भर्खरै :

भक्तपुर नपा वडा नं. ७ स्थित न्या ताँ (हनुमानघाट) पुल उद्घाटन

भक्तपुर, १२ भदौ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ७ स्थित न्या ताँ (हनुमानघाट) पुल आइतबार एक समारोहबीच उद्घाटन गर्नुभयो ।
भक्तपुर नपाको विनियोजित बजेटबाट जीर्णोद्धार गरिएको खो¥ह (हनुमानघाट) न्या ताँ उद्घाटन समारोहमा नगर प्रमुख प्रजापतिले जनताको सम्पत्ति जनताकै सहभागितामा बनाउने नीतिअनुरूप भक्तपुर नपाले जनताको आर्थिक तथा भौतिक सहयोग र श्रमदान जुटाई विकास निर्माणका कामहरू उपभोक्ता समितिमार्पmत गर्दै आइरहेको बताउनुभयो ।
उपभोक्ता समितिमार्फत काम गराउँदा स्थानीय स्रोत साधन तथा सीप र प्रविधिको प्रयोग हुने, सम्पदाप्रति अपनत्व कायम हुने, गुणस्तरीय निर्माण हुने र स्थानीय जनताले रोजगारी पाउने भएको हुँदा नगरपालिकाले आन्तरिक स्रोतबाट हुने अधिकांश विकास निर्माणका कामहरू उपभोक्ता समितिमार्फत हुँदै आएको बताउँदै उहाँले इमानदारीपूर्वक जनताको सेवा गर्ने भावनाले जनताकै साथ र सहयोगमा विकास निर्माणलगायत जनताका सरोकारका कामलाई प्राथमिकतामा राखी अगाडि बढिरहेको प्रस्ट पार्नुभयो ।
नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा नर्सिङका नयाँ विद्यार्थी भर्ना गर्न सीटीईभीटीले अनावश्यक दुःख दिइरहेको बताउँदै उहाँले नेमकिपाले जनताको इमानदारीपूर्वक सेवा गर्ने उद्देश्यअनुरूप आफ्ना सङ्गठनहरूको विस्तार गरिरहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले नवनिर्मित पुलले हनुमानघाटको स्वरूप र सुन्दरता थपेको बताउँदै भक्तपुरमा उपभोक्ता मोडल सफल हुनुमा समितिमा कार्यरत पदाधिकारीहरूको ठूलो भूमिका रहेको बताउनुभयो ।
स्थानीय वडाध्यक्ष उकेश कवांले पुल निर्माणमा सहयोगी भूमिका खेल्ने सबैमा धन्यवादज्ञापन गर्दै अग्रजले धेरै मिहिनेत गरेर बनाएको न्या ताँ जीर्णोद्धारमा स्थानीय जनताबाट धेरै सहयोग प्राप्त भएको बताउनुभयो ।
भनपा वडा नं. ७ ले सुधारिएको शवदाह गृह निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेको जानकारी गराउँदै पाँचाख्यको व्यवस्थापन र सुधारको निम्ति आवश्यक कार्यहरू भइरहेको अवगत गराउनुभयो ।
कार्यक्रममा न्या ताँ पुल जीर्णोद्धार समितिका अध्यक्ष कृष्णगोविन्द खाइजुले पुल निर्माणको आय–व्यय प्रस्तुत गर्दै उक्त पुलको लगत इस्टिमेट ४९ लाख २४ हजार रहेकोमा रु. ४१ लाख ३३ हजारमै निर्माण सम्पन्न भएको जानकारी गराउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडा सदस्य रन्जना त्वाती, उपभोक्ता समितिका सचिव प्रेरणा तपोल र वडा सदस्य हेरा ख्याजुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *