भर्खरै :

क्यान्सर अस्पतालमा अनुशासनहीन चिकित्सकमाथि कारबाहीको प्रक्रिया

भक्तपुर, ११ भदौ । सामुदायिक अस्पतालको रूपमा सुरू भएको भक्तपुर क्यान्सर अस्पताललाई नेपाल सरकारले सरकारी अस्पतालको रूपमा ग्रहण गरेपछि अस्पतालको उपचार सेवामा थप विस्तार र विकास भएको छ । काठमाडौँ उपत्यकामा क्यान्सर रोगको सबै उपचार हुने एकमात्र राष्ट्रियस्तरको सरकारी अस्पतालको रूपमा भक्तपुर क्यान्सर अस्पताल रहेको छ । यस अस्पतालमा काठमाडौँ उपत्यका र देशका विभिन्न जिल्लाका गरी दैनिक ५०० देखि ७०० जनाको ओपीडी जाँच तथा उपचार, एक दर्जन बढी जटिल शल्यक्रिया, दर्जनौँको रेडियो थेरापी, ब्रेकिथेरापी, किमोथेरापी उपचार भइरहेका छन् । अस्पतालमा सिटी स्क्यान, सिटी स्टिमुलेटर, लिनेक, ब्रेकीथेरापी, कोवाल्टजस्ता उपकरणहरूको अधिकतम उपयोग भइरहेको छ । काठमाडौँ उपत्यका र विभिन्न जिल्लाका नगरपालिकाहरूसित समन्वय गरी क्यान्सर स्क्रिनिङ कार्यमा पनि अस्पताल सक्रिय रहेको छ । अस्पतालले यसरी राष्ट्रिय अस्पतालको रूपमा सेवा विस्तार गरिरहँदा नेपाल अर्बुद रोग निवारण संस्थाका केही पदाधिकारीहरू पुनः आफ्नो नियन्त्रणमा फर्काउन कानुनी दाउपेच गरिरहनुका साथै अस्पतालका केही चिकित्सक र कर्मचारीहरूलाई अराजक गतिविधि गर्न उक्साइरहेको पाइएको छ ।
यसैक्रममा क्यान्सरका चिकित्सक डा. राजीव साहलाई अस्पताल प्रशासनले अनुशासनहीन क्रियाकलापका लागि तपाईँलाई किन कारबाही नगर्ने भनी ७२ घण्टे स्पष्टीकरण सोधेको छ । केही महिनाअगाडि पनि डा. साहलगायत समयमा अस्पताल नआउने, तोकिएको अवधिसम्म उपचार सेवा नदिने र बिरामी अन्यत्र रेफर गर्ने केही चिकित्सकहरूलाई स्पष्टीकरण सोध्ने र सचेत पार्ने कार्य भएको थियो । कारबाहीको प्रक्रिया अगाडि बढेका डा. साहको जिम्मेवारी अस्पतालको न्यूरो सर्जनको हो तर डा. साहले भने अस्पतालमा केही बिरामीको ओपीडी जाँच गर्नेबाहेक कुनै शल्यक्रिया गर्ने नगरेको बरू बिरामीलाई काठमाडौँ थापाथलीस्थित नर्भिक अस्पतालमा रेफर गर्ने गरेको पाइएको थियो । भुक्तभोगी बिरामीका परिवारका अनुसार डा. साहले आफूले रेफर गरेका बिरामीको नर्भिकमा डा. राजीव झा नेतृत्वको टोलीमा रहेर शल्यक्रिया गर्ने गरेका छन् ।
बिरामी जाँच गर्नुपर्ने अवधिमा अस्पतालको क्याफेमा बसेर अस्पतालका अन्य चिकित्सक र कर्मचारीहरूलाई समेत कर्तव्यबाट विमुख गराउने उद्देश्यले घण्टौँ कुराकानीमा अल्झाउने, सँगै रहेको धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्रका चिकित्सक र कर्मचारीसमेत भेला गरेर अस्पतालविरूद्ध भड्काउने, कथित भक्तपुर डाक्टर सोसाइटी गठन गरेर राजनीति गर्ने र अस्पतालको विनियम र नियम पालना गर्न अस्वीकार गर्ने क्रियाकलापका निम्ति डा. साहमाथि कारबाहीको प्रक्रिया अगाडि बढेको हो । तर, अहिले डा. साहमाथि तत्काल कारबाही नगर्न र उनलाई ६ महिनाको परीक्षण कालमा राख्न स्वास्थ्य मन्त्रालयका उच्चपदस्थ र मन्त्रीस्तरबाट समेत अस्पताल प्रशासनमाथि दबाब आएको बुझिएको छ । डा. साहले आफूलाई नेपाली काङ्ग्रेस पृष्ठभूमिको भनी नेका केन्द्रीय कार्यालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा चिनाउँदै कारबाहीबाट बच्ने दाउ खेलिरहेको बताइन्छ ।
समाचार स्रोतका अनुसार नेपाल अर्बुद रोग निवारण संस्थाका केही पदाधिकारीहरू र डा. साह मिलेर विभिन्न अनलाइन समाचार पोर्टलहरूलाई रकम बाँडी भक्तपुर क्यान्सर अस्पतालका वर्तमान कार्यकारी निर्देशक प्रा.डा. विष्णुदत्त पौडेल, चिकित्सकहरू प्रा.डा. ऋषिकेशनारायण श्रेष्ठ, डा. रोशन प्रजापति, प्रशासक राजाराम तजले लगायतविरूद्ध झूटा लाञ्छनासहितका समाचार प्रकाशन गराइरहेका छन् । कतिपय पत्रकारहरूले अस्पतालमा एकपटक प्रत्यक्ष निरीक्षणसम्म नगरी अस्पतालको सेवा खस्केको जस्ता झूटा समाचार बनाइरहेका छन् ।
अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. विष्णुदत्त पौडेलले त्यस्ता क्रियाकलाप र समाचारहरू भक्तपुर क्यान्सर अस्पताललाई असफल पार्ने, पछाडि फर्काउने र आफ्नो निहित स्वार्थ पूरा गर्न खोज्नेहरूको कुत्सित प्रयासको रूपमा आफूले लिएको बताउनुभयो । क्यान्सर अस्पताल प्रशासनले अस्पतालको सेवा प्रवाहको वास्तविकता बुझ्न चाहनेले सम्पर्क गरेमा र निरीक्षण र अवलोकन गर्न चाहेमा आफूहरू तयार रहेको बतायो ।
स्मरण होस्, सामुदायिक अस्पतालको रूपमा रहेको भक्तपुर क्यान्सर अस्पताललाई नेपाल अर्बुद रोग निवारण संस्थाका तत्कालीन पदाधिकारीहरूले आफ्नो निजी अस्पतालजस्तै बनाई त्यहाँ अनियमितता र भ्रष्टाचार कायम गरिराखेका थिए । त्यसको विरोधमा अस्पतालका चिकित्सक, कर्मचारी र सरोकारवाला सबैको विरोध र उजुरीपछि भक्तपुर नगरपालिकाले व्यवस्थापन केही समयका लागि आफ्नो जिम्मामा लिएको थियो । नेपाल सरकार मन्त्रिपरिषद्ले २०७७ कार्तिक २३ गतेदेखि अस्पताललाई विकास समितिमार्फत सञ्चालन गर्ने गरी सरकारमातहत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *