शैक्षिक डामाडोलले देश ध्वस्त हुने !
- बैशाख ८, २०८३
स्थानीय तहको दोस्रो निर्वाचनबाट हामी निर्वाचित भएको आज १०० दिन पुग्यो । २०७९ वैशाख ३० गते सम्पन्न निर्वाचनमा भक्तपुर नगरपालिकाका लागि प्रमुख, उपप्रमुखसहित सम्पूर्ण सदस्यहरू नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरू विजयी भयौँ । विगतमा नेमकिपाका जनप्रतिनिधिहरूले गरेका कामको मूल्याङ्कन गरी पुनः एक कार्यकालका लागि भक्तपुरका जनताले नेमकिपाका उम्मेदवारहरूलाई जिताउनुभयो । यस अवसरमा हामीलाई अत्यधिक मतले विजयी बनाउनुहुने तमाम भक्तपुरवासी मतदाता दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ । जेठ ६ गते हामीले शपथग्रहण गरेदेखि नै निर्वाचन घोषणापत्रमार्फत जनतालाई दिएको वचनअनुसार काम गर्दै छौँ ।
भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र, पर्यटकीय गन्तव्य स्थल र सांस्कृतिक नगर घोषणा गर्ने योजनासहित भक्तपुर नगरपालिका अघि बढिरहेको छ । का. रोहितद्वारा लिखित ‘सय वर्षपछिको भक्तपुर’ को सपना साकार पार्न आधारहरू निर्माणका कामहरू हुँदै छन् । देशको एक सुन्दर नगर बनाउने उद्देश्यअनुसार काम गरिरहेको नगरपालिकालाई सङ्घ र प्रदेश सरकारको तर्फबाट समय समयमा बाधा व्यवधान दिँदै आएका छन् । यसको पछिल्लो उदाहरण हो, ख्वप बहु प्राविधिक अध्ययन संस्थानअन्तर्गत सञ्चालित नर्सिङ कक्षा सञ्चालनमा रोक लगाउनु । भक्तपुर नगरपालिकाले २०६०÷६१ सालदेखि नै ख्वप बहुप्राविधिक अध्ययन संस्थानअन्तर्गत नर्सिङको पढाइ सञ्चालन गर्दै आएको हो । गत वर्ष शिक्षा मन्त्रालयले १०० शय्याको अस्पताल नभएको निहुँमा नर्सिङमा नयाँ भर्ना बन्द गरायो । हामीले बारम्बार प्रयास गर्दा पनि कक्षा सञ्चालन गर्न सकेनौँ । यो वर्ष बाग्मती प्रदेश सरकारको तर्फबाट २०७९ जेठ २३ गते ख्वप अस्पताललाई १०० शय्याको स्वीकृति प्राप्त भयो । जेठ २६ गते नै सीटीईभीटीमा सम्पूर्ण कागजसहित नर्सिङ कक्षा सञ्चालन गर्न अनुमतिको लागि निवेदन दियौँ । अन्तिम समयमा अनुगमन गर्नुपर्ने बहाना बनाई ख्वप बहुप्राविधिक अध्ययन संस्थानलाई अझै कक्षा सञ्चालनको लागि भर्ना खोल्न अनुमति दिएको छैन । भदौ ७ गते सीटीईभीटीका उपाध्यक्षलगायतका पदाधिकारीहरूलाई भेटेर हामीले ध्यानाकर्षण गरायौँ । उहाँहरूले भर्ना खोल्ने आश्वासन दिनुभए पनि अहिलेसम्म खुलेको छैन ।
शिक्षालाई व्यापार बनाउन चाहनेहरूले जनताका छोराछोरीलाई सस्तो र गुणस्तरीय शिक्षा प्रदान गरेको हेर्न चाहेका छैनन् । निजी क्षेत्रको स्वार्थमा काम गरेर व्यक्तिगत लाभ लिन चाहने पदाधिकारीहरू भक्तपुर नपाद्वारा सञ्चालित शैक्षिक संस्थाहरू विभिन्न निहुँमा बन्द गर्न चाहन्छन् र कुनै न कुनै बहानामा सरकारी शैक्षिक संस्थाहरूलाई कमजोर बनाउन खोज्दै छन् । तर, भक्तपुरका जनताले जनविरोधी पदाधिकारीहरूको स्वार्थ कहिल्यै पूरा हुन दिने छैनन् ।
यो वर्ष किसानहरूले खेतीको समयमा रासायनिक मल पाएनन् । हामीले किसानहरूलाई आवश्यक मलको व्यवस्थाको लागि सङ्घ र प्रदेशका जिम्मेवार पदाधिकारीहरूसित आग्रह ग¥यौँ । ती पदाधिकारीहरू लाचार देखिए । भक्तपुर नगरपालिकाका लागि बाग्मती प्रदेश कृषि मन्त्रालयबाट मल वितरण हुने भएकोले हामीले कृषि मन्त्री, सचिवलगायतका पदाधिकारीहरूसित भेटेर आग्रह ग¥यौँ । उहाँहरूले गोदाममै पर्याप्त मल नभएको भनी भक्तपुरलाई मल दिन नसक्ने जवाफ दिनुभयो । कृषिप्रधान देशमा मलविना कृषि उत्पादन कसरी बढ्छ ? कसरी कृषिमा नेपाल आत्मनिर्भर हुन्छ ? यो देशलाई कृषिमा परनिर्भर बनाउने चाल हो । त्यसैले भक्तपुर नगरपालिकाले घर–घरबाट निस्केको कुहिने फोहरबाट कम्पोष्ट मल बनाउने काम सुरु ग¥यो । यसले मलमा आत्मनिर्भरतातर्फ थोरै भए पनि योगदान गर्ने हाम्रो विश्वास हो ।
दोस्रो कार्यकालको लागि निर्वाचनको क्रममा घोषणापत्रमार्फत हामीले विगतका अधुरा कामहरू पूरा गर्ने र जनताको हितमा नयाँ–नयाँ कामहरू गर्ने प्रतिबद्धता व्यक्त गरेका थियौँ । हामी निर्वाचित भएपछि यो १०० दिनमा नगरपालिकाले गरेका केही महत्वपूर्ण कार्यहरूबारे सङ्क्षिप्तमा जानकारी गराउन चाहन्छौँ :
१) सर्वसुलभ तरिकाले जनतालाई स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको ख्वप अस्पताल हाल १०० शय्यामा स्तरोन्नति भएको छ । बाग्मती प्रदेशबाट २०७९ जेठ २३ गते स्वीकृत प्राप्त भएको हो । अस्पताल स्तरोन्नतिको लागि सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ । उक्त अस्पतालले गत आ.व. २०७८÷७९ मा ४९ जिल्लाका १,७५,९४३ जना बिरामीहरूलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्यो । अस्पतालले हरेक दिन ७५० भन्दा बढी बिरामीहरूको सेवा गरिरहेको छ भने अस्पतालप्रति जनताको विश्वास बढ्दै गएको छ । सार्वजनिक बिदा, शनिबार र हरेक दिन बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म ओपीडी सेवा सञ्चालन ख्वप अस्पतालको विशेषता हो । अस्पताललाई स्रोत र साधनले सम्पन्न बनाई सस्तो र गुणस्तरीय स्वास्थ्य उपचार सेवा दिने हाम्रो उद्देश्यअनुसार काम गर्दै छौँ । विभिन्न रोगको विशेषज्ञ सेवा प्रदान गर्दै आएकोमा यस अवधिमा मुटु रोग विशेषज्ञबाट उपचार सेवाको प्रारम्भ भएको छ । साथै वडा–वडामा सञ्चालित स्वास्थ्य केन्द्रहरूमा समेत चिकित्सकहरूको व्यवस्था गरिएको छ । नगरवासीहरू बिरामी भई रगतको आवश्यकता भएमा त्यसको लागि शुल्क नगरपालिकाले व्यहोर्ने निर्णय भएको हुँदा निकट भविष्यमा नै यो कार्यान्वयनमा आउने व्यहोरा पनि सम्पूर्ण नगरवासीहरूलाई जानकारी दिन चाहन्छु ।
