न्यायालय पनि लामो समयदेखि दबाबमा बाँच्ने गरेको देखिन्छ
- बैशाख ७, २०८३
‘कला र संस्कृतिको नगर’, ‘नाचगानको राजधानी’ उपनाम पाएको यस भक्तपुर नगरलाई पछिल्लो समय ‘संसारको जीवित सङ्ग्रहालय’ भनी परिभाषित गरिएको हामी पाउँछौँ । पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृतिको नारालाई हाम्रा अग्रजहरूले ‘ज्ञानविज्ञानको केन्द्र’, पर्यटकीय गन्तव्यस्थल बनाउने अभियानको थालनीलाई हामी स्थानीय सरकारको २०७४ सालको पहिलो निर्वाचन र १०० दिनअघि सम्पन्न दोस्रो निर्वाचनबाट जनताबाट चुनिएका हामी जनप्रतिनिधिहरूले उक्त अभियानलाई निरन्तरता दिनको लागि भक्तपुर नगरपालिकामार्फत काम गर्न दृढ सङ्कल्पका साथ आएका हौँ ।
देशमा प्रजातन्त्र प्राप्तिका लागि आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछौँ र समाज परिवर्तनको लागि महत्वपूर्ण योगदान दिनुहुने अग्रज व्यक्तित्वहरूप्रति उच्च सम्मान व्यक्त गर्दै हामी नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधिहरूलाई अत्यधिक मत दिएर विजयी गराई नगर र नगरवासीहरूको सेवा गर्ने पुनः सुअवसर दिनुहुने सम्पूर्ण नगरवासीहरूमा कृतज्ञता व्यक्त गर्दछौँ । नेमकिपाको जनसेवा र विकासको कार्यक्रमले भरिएको २०७४ को स्थानीय तह निर्वाचनमा दिइएको घोषणापत्रलाई नै आधार बनाई हामी अघि बढिराखेको यहाँहरूसमक्ष स्मरण गराउन चाहन्छु । साथै पुनः २०७९ वैशाख ३० गतेको निर्वाचनताका हामीलाई उपलब्ध घोषणापत्रलाई अक्षरशः पालना गर्दै अघि बढ्ने वाचा गर्न चाहन्छौँ ।
हामी सम्पूर्ण जनप्रतिनिधिहरूले गत कार्यकालमा झैँ नेपाल मजदुर किसान पार्टीबाट प्राप्त घोषणापत्रअनुरूप काम गर्ने आजको हामी जनप्रतिनिधिहरूको दोस्रो कार्यकालको १०० दिनमा प्रतिबद्धता जाहेर गर्दै, आजको यस जनप्रतिनिधिको १०० दिनका प्रमुख अतिथिको आमन्त्रण गरेका नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित), भक्तपुर नपाका प्रमुख सुनिल प्रजापति, विशेष अतिथि माननीय सुरेन्द्रराज गोसाइँ, नगरपालिकाका वडाध्यक्ष तथा कार्यपालिका सदस्य, सम्पूर्ण जनप्रतिनिधिज्यूहरू, आमन्त्रित अतिथि, विभिन्न संस्थाबाट पाल्नुभएका प्रमुखज्यूहरू, भक्तपुर नपाद्वारा सञ्चालित मावि एवम् कलेजका प्राचार्यज्यूहरू, ख्वप अस्पतालका शाखा प्रमुख÷विभाग प्रमुखज्यूहरू, भक्तपुर नपाका शाखा प्रमुखहरूलगायत सम्पूर्ण कर्मचारी मित्रहरू, पत्रकार मित्रहरू एवम् सम्पूर्णमा हार्दिक अभिवादन । साथै आजको यस दोस्रो कार्यकालको जनप्रतिनिधिहरूको भक्तपुर नपामा १०० दिनको उपलक्ष्यमा आयोजित कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुरको भविष्यको कल्पना गर्दै २०५९ असोजमा ‘सय वर्षपछिको भक्तपुर’ नामक पुस्तक प्रकाशित गर्नुभयो । त्यो पुस्तकलाई हामी जनप्रतिनिधिहरूले पथप्रदर्शक मानेर काम गर्दै आयौँ । हामी भक्तपुरलाई सफा, सुन्दर र शान्त नगरको रूपमा विकास गर्ने कोशिश गर्दै छौँ । जनताको साथ र सहयोगबाट काम गर्न हामीले सहज महसुस गरेका छौँ । जनप्रतिनिधि, कर्मचारी र जनताबीचको राम्रो समन्वयले भक्तपुर नगर आजको अवस्थामा आइपुग्न सम्भव भएको हो । देशकै उत्कृष्ट नगर बन्न सफल भएको हो ।
देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण भएपश्चात् ३ तहको सरकार गठन भयो । सङ्घ, प्रदेश र स्थानीय तहको व्यवस्था भएपछि भक्तपुर नगरपालिकाले स्थानीय तहको रूपमा विभिन्न कानुन, नीति र नियमावलीहरूको व्यवस्था गरी जनतालाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । भक्तपुर नगरपालिकाले विकेन्द्रीकरण र स्वायत्त शासनको अभ्यासलाई पूर्ण उपयोग गर्दै आइरहेको छ । साथै नेपालको संविधानको भावनाअनुसार समाजवादउन्मुख काम गर्दै छौँ ।
उत्पादनका मुख्य मुख्य साधनहरू सामाजिकीकरण, शिक्षा र स्वास्थ्य उपचारजस्ता जनताका आधारभूत आवश्यकताका विषयहरू निःशुल्क, रोजगारीको सुनिश्चितता र आार्थिक समानता हुने राजनैतिक व्यवस्था नै समाजवाद हो । संविधानले निर्दिष्ट गरेको उद्देश्य प्राप्तिको लागि समाजवादी अर्थ नीतिविना सम्भव हुँदैन । आत्मनिर्भर अर्थतन्त्रको विकासले मात्रै देशको विकास सम्भव हुन्छ । संविधानले शिक्षामा मा.वि. तहसम्म सम्पूर्ण एकल अधिकार स्थानीय तहलाई दिएको छ । संविधान र कानुनले प्रदान गरेको अधिकार क्षेत्रभित्र रही भक्तपुर नगरपालिकाले नीति निर्माण गर्ने, त्यसको कार्यान्वयन गर्ने र व्यापक जनताको हितको निम्ति शिक्षा र स्वास्थ्यजस्ता विषयहरू न्यून शुल्कमा सेवा प्रदान गर्दै समाजवादउन्मुख काम गर्दै छौँ । ‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ भन्ने नारालाई सार्थक बनाउन भौतिक एवम् सांस्कृतिक सम्पदाहरूको संरक्षण, भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने लक्ष्यका साथ भनपाले उच्च शिक्षा, स्वास्थ्य सेवा, भौतिक एवम् सांस्कृतिक सम्पदा संरक्षण, पर्यटन, सरसफाइ तथा पारदर्शिता र सुशासनमा नमुनाको रूपमा कार्य गर्दै आएका छौँ । भक्तपुरलाई शिक्षित, स्वस्थ एवम् सुसंस्कृत नगरको रूपमा परिचित गराउने अभियानमा लागेका छौँ ।
निर्वाचन घोषणापत्रअनुसार हामीले ख्वप विश्वविद्यालय सञ्चालनमा जोड दिँदै छौँ । सङ्घीय सरकारले प्रतिनिधि सभामा ख्वप विश्वविद्यालय विधेयक पारित गरी नदिएको कारण भक्तपुरका जनताको त्यो चाहना पूरा हुन सकेको छैन । मेडिकल कलेज स्थापना गरी सस्तोमा गुणस्तरीय चिकित्सक उत्पादन गर्ने हाम्रो उद्देश्य थियो । हामीले यसलाई निरन्तर जोड दिइरहेका छौँ ।
त्यसैगरी, दरबार क्षेत्रस्थित कला सङ्ग्रहालय रहेको भवन (लाल बैठकसहित) पुनःनिर्माण मल्लकालीन शैलीमा गर्न संस्कृति मन्त्रालय, पुरातत्व विभाग र भक्तपुर नगरपालिकाबीच सहमति भए पनि युनेस्कोको अनुमति लिनुपर्नेजस्ता प्राविधिक कारणले त्यो अघि बढ्न सकेको छैन । साथै, सरकारले पटक–पटक आश्वासन दिएर पनि आवश्यक बजेट व्यवस्था गरी नदिएको कारण भक्तपुर नपा वडा नंं. ६ मा अरनिको सभा भवन निर्माण गर्ने हाम्रो योजना पूरा हुन पाएको छैन ।
तथापि, हामीले यस दोस्रो कार्यकालमा यी सबै कामहरू सम्पन्न गर्ने योजना बनाएका छौँ । हामीलाई विश्वास छ, यी योजनाहरू सफलताका साथ सम्पन्न गरी २१ औँ शताब्दीको लागि आवश्यक आयामहरूका साथ भक्तपुरको नाउँ कायम राखी अघि बढ्नेछौँ । भक्तपुर नपाले ‘जनताको लागि जनताबाटै’ भन्ने नारालाई कायम राखी जनताको सहभागितामा हामी जनप्रतिनिधिलगायत कर्मचारी र अग्रजहरूको मार्गनिर्देशनमा सचेत/संयम र सक्षमताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उपस्थित प्रमुख अतिथि/विशेष अतिथिलगायत सम्पूर्णलाई पुनः एकपल्ट भक्तपुर नपामा जनप्रतिनिधिहरूको ‘सय दिन’ कार्यक्रममा स्वागत गर्दै बिदा हुन्छु । धन्यवाद !
(२०७९ भदौ ११ गते, शनिबार आयोजित भक्तपुर नपामा जनप्रतिनिधिको सय दिन कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीको मन्तव्य)
Leave a Reply