न्यायालय पनि लामो समयदेखि दबाबमा बाँच्ने गरेको देखिन्छ
- बैशाख ७, २०८३
भक्तपुर नगरपालिकाको मध्य भागस्थित सुकुलढोका साविक वडा नं ७ र ५ को सिमानाका रूपमा रहेको भीमसेन सत्तल वा भीम आदर्श निमाविको नामले चिनिने तीनतले भवनमा २०१८ सालदेखि भीम आदर्श स्कूल रहेको सर्वविदितै छ । उक्त ऐतिहासिक स्कूलका संस्थापकहरू थिए – स्व. गणेशमान बिजुक्छेँ, स्व. मदनकृष्ण हाडा र स्व. गजेन्द्रबहादुर मूल । विस १९९० को भूकम्पपश्चात् पूर्णरूपमा पातालैसम्म भत्किएको त्यो सत्तल छाडा चौपाया गाईगोरुको आश्रय स्थलमा परिणत भइसकेको थियो । त्यतिबेला पाटनका गणेशदास मानन्धरको नाममा रहेको भनिएको सो सत्तलको पुनर्निर्माण गर्न सुकुलढोका र गोल्मढीका केही व्यक्तिहरू तम्सिए । आफूहरू व्यापार व्यवसाय गर्ने भएकाले गणेशमानका ससुरालीतर्फका चम्पा साहु भनेर चिनिने कक्षपतिहरू त्यसमा पसल कवल निर्माण गर्ने योजना बनाउन थालेका थिए । तर, आवश्यक पैसा र कानुनी कागजात मिलाउने काम भने पूरा गर्नु थियो । अन्तमा, समाजमा त्यतिबेलाका प्रभावशाली आफ्नो भिनाजूलाई सो सत्तल निर्माण गर्न राजी तुल्याए । गणेशमान बिजुक्छेँले पाटनका गणेशदास मानन्धरसँग स्वीकृति प्राप्त गरी आफ्नै लगानीमा तीनतले सो सत्तलको पुनःनिर्माण गरे । जमिन तलाको नौ कवल पसलमध्ये पूर्वपट्टिको ६ कवल पसलहरूमा चम्पा साहुहरूले पसल चलाए भने पश्चिमपट्टिको तीन कवल अमात्यहरूले समझदारीमा चलाए । माथिको दुई तलामा भीम आदर्श निमावि स्थापना गरी सञ्चालन भयो । यसरी करिब तीन दशकसम्म अलपत्र रहेको सत्तलले पुनर्जन्म पायो र एउटा सामाजिक कार्यले पूर्णता पाएको थियो ।
तर, केही वर्षपछि चम्पा साहुहरू र अमात्यहरूसँग सत्तल घर पुनर्निर्माण गर्ने गणेशमान बिजुक्छेँ र पसल चलाउनेहरूबीच असमझदारी बढ्दै गयो । ०३९/०४० सालको नापीमा सो सत्तल गणेशमान बिजुक्छेँले आफ्नो नाममा दर्ता गराए । विवाद चर्कियो र घटनालाई राजनैतिक रङ्ग दिने प्रयास गरियो । सत्तलको स्वामित्वको बारेमा मुद्दा सुरु भयो । पसल कवल चलाउने पक्षहरू र भीमसेन मन्दिरका पुजारी शुद्धकारहरूले समेत सो सत्तल आ–आफ्नो नाममा हुनुपर्छ भनी मुद्दा चलाउन थाले । केही वर्षको मुद्दामा सर्वोच्च अदालतले उक्त सत्तल गणेशमान बिजुक्छेँको हो भनी फैसला ग¥यो । तर, राजनैतिक परिवारसँग सम्बन्धित भएकोले यसले अझ राजनैतिक रूप लियो । सत्तलसँग लेनादेना केही नभएका परिवारका सदस्यहरूसमेत मुछिने गरी नियोजितरूपमा बदख्वाइँ गर्ने काम हँुदै गयो । सत्तलको स्वामित्व कानुनीरूपमा आफ्नो भए पनि गणेशमान बिजुक्छेँलाई परिवारबाट नैतिकरूपमा सो सत्तलको स्वामित्व नगरपालिकालाई हस्तान्तर गर्नुपर्ने दबाब पर्दै गयो ।
सत्तलको स्वामित्व नगरपालिकालाई हस्तान्तरण गर्ने कुरा अगाडि बढ्दै थियो । तर, यो निजी गुठीको भएकोले तत्काललाई केही अप्ठेरो नपर्ने कुराहरू पनि उठे । यसैबीच गणेशमान बिजुक्छेँको विसं २०४३ साल मङ्सिरमा देहावसान भयो । केही वर्षसम्म छलफलले विश्राम लियो । यता केही वर्षसम्म नगरपालिका जनप्रतिनिधिविहीन हुन पुग्यो र स्वामित्व हस्तान्तरणको मुद्दा पनि ओझेल प¥यो । यही मौकाको फाइदा उठाई राजनैतिक स्वार्थले लिप्त पाखण्डीहरूले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँमाथि हिलो छ्यापी सो सत्तलको मुद्दालाई राजनीतीकरण गर्ने पटक–पटक दुष्प्रयास गरिनै रहे । २०७४ को स्थानीय तहको निर्वाचनपश्चात् जनप्रतिनिधिहरूले नपा सम्हालिसकेपछि फेरि उक्त सत्तलको स्वामित्व हस्तान्तरणको कुरो उठ्यो । यो हस्तान्तरणले मूर्त रूप लिँदै छ । भक्तपुर नगरपालिकाले गर्दै आएको सम्पदा संरक्षणको अभियानमा यो भीमसेन सत्तलको स्वामित्व हस्तान्तरण पनि एउटा कोशेढुङ्गा साबित हुने विश्वास लिन सकिन्छ ।
Leave a Reply