२) ज्ञानविज्ञानको केन्द्र बनाउने लक्ष्य लिएर अगाडि बढिरहेको भक्तपुर नगरपालिकाले नगरपालिकाद्वारा सञ्चालित कलेजहरूको आयोजनामा राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्दै आएको छ । ख्वप कलेज र विश्वविद्यालय अनुदान आयोगको संयुक्त आयोजनामा २०७९ जेठ २९ र ३० गते ‘आर्थिक विकासमा व्यवस्थापनको भूमिका’ विषयक राष्ट्रिय सम्मेलन सम्पन्न भयो । त्यसैगरी भनपाद्वारा सञ्चालित ख्वप इ. कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा ‘समाजको दिगो विकासको लागि ऊर्जाको भूमिका’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन २०७९ साउन २३ गते सम्पन्न भयो । यस्ता सम्मेलनहरूको आयोजनाले हाम्रा कलेजहरू र विभिन्न देशका विश्वविद्यालयहरूसँगको सम्पर्क बढ्दै जाने र ज्ञानको क्षेत्र फराकिलो हुँदै जाने हाम्रो विश्वास छ । यस्ता सम्मेलनहरूलाई निरन्तरता दिँदै जानेछौँ । ख्वप विश्वविद्यालय सञ्चालनको निम्ति हाम्रो प्रयास जारी छ ।
३) नगरबाट निस्कने फोहरलाई कुहिने र नकुहिने अलग–अलग सङ्कलन गर्दै आएकोमा फोहरलाई आयको स्रोत बनाउनेतर्फ हाम्रो ध्यान केन्द्रित छ । घर–घरबाट निस्कने फोहर आधा कम गर्न सकेमा मात्रै सफाइमा भइरहेको नगरपालिकाको खर्च करोडौँ घटाउन सकिन्छ । त्यसलाई ध्यान दिएर कृषि विशेषज्ञहरूबाट सर्वसाधारण जनता र विद्यालयका शिक्षक शिक्षिकाहरूलाई सघनरूपमा कौसी खेती, गड्यौला मल, कम्पोष्ट मल बनाउने प्रशिक्षण दिँदै छौँ । दैनिक सङ्कलन भएका कुहिने फोहरबाट सीएनबीएम प्रविधिबाट कम्पोष्ट मल बनाई प्रतिकेजी २० रूपैयाँको दरले किसानहरूलाई बिक्री गर्दै आएका छौँ ।
४) निर्वाचन घोषणापत्रअनुसार खानेपानी समस्या समाधान गर्न हामी निरन्तर लाग्दै छौँ । शपथ ग्रहणको लगत्तै मेलम्ची खानेपानी भक्तपुरमा वितरण गर्ने प्रयास ग¥यौँ । फलस्वरूप जेठ १२ गतेबाट मेलम्चीको पानी वितरण सुरु भयो । जनताले केही राहत महसुस गरे । तर, केही समयपछि नै वर्षाको कारण देखाउँदै केयूकेएलले मेलम्चीको पानी काठमाडौँ उपत्यकामा पठाउन बन्द गरेपछि पुनः पानीको समस्या देखिएको छ । विभिन्न वैकल्पिक स्रोतहरूमार्फत केयूकेएलसँगको समन्वयमा भक्तपुरमा खानेपानी वितरण भइरहेको छ ।
५) पर्यटन क्षेत्रमा गत वर्षको तुलनामा उल्लेख्य सुधार भएको छ । यस वर्ष जेठ, असार र साउन गरी तीन महिनामा गैरसार्कतर्फ ७,७२५ र सार्क पर्यटकहरू १५,३४७ गरी कुल २३,०७२ जनाले भक्तपुर भ्रमण गरे । गत वर्ष कोरोनाको प्रभावको कारण सोही अवधिमा गैर सार्क १४० र सार्क १५९ गरी जम्मा २९९ जनाले मात्रै भक्तपुर भ्रमण गरेका थिए । गत वर्षको तुलनामा सोही अवधिमा भक्तपुर भ्रमण गर्ने २२,७७३ जना पर्यटक वृद्धि भएको रेकर्ड छ ।
६) नगरवासीहरूलाई नगरपालिकासम्म आएर कर तिर्न नपर्ने गरी अनलाइनमार्फत कर भुक्तानी प्रक्रिया सुरु गर्दै छौँ । गत वर्ष २०७८ जेठ १ गतेदेखि २०७८ साउन ३१ गतेसम्ममा कूल आन्तरिक आय ७ करोड ८६ लाख ७३ हजार ७७८ रहेको थियो भने २०७९ जेठ १ गतेदेखि २०७९ साउन ३१ गतेसम्मको आन्तरिक आय रु. १० करोड ८० लाख ५७ हजार ३३४ रहेको छ । गत वर्षको तुलनामा यस वर्ष सोही अवधिमा आन्तरिक आयमा रु. २ करोड ९३ लाख, ८३ हजार ५५६ वृद्धि भयो । पर्यटनतर्पm रु. १ करोड ९७ लाख ३८ हजार र गैरपर्यटनतर्पm रु. ९६ लाख ४५ हजार वृद्धि भएको छ ।
७) नगरलाई सधँैभरि सफा राख्न हरेक महिनाको १ गते र १५ गते सफाइ कार्यक्रम गर्दै आएका छौँ । उक्त कार्यक्रममा सम्पूर्ण जनप्रतिनिधि, नगरपालिकाका कर्मचारीहरू र स्थानीय टीम, क्लव, वाचनालय तथा विद्यालय परिवार सहभागी हुँदै आएका छन् ।
८) भक्तपुर नगरपालिकाले गरेका कामहरू सहजरूपमा जनतासम्म पु¥याउन ‘भक्तपुर’ मासिक, ‘ख्वप पौ’ पाक्षिक, ख्वप सः रेडियो कार्यक्रम, अनलाइन पत्रिका ‘भक्तपुर खबर डट कम’ लगायत सञ्चालन गर्दै आएकोमा यही अवधिमा ख्वप टेलिभिजन सञ्चालन गर्ने स्वीकृति प्राप्त भयोे । अब तालिम दिने र स्टुडियो निर्माण गर्ने क्रममा छौँ ।
९) कोरोनाको समयमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरू, कर्मचारीहरू र स्थानीय स्वयंसेवकहरू जनताका सेवामा अहोरात्र खट्नुभयो । जनताको सेवामा लागेका ती सबैको उच्च मूल्याङ्कन गर्दै बाग्मती प्रदेशले यस वर्ष भक्तपुर नगरपालिकालाई ‘विपद सेवी पदक’ बाट सम्मान गर्यो । यो हामी सबैका लागि गर्वको विषय हो ।
१०) भौतिक निर्माणतर्फ :
यस अवधिमा भक्तपुर नपा वडा नं. ७ स्थित हनुमानघाटको पुल (न्या ताँ) र भनपा वडा नं. ३ बाराहीस्थानस्थित बाराही पुल गरी दुई वटा पुल पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न भयो । भनपा वडा नं. ७ हनुमानघाटमा सुधारिएको शवदाह गृह निर्माण सम्पन्न गरी २०७९ साल असार ८ गतेदेखि सञ्चालनमा ल्याएका छौँ ।
त्यसैगरी, ढुङ्गा छपाइतर्फ पलिखेल चोक (भनपा ७), क्वाछेँ गल्ली (भनपा ५), त्रिपुरासुन्दरीदेखि चोछेँ (भनपा ५), महेन्द्र आवि प्राङ्गण (भनपा ८) सम्पन्न भएको छ । ईँटा छपाइतर्फ मको गल्ली (वडा नं.९), ठूलो ब्यासी (वडा नं. २), भार्वाचोदेखि गणेश मा.वि.सम्म (वडा नं.१)मा सम्पन्न भए भने नगरका ठाउँ–ठाउँमा ढुङ्गा छाप्ने र र्इँटा छाप्ने कार्य भइरहेका छन् । त्यसैगरी, राममन्दिर, गपली हुँदै भुलाँचासम्म, सृजनानगर पुरानो पुलदेखि मध्यपुरको सीमासम्म र वासिकचादेखि जगातिसम्मको सडक कालोपत्रे र रानीपोखरीदेखि धाँलाखुसीसम्मको सडकमा ढलान कार्य सम्पन्न भएको छ ।
यही अवधिमा तुमचो (वडा नं.९), कालीघाट (वडा नं.२), नाग पोखरी (वडा नं.१०) र बाराहीस्थान (वडा नं.३) गरी ४ वटा खानेपानी ट्याङ्की निर्माण सम्पन्न भएका छन् । भनपा १ मा सुविधासम्पन्न शिशु स्याहार केन्द्र र नगरपालिका परिसरमा स्वचालित शौचालय निर्माण सम्पन्न भएको छ । यसका अलावा सार्वजनिक जग्गा संरक्षण, हनुमन्ते खोला सुधारलगायतका कार्यहरू भएका छन् ।
सम्पदातर्फ :
क) सिद्ध पोखरी उत्तरतर्फको गह्यश्वरी पाटी
(भनपा १), बेताल द्योछेँ पुनःनिर्माण र भगवती स्थानको ढुङ्गेधारा जीर्णोद्वार (भनपा ५), क्वाठण्डौस्थित सरस्वती पाटी पुनःनिर्माण र कमलविनायक पोखरीसँगैको चिभ द्यो (वडा नं. १०) पुनः निर्माण सम्पन्न भयो ।
११) भक्तपुर नगरपालिका वडा नं. ३ सोमला गलीमा अवस्थित नवदुर्गा आगंछेँको जग्गा जग्गा धनीहरू सरोज वैद्यसमेतले संरक्षणको जिम्मेवारीसहित नगरपालिकालाई हस्तान्तरण गर्नुभएको छ । विश्व सम्पदा क्षेत्र टौमढीसँगै रहेको अत्यन्त महत्वपूर्ण ठाउँको उक्त जग्गा नगरपालिकालाई प्रदान गर्नुभएकोमा सम्बन्धित सबैलाई भक्तपुर नगरपालिकाको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छौँ ।
१२) भक्तपुर नगरपालिकाको भगिनी सम्बन्ध रहेको मित्र राष्ट्र चीनको स्वशासित क्षेत्र सान्नान सहरबाट ख्वप अस्पताललाई सहयोगस्वरूप भेन्टिलेटर १, ओटी टेबल १ र ओटी लाइट १ गरी कूल ३ लाख आर.एम.बी. बराबरको स्वास्थ्य सामग्री प्राप्त भएका छन् ।
१३) नक्सापास प्रक्रियालाई सहज बनाउन अनलाइन नक्सापास प्रक्रियालाई अगाडि बढाउँदै छौँ । यो प्रक्रिया अन्तिम चरणमा पुगेको छ र अनलाइन नक्सापासले जनतालाई सहज हुने हाम्रो विश्वास छ ।
१४) भक्तपुर नगरपालिकाको आयोजनामा २०७९ असार १६ गते ३ दिने नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न भयो ।
१५) कोरोनाको कारण गत २ वर्षसम्म गाईजात्रा औपचारिकतामा मात्र सीमित गरिएकोमा यो वर्ष गाईजात्रा व्यवस्थित गर्न गाइजात्रा अवधिभर प्रदर्शन भएका सबै आधुनिक र परम्परागत सांस्कृतिक विधाको अलग अलग मूल्याङ्कन गरी पुरस्कारको व्यवस्था गरिएको छ ।
१६) भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनज्योति पुस्तकालयलाई ई–लाइब्रेरीको रूपमा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । पुस्तकालयको भण्डार कक्ष निर्माण र उपयुक्त व्यवस्थापनले सदस्य सङ्ख्यामा क्रमशः वृद्धि भइरहेको छ ।
१७) यस अवधिमा धेरै महत्वपूर्ण व्यक्तित्वहरूले भक्तपुरको भ्रमण गर्नुभयो । चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभाग प्रमुख लि चियान छाओ नेतृत्वमा चिनियाँ प्रतिनिधिमण्डलले भक्तपुरको भ्रमण गर्यो । उहाँले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सित भेट गर्नुभयो ।
त्यसैगरी, बाग्मती प्रदेश स्वास्थ्यमन्त्री निमा लामा र बाग्मती प्रदेशकै युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले पनि भक्तपुर नगरको भ्रमण गर्नुभयो । स्वास्थ्यमन्त्री लामाले ख्वप अस्पताललाई स्वास्थ्य उपकरणहरूको सहयोग गर्ने आश्वासन दिनु भए पनि अहिलेसम्म प्राप्त भएको छैन भने खेलकुद मन्त्री ढकालले महेश्वरी खेलमैदान व्यवस्थितरूपमा अगाडि बढाउन आवश्यक सहयोगको वचन दिनुभएको छ ।
१८) भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण, सरसफाइलगायतको क्षेत्रहरूमा गरिरहेको कामहरूबारे जानकारी लिन देशका विभिन्न महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाका जनप्रतिनिधिहरू भक्तपुर आएर यहाँको विविध पक्षबारे अध्ययन अवलोकन गर्नुभयो । उहाँहरूसँगको भेटघाटले विभिन्न पालिकाहरूसँग मित्रता बढ्नुका साथै हामीले धेरै कुरा सिक्ने अवसर पनि पायौँ । त्यसरी भक्तपुर आउने नगरपालिकाहरूमा बाजुराको बडीमालिका नपा, ललितपुर महानपा, चन्द्रागिरी नगरपालिका, बन्दीपुर गाउँपालिका, कैलालीको घोडाघोडी नगरपालिका, मोरङको लेटाङ नपा, धनगढी उपहानगरपालिका, गोरखाको आरुघाट गाउँपालिका, उदयपुरको लिम्चुङबुङ गाउँपालिका, सप्तरीको सुरुङ्गा नपा र दैलेखको दुल्लू नपाका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत र वडाध्यक्षहरूले भक्तपुरको अवलोकन गर्नुभयो ।
त्यसैगरी, हामीले पनि विराटनगर महानपा, इटहरी उपमहानपा, बाग्मती नपा, लालबन्दी नपा, सुन्दर हरैचा नपा र बर्दिबास नपाको अध्ययन भ्रमण गरी अनुभवको आदानप्रदान गरेका छौँ । यस किसिमको अध्ययन भ्रमणले विभिन्न नपाहरूसँग समन्वय र सहकार्य वृद्धि हुनुका साथै नगर विकासमा टेवा मिल्ने आशा गर्दछौँ ।
अन्त्यमा, भक्तपुरलाई सफा, सुन्दर र विश्वकै हेर्नलायक नगर बनाउने काममा नगरपालिकासँगै यहाँका जनताको निरन्तर साथ र सहयोगको आवश्यकता छ । विगतका दिनहरूमा जस्तै भक्तपुर नगरपालिकाले गर्ने काममा साथ र सहयोगको अपेक्षासहित बिदा हुन्छु । धन्यवाद ।
(२०७९ भदौ ११ गते भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको १०० दिन कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको मन्तव्य)
Leave a Reply