न्यायालय पनि लामो समयदेखि दबाबमा बाँच्ने गरेको देखिन्छ
- बैशाख ७, २०८३
भक्तपुर, ११ भदौ । भक्तपुर नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले काम गरेको एक सय दिन पुगेको अवसरमा शनिबार एक प्रवचन कार्यक्रमको आयोजना गरियो ।
कार्यक्रममा भनपाका वर्तमान तथा पूर्वजनप्रतिनिधिहरू, बुद्धिजीवीहरू, विभिन्न क्षेत्र र पेशाका नगरवासीहरूको उपस्थिति रह्यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नपाको सय दिनको काम उपलब्धिपूर्ण भएको बताउँदै देशलाई समृद्ध बनाउन स्थानीय तहलाई बलियो र अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले नयाँ पुस्ताले सम्पदा र संस्कृतिमा वैज्ञानिकताको खोजी गर्नुपर्नेमा जोड दिँदै बताउँदै शिक्षा र तालिमको माध्यमबाट जनतालाई अन्धविश्वासबाट मुक्त गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले राजनीतिक कार्यकर्ताहरूले सङ्गठित भएर काम गरे गल्ती कममात्र हुने औँल्याउँदै राजनैतिक प्रतिबद्धतामा ठूलो नैतिक बल हुने बताउनुभयो ।
भक्तपुर नगरपालिकालाई भ्रष्टाचारमुक्त र पारदर्शी नगरपालिकाको रूपमा कायम राख्न जनप्रतिनिधि र कर्मचारीहरूले प्रतिबद्ध भएर काम गर्नुपर्नेमा जोड दिँदै समय सापेक्षित ढङ्गले कर्मचारीहरूलाई तालिम र प्रशिक्षणहरूको आवश्यकता रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले एक सय दिनमा गरेका गतिविधिहरूबारे जानकारी दिँदै भक्तपुरलाई सफा, सुन्दर र विश्वकै हेर्नलायक नगर बनाउने काममा नगरपालिकासँगै यहाँका जनताको निरन्तर साथ र सहयोगको आवश्यकता औँल्याउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनज्योति पुस्तकालयलाई ई–लाइब्रेरीको रूपमा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको, ख्वप अस्पताल १०० शय्याको अस्पतालमा स्तरोन्नति, ख्वप विश्वविद्यालय सञ्चालनको निम्ति प्रयास, दैनिक सङ्कलन भएका कुहिने फोहरबाट सीएनबीएम प्रविधिबाट कम्पोस्ट मल बनाई बिक्री वितरण, विभिन्न वैकल्पिक स्रोतहरूमार्फत केयूकेएलसँगको समन्वयमा भक्तपुरमा खानेपानी वितरण, पर्यटन क्षेत्रमा गत वर्षको तुलनामा उल्लेख्य सुधार, अनलाइनमार्फत कर भुक्तानी प्रक्रिया सुरु गर्ने योजना, हनुमानघाटमा सुधारिएको शवदाह गृह सञ्चालन र ख्वप टेलिभिजन सञ्चालनको तयारीमा जुटेको बताउनुभयो ।
शिक्षालाई व्यापार बनाउन चाहनेहरूले जनताका छोराछोरीलाई सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्न नचाहेको प्रस्ट पार्दै उहाँले नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा नर्सिङका नयाँ विद्यार्थी भर्ना गर्न सीटीईभीटीले अझै झमेला गरिरहेको बताउनुभयो ।
बाग्मती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले भक्तपुर नपाको सय दिनको अवसरमा शुभकामना दिँदै शिक्षा, स्वास्थ्य र सरसफाइलगायतका विषयमा नपालाई रचनात्मक सुझाव दिनुभयो ।
उहाँले निर्वाचनमा हुने आर्थिक चलखेलबाट जनता सचेत हुनुपर्नेमा जोड दिँदै भक्तपुरको विकासको मोडल देशका अन्य स्थानीय तहहरूले पनि साथ र सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
सांसद गोसाईले भक्तपुर नगरपालिकाको शिक्षा, स्वास्थ्य, कला संस्कृतिको संरक्षणबारे अडियो भिडियो अभिलेखीकरणमा नपाले जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख रजनी जोशीले सङ्घ, प्रदेश र स्थानीय तहको व्यवस्था भएपछि भक्तपुर नगरपालिकाले स्थानीय तहको रूपमा विभिन्न कानुन, नीति र नियमावलीहरूको व्यवस्था गरी जनतालाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको बताउनुभयो ।
भक्तपुर नपामा जनप्रतिनिधिको सय दिन उपलब्धिपूर्ण भएको बताउँदै संविधान र कानुनले प्रदान गरेको अधिकार क्षेत्रभित्र रही भक्तपुर नगरपालिकाले नीति निर्माण गर्ने, त्यसको कार्यान्वयन गर्ने र व्यापक जनताको हितको निम्ति शिक्षा र स्वास्थ्यजस्ता विषयहरू न्यून शुल्कमा सेवा प्रदान गर्दै समाजवादउन्मुख काममा जोड दिँदै आएको उपप्रमुख जोशीले बताउनुभयो ।
कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. विष्णुदत्त पौडेलले भक्तपुरलाई आफ्नो कार्यक्षेत्र बनाउन पाउँदा गौरवान्वित महसुस भएको बताउँदै भक्तपुर क्यान्सर अस्पताल क्यान्सरका सम्पूर्ण उपचार उपलब्ध भएको देशकै व्यवस्थित सरकारी अस्पताल भएको विचार राख्नुभयोे । वडा – वडामा पाठेघर शिविर गरी भक्तपुरका महिलाहरूलाई क्यान्सरबारे सचेत बनाउन भक्तपुर नपाले विशेष पहल गर्नुपर्नेमा डा. पौडलले नगर प्रमुख प्रजापतिको ध्यानाकर्षण गराउनुभयो ।
इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले भक्तपुर नपाका जनप्रतिनिधिहरूलाई भक्तपुरलाई संसारकै अतुलनीय सहरको रूपमा स्थापित गर्न सफलता मिलोस् भन्ने शुभकामना दिनुभयो ।
उहाँले भक्तपुर नपाको हरेक काममा भक्तपुरवासी जनताको साथ र सहयोग रहेकै कारण भक्तपुर नपाले सम्पूर्ण काम सहजताका साथ सफलतापूर्वक सम्पन्न गर्न सकेको बताउनुभयो ।
सम्पदा र पर्यटन एउटै सिक्काका दुई पाटा हो भन्दै प्रा.डा. श्रेष्ठले भक्तपुरका भौतिक सम्पदाहरूमा दृश्य प्रदूषण नहुने गरी सम्पदाहरूको मौलिक नाम उल्लेख गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको सय दिनकै अवसरमा भक्तपुर नपा वडा नं. ५ स्थित भीमसेन सत्तल निजी गुठीका सञ्चालक गणेशमान बिजुक्छेँका माहिला छोरा प्रयागमान बिजुक्छेँले नगर प्रमुख प्रजापतिलाई भीमसेन सत्तल हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले पनि बोल्नुभएको थियो ।
Leave a Reply