी भयो । एकतर्फी सरजमिनविरूद्ध अग्रज महिलाहरूको सशक्त प्रतिकार र सङ्घर्षपछि भदौ ९ को घटनाले फड्को मारेको थियो । सरजमिन अर्थात् असोज १ को दिन दुःख पीडाबीच एउटा स्मरणीय दिन थियो ।
असोज १ को सरजमिनको दिन किसान महिलाहरूले जुलुस प्रदर्शनी र प्रहरी प्रशासनसँग भिड्ने साहस नगरेका भए, सङ्घर्ष नगरेका भए ज्यान मुद्दाले कुन मोड लिने हो ठेगान थिएन । दमन अझ चर्को हुने र बन्दीगृहभित्र पार्टी कार्यकर्तामाथि यातना अझ निर्मम हुनसक्थ्यो । त्यसकारण, महिलाहरूले आफ्नो तागत र शक्ति प्रदर्शन गरी पञ्चायती व्यवस्थामाथि सशक्त प्रहार गरेको सरजमिनको दिन स्मरणीय छ । त्यो महिला सङ्घर्षले अझ ऊर्जा बटुल्यो । उनीहरू कानुनी सङ्घर्षमा जुटे, जेलबाट सूचना लिएर सम्बन्धित वकिल, मानवअधिकारकर्मीहरूसम्म पु¥याउने, अदालत जाने जिम्मेवारीमा सक्रिय बने । त्यसक्रममा त्यतिबेलाका अनपढ, अशिक्षित र भाषिकरूपमा कमजोर महिलाहरूले के कति हन्डर के कसरी सामना गरे भन्ने सङ्घर्षका पृष्ठहरू केही–केही हामीले पढ्यौँ र अरू कैयौँ पढ्न बाँकी छ, लेखिन बाँकी छ । कहिलेकाहीँ गर्भभित्रै हराउँला भन्ने चिन्ता पनि लाग्छ ।
त्यो समयमा अग्रज महिलाहरूले पत्रकार सम्मेलनको आयोजना पनि गरे । पञ्चायती सञ्चारमाध्यम, पत्रपत्रिकाले एकतर्फीरूपले ‘ह्योजूलाई नेमकिपाले मा¥यो’ भन्ने असत्य प्रचार भइरहेको त्यो समयमा सरजमिनको दिन भएको महिला सङ्घर्षपछि सत्यतथ्य बाहिर आउन थाल्यो । पत्रकार सम्मेलनपछि त सत्यको पक्षमा पत्रपत्रिकाले लेख्न सुरु ग¥यो । पत्रकार सम्मेलनमा शोभा प्रधानको निडर अभिव्यक्तिबारे अग्रज महिला कार्यकर्ताहरू आज पनि चर्चा गर्छन् । नेमकिपाविरुद्ध पञ्चायती राज्यस्तरले गरेको षड्यन्त्रविरुद्ध भक्तपुरमा साँच्चैको श्रमिक वर्गीय महिला आन्दोलन उठेको थियो । भक्तपुरका महिलाहरू जागी उठेका थिए ।
महिला सङ्घर्ष, राजनैतिक चेतना, सङ्गठन, समाज, देश र जनताको निम्ति कति अपरिहार्य छ भन्ने बोध पनि भक्तपुर काण्डको त्यो सङ्घर्षले गरायो ।
इतिहास उही या फरक ढङ्गले दोहरिन सक्ने सम्भावना अद्यापि छ । हिजोका मण्डले र पञ्चहरू नै बहुदल पुनःस्थापनापछि काङ्ग्रेस, एमाले र माओवादीमा पसेका हुन् । फासीवादी र सामन्तवादी मानसिकता बोकेको राज्य व्यवस्थाले नेमकिपाको सङ्घर्षविरुद्ध कुनै पनि बेला षडयन्त्रको जालो फ्याँक्न सक्छ । जर्मनीमा हिटलरले राइखस्टाग (जर्मनीको संसद्) मा आगलागी गराई कम्युनिस्टहरूको बदनाम र सफाया गर्न चालेको षडयन्त्रको फरक स्वरूपको रूपमा हामी भक्तपुर काण्डलाई अध्ययन गर्छौँ । हिटलरको फासीवादी विचारले प्रभावित शासकहरूले दमन गर्दैन भन्नु गलत हुनेछ । त्यसकारण, महिलाहरू अझ बढी राजनैतिकरूपले सचेत रहन जरुरी छ । उच्च संवेदनशीलता, होशियारी तथा सङ्घर्षको तयारी आवश्यक छ । विश्वविद्यालय पढ्ने, विद्यालय पढाउने आजका महिलाहरूले हिजोको साक्षरता कक्षा र भक्तपुर काण्डको सङ्घर्षको मैदानबाट दीक्षित अग्रज महिलाहरूको क्रान्तिकारी र सङ्घर्षको भावना आत्मसात् गर्न जरुरी छ । कामदार वर्गीय महिला आन्दोलनमा जुटेर समाज र व्यवस्था परिवर्तनको हिस्सा बन्ने उद्देश्य जरुरी छ । ‘भदौ ९’ सँगै कामदार वर्गीय महिला आन्दोलनको उत्थानले त्यही सन्देश दिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